शुक्रबार, ११ जुलाई २०२५

अर्थपूर्ण सिनेमाका गम्भीर दर्शकहरूका लागि ‘१२ फेल’

बिएल संवाददाता

बिएल संवाददाता

अमेरिका
2023-11-11 13:57:00
BreaknLinks
• • •

परिन्दा (१९८९), १९४२ ए लब स्टोरी ( १९९४) जस्ता सफल सिनेमाका लेखक तथा निर्देशक र थ्री इडियट ( २००९), लगे रहो मुन्ना भाइ (२००६) जस्ता सिनेमाका निर्माता बिधु विनोद चोपडाले आफ्नो नयाँ सिनेमा ‘१२ फेल’ लिएर दर्शकमाझ आएका छन्। उक्त चलचित्र गत हप्ता रिलिज भएको हाे।

चरम गरिबीका बीच लोक सेवा परीक्षा उत्तीर्ण गरेर भारतीय प्रहरी अधिकारी हुन सफल मनोज कुमार शर्माको वास्तविक जीवनको कथामा अनुराग पाठकको उपन्यासमा आधारित यो सिनेमामा निर्देशक चोपडाले कडा मेहनतले पाएको असाधारण सफलतालाई देखाउने प्रयास गरेका छन्।

सिनेमाको कथाअनुसार भारतको मध्य प्रदेश राज्यको एउटा विकट गाउँको गरीब परिवारको एक व्यक्ति लगनशीता र मेहनतले सरकारी जागिर प्राप्त गर्न सफल भएको प्रेरणादायी सत्य कथा हो। उक्त गाउँमा सरुवा भएर आएका नयाँ प्रहरी अधिकारी दुष्यन्त सिंह (प्रियान्सु चटर्जी)ले परीक्षामा 'चिटिङ्ग' गर्न कडा गर्छन् र त्यसै कारण धेरै परीक्षार्थीहरु असफल हुन्छन्। तर मनोज कुमार शर्मा (विक्रान्त मेस्सी) तृतीय श्रेणीमा उत्तीर्ण हुन्छन्।

लोक सेवा परीक्षाको तयारी गर्न राजधानी दिल्ली पुगेको शर्माले भोगेका दुख, उसको मेहनत र अन्तमा प्राप्त गरेको असाधारण सफलतालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ। शर्माले आफ्नो गुरु, साथीहरु र प्रेमिका श्रद्धा जोशी (मेधा शङ्कर)को सहयोगमा आफ्नो लक्ष्य हासिल गर्न के-कस्ता कठिनाइ भोग्नुपर्छ, त्यसको लागि भने सिनेमा नै हेर्दा रमाइलो हुन्छ।

अभिनयको कुरा गर्दा धेरै सिनेमाहरुमा सहायक भूमिका गरिसकेका नायक मेस्सीले एक सरकारी जागिर प्राप्त गर्ने र त्यसका लागि जस्तो कठिनाइको सामना गर्न पनि नछोड्ने दृढ निश्‍चय लिएका युवकको उत्कृष्ट अभिनय गरेका छन्।

भारतीय समाजमा एक गरीब र गाउँले युवकले सहरमा कतिको असहाय महसुस गर्नुपर्छ, त्यो देख्दा भुक्तभोगीहरुको आँखामा आँसु आउँछ। टेलिभिजन कलाकार हुँदै सिनेमामा प्रवेश गरेकी नायिका शङ्करको पनि अभिनयमा खोट लगाउने ठाउँ छैन। आफ्नो प्रेमीलाई पाइला पाइलामा हौसला दिने प्रेमिकाको भूमिकामा कुशल अभिनय गरेकी छन्।

सानो भूमिका भए पनि नायकका पिता रामविर शर्मा (हरिस खन्ना)को अभिनय स्वभाविक छ। अन्य सहायक कलाकारहरु आ-आफ्नो भूमिकामा जमेका छन्, जसको मुख्य श्रेय निर्देशक चोपडालाई जान्छ।

प्राय हिन्दी व्यावसायिक सिनेमाहरुमा प्रस्तुत नहुने तर स्वभाविक विषयमा सिनेमाको निर्माण गरेर निर्देशक चोपडाले गम्भीर दर्शकहरुलाई उपहार दिएका छन्। जसको लागि निर्देशक चोपडा धन्यवादका पात्र छन्।

सिनेमाको पटकथा निर्देशक चोपडाले जसकुमार कोहली, अनुराग पाठक र आयुष सक्सेनासँग मिलेर लेखेका छन्, जो सलल बगेको छ। त्यसको लागि लेखकद्वय चोपडा र कोहलीको सम्पादनको पनि तारिफ गर्नुपर्छ। सान्तनु मोयत्राको सङ्गीत र रङ्गराजन रामबर्धनको छायाँकन पनि उत्कृष्ट छ।

यदि तपाईं अर्थपूर्ण हिन्दी सिनेमाको गम्भीर दर्शक हुनुहुन्छ भने यो सिनेमा एकपटक अवश्य हेर्नुहोला। करिब साढे दुई घन्टा लामो यो सिनेमालाई यो वर्षको उत्कृष्ट सिनेमाहरुको पनि उत्कृष्ट सिनेमा भन्न कुनै कन्जुस्याँइ गर्नु पर्दैन।

@twitter#naviinr

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?