नवराज बिकले अझै न्याय पाउन बाँकी छः परियार (भिडियाे)

जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार नवराज बिकसहित ६ जनाको हत्या भएको घटनामा २४ जनालाई जन्मकैदको फैसला सुनाएको छ। तीन वर्षअघि २०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज बिकसहित ६ जनाको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा हत्या भएको थियो। 

हत्या भएको तीन वर्षपछि अदालतले दोषि २४ जनालाई जन्मकैदको फैसाला सुनायाे। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लखेटेर हत्या गरेका थिए। 

नवराज बिकसहितको ६ जनाको हत्याभएपछि देशभर आन्दोलन पनि भएको थियो। जुन घटनाको नजिक रहेर पीडितको न्यायका लगि समाजशास्त्री तथा दलित अभियान्ता डा. मित्र परियार पनि निरन्तर वकालत गर्दै आए। 

प्रस्तुत छ, उनै परियारसँग बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले सोती घटना र न्याय प्रकृयाका विषयमा गरेको कुराकानीको सम्पादित अंशः 

रुकुम पश्चिम सोती घटनामा दोषी ठहरीएका २४ जनालाई जन्मकैदको फैसला भयो। यसलाई कसरी लिनुभएको छ?

२०७७ सालमा यो घटना घटेपछि म जाजरकोट पुगेको थिएँ। त्यहाँ पुग्दा घटनामा मारिएका मगरबाबुका दाई एकदमै आक्रोशित थिए। नबराज बिकका आमा, बुवा पनि आक्रोशित थिए। त्यसबेला यो घटना एकदमै आलो थियो र अहिले पनि छ। 

र, नवराजका आमा, बुवा पनि एउटा छोरो मारिदियो। हामीलाई न्याय दिइएन भने हामी पनि कसलाई मार्नु पर्ने हो मारेर जेल जान्छौँ भन्ने आक्रोश थियो। जेहोस ढिलै भएपनि पीडितहरूले न्याय पाएका छन्। 

लामो समयसम्म न्याय नदिँदा यो घटना कतै मोडिने हो कि? न्याय पो नपाउने हो कि भन्ने थियो। तर सबै जालझेल, षड्यन्त्रकाबीचमा पीडितले न्याय पाएका छन्। 

यस घटनाई हजुरले नजिकबाट हेर्नुभयाे। न्याय पाउन कति कठिन हुँदो रहेछ? 
न्याय त भयाे। अलि ढिला भयाे। एक तहको युद्ध जितियो पनि। तर अझै पनि हार्ने सम्भावनाहरू धेरै छन्। किनभने पीडकहरू शक्तिशाली मान्छेका आफन्तहरू परे। शासकीय दलहरूलेसमेत संरक्षण दिने प्रवल सम्भावना छ। 

अहिलेको न्याय जिल्ला अदालतबाट मिलेको हो। पीडकहरू उच्च, सर्वोच्च अदालत जान सक्छन् र त्यहाँबाट पनि केही लागेन भने राष्ट्रपतिबाट पनि आममाफी गराएर निस्कन सक्छन्। जसले गर्दा जन्मकदै पाएका २४ जना दुई–चार वर्षमा छुट्ने प्रवल सम्भावना छ। 

त्यो गर्दागर्दै पनि न्यायका पक्षमा हामी लागिरह्यौँ भने अब उनीहरू उम्कन पाउँदैनन् भन्ने आँट भने अब आएको छ। 

धेरै जसो दलितहरू मारिएका छन्। दलित मार्नेहरू धेरै जेल गएका छैनन्। ६–६ जनालाई मार हानेको जस्तो गरेर मारेर खालामा फाल्ने अपराध ठूलो हो। यो एउटा कानुनी केश मात्र नभएर दलित र राज्यबीचको सम्बन्ध मापन गर्ने कडिको रुपमा उपस्थित भयो। यसैले पनि यो अन्त्यन्त महत्वपूर्ण थियो। यो न्यायले दलित उत्पीडित वर्गलाई सकारात्मक उर्जा दिएको छ। 

घटनापछि रुकुम पुगेको अघि भन्नुभयो। के देख्नुभएको थियो?
म त्यहाँ पुग्दा प्रमाणहरू लुकाइसकिएको थियो। धेरै जसो प्रमाणहरू तोडमोड गरिएका थिए। अझै पनि त्यो घटना हेर्ने हो भने अझै पीडितहरूलाई न्याय भएको छैन। 

किनभने संघर्ष समिति बनाइएको थियो। उनीहरूसँग राज्यले गरेको सहमतिमा सोती घटनामा मारिनेहरू सहिद हुन्। उनीहरूको शालिक बनाइने छ। प्रत्येक पीडित घरका बच्चाहरूलाई पठनपाठनको व्यवस्थापन गरिने छ। प्रत्येक घरबाट कम्तिमा एक जनालाई रोजगारीको व्यवस्थापन गरिने छ भनेर हस्ताक्षर गरिएको छ। 

तर समय बित्दै जाँदा संघर्ष समितिका अध्यक्षलेसमेत फोन नउठाउने अवस्था छ। त्यो कुरा अझै आएको छैन। त्यसैले पीडितहरूले अझै न्याय पाएका छैनन्। त्यो राज्यले व्यवस्थापन गर्नुपर्छ।

पीडकलाई बचाउन तथ्य धेरै तोडमोड गरिएको भन्नुभयो के जनदबाबमा यो फैसला भएको हो? 
हो, जनदबाबले नै न्याय मिलेको हो। जिल्ला अदालतमा एक जना मात्र न्यायधीश हुन्छन्। उनीमाथि कति दबाब थियो होला! जबकी रुकुम पश्चिम एक जना माओवादी नेता जनार्दन शर्मा त्यहाँको एउटा छोटे राजा हुनुहुने रहेछ। 

त्यहाँ डाक्टरदेखि सबैमा उहाँकै मान्छेहरू। सजातीहरू। अर्को ठूलो भाष्य पनि त्यहाँ निर्माण गरिएको रहेछ। रुकुम पश्चिमका दलितहरूसमेत नबराज बिक नै गलत हो भन्ने अवस्थामा थिए। 

त्यो स्तरको दबाब हुँदा हुँदै पनि पीडितको पक्षमा न्याय हुनु राष्ट्रिय र अन्तराष्ट्रिय दबाबले गर्दा हो भन्ने मलाई लाग्छ। नत्र हामी कामी दमाईलाई किरा मारे झै मार्ने थिए। 

नवराजको घटनाको बिजारोपण प्रेम थियो। विवाह थियो। त्यसमा जात मिसियो। अझ राजनीति मिसियो। यसलाई कसरी लिनुहुन्छ? 
अन्तरजातीय विवाह गर्नु भनेको जात व्यवस्था मान्दैन भन्नु हो।  मनुले जुनखालको जात व्यवस्था निमार्ण गरेका छन् समाजमा। दलितका हस्ती आम्बेडकर (भीमराज रामजी)ले भन्नुभएको छ– ‘जात व्यवस्था हटाउने हो भने दुई कुरा गर्नुपर्छ भन्नुभएको थियो। एउटा हिन्दु धर्म त्याग र अर्को अन्तरजातीय विवाह गर।’

नवराजले उनका भनाइलाई मानेको हो। यो ठूलो कुरा हो। हामी यो नवराजको विहे। हत्याको तल्लो तहको कारणमा अझै पुगेका छैनौँ। नवराजले त न्याय पाए। तर त्यस्ता कयौँ नवराजहरू छन्। जसले न्याय पाउन सकेका छैनन्। 

अजित मिजारको लाश आठ वर्षदेखि टिचिङ हस्पिटकलमा सडेर बसेको छ। त्यो कसैलाई मत्लब छैन। लोकतन्त्र फस्टाउँदै जाँदा युवाहरूले अझै जात व्यवस्था मान्दैनन्। र, उनीहरू प्रेममा जोडिन्छन्। त्यसपछि उनीहरूको ज्यान, धनसम्पती जोखिममा हुन्छ। 

यो सबैको दोष धर्मसँग जोडिएर आउँछ। त्यसैले जातीवाद सुधार्न धर्म सुधार्नुपर्छ। 

धर्म सुधार हुनुपर्ने कुरा गर्नुभयो। यहाँ राजनीतिज्ञहरू राप्रपादेखि काँग्रेस सभापति शेरबहादुर देउवासम्म हिन्दु राष्ट्रको पक्षमा देखिएका छन्। यसको संकेत हामी जात व्यवस्था मान्छाैँ भनेकाे हाे त? 
शेर बहादुर देउवाले हिन्दु राष्ट्रकाबारेमा विचार गर्न सकिन्छ भन्नुभएको छ। यो ठुलो कुरा होइन। उहाँ राणा श्रीमतीले जे अह्राउनु हुन्छ त्यही गर्नुहुन्छ। उहाँको सोच पनि राणाकालीन, महेन्द्रकालीन छ। 

तर नेपाली काँग्रेसले हिन्दुराष्ट्रका पक्षमा वकालत गर्छ भन्ने मलाई लाग्दैन। र, अर्को रह्यो, एक जना दुर्गा पर्साईं। उनी असफल ऋणको व्याजसमेत तिर्न नसक्ने एउटा छट्टु बाहुनको हौवामा राज्यनै आतंकित भएको जस्तो राजतन्त्र र हिन्दुराजष्ट्र हुने कुरा असम्भव हो। 

राजतन्त्र, हिन्दुराष्ट्र मधेश, दलित, जानजाती कसैले मान्दैनन्। यसभित्र केही मुर्ख राजेन्द्र लिङदेनजस्ता, केही ऋषिबाबु परियार जस्तो व्यक्तिले राप्रपाबाट हिन्दु राष्ट्र भनेर हुन्छ? हुँदैन।

किनकी बहुसंख्यकले अब गएको राजतन्त्र फर्काउँदैनन्। 

भिडियाे

प्रकाशित मिति: : 2023-12-06 18:49:00

प्रतिकृया दिनुहोस्