आगलागीले त्रिपुरा माविको भवन ध्वस्तः पाँच लाख बढी नगदसँगै कागजपत्र सबै जले (तस्बिरसहित)

तस्बिर: भास्कर बस्नेत
तस्बिर: भास्कर बस्नेत

हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका–२ काइगाउँमा रहेको त्रिपुरा माध्यमिक विद्यालयमा लागेको आगोले एउटा भवन ध्वस्त भएको छ। आइतबार दिउँसो १ बजेतिर लागेको आगोले विद्यालयको प्रशासनिक भवन पूर्णरुपमा ध्वस्त भएको हो।

आगलागीबाट भवनमा रहेका नगद रु साढे पाँच लाख बढी जलेको छ। साथै विद्यार्थीका सबै प्रमाण–पत्र, भवनमा रहेका सबै फर्निचर जलेको वडा नम्बर २ का वडाध्यक्ष मिमबहादुर थकालीले जानकारी दिए। 

उनका अनुसार प्रशासनिक भवन तीन कोठे दुई तले थियो। अहिले आगो नियन्त्रणमा आइसकेको छ। आगो नियन्त्रणमा लिन डोजरले भवन भत्काइएको छ। 

स्थानीय र प्रहरीले करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएका छन्। मानवीय क्षती भने भएको छैन। 

अहिले आगलागीको विवरण संकलन गर्ने काम भइरहेको छ। 

तस्बिर

 

प्रकाशित मिति: : 2024-02-04 16:28:00

प्रतिकृया दिनुहोस्