सुनथरालीका ‘अस्तिपञ्जर’माथि विमान

Breaknlinks
Breaknlinks

३८ वर्षदेखि निर्माण सुरु भएको कालीकोटको सुनथराली विमानस्थलको सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले औपचारिक उद्घाटन गरे। ३८ वर्षअघि निर्माण सुरु गरिएको विमानस्थल ११ माघ ०७९ मा बनेको थियो। निर्माण पूरा भएको डेढ वर्षपछि बल्ल उद्घाटन भएकाे हाे। उद्घाटनको मिति यसअघि तीनपटक तय भएको थियो। तीनै पटक उद्घाटनको भाका नाघेपछि चौथोपटक उद्घाटन गर्न सकिएको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताए।

देशका अन्य विमानस्थलको भन्दा कालीकोटको सुनथराली विमानस्थलको अन्तरकथा फरक छ। यो विमानस्थल निर्माणको क्रममा ठुलो मानवीय क्षती भएको थियो। द्वन्द्वकालमा निर्माणाधीन विमानस्थलमा पसेर काम गरिरहेका मजदुरहरुको समूहमा सेनाले अन्धाधन्ध गोली हानी ३५ जनालाई मारेर लास त्यहीँ गाडेको थियो। यसर्थ, सुनथरालीलाई लासको अस्तिपञ्जर माथिको विमानस्थल भन्दा फरक नपर्ला।

विमानस्थल निर्माणको बेला कसरी नरसंहार हुन पुग्यो? त्यसको अन्तरकथा यस्तो छ:

२०५८ मंसिर १३ गते धादिङ, जोगीमाराका २० जना मजदुरहरु सुर्खेत हुँदै पश्चिम डुङ्गेश्वरसम्म गाडीमा र त्यसपछि पाँच दिन पैदल हिँडेर कालीकोटको निर्माणाधीन सुनथराली विमानस्थल पुगे। उनीहरु इमानदार हुन्छन् भनेर ठकेदारले कालीकोटसम्म ल्याएका थिए। उसो त कोटबाडामा मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र मोरङका अनि स्थानीय कामदार पनि काम गरिरहेकै थिए।

तत्कालीन समयमा देशमा युद्ध चलेको थियो। बेला-बेला युद्धविराम पनि भइरहेको थियो। जोगीमाराका मजदुर कालीकोट आउनु र माओवादीले युद्धविरामा भङ्ग गर्नु उस्तै समय पर्‍यो। अनि सरकारले देशभर सङ्कटकाल लागू गर्‍यो। विषम परिस्थितिमा पनि विमानस्थल निर्माणको काम भइरहेको थियो।

बेला-बेला बम पड्केको आवाजले मजदुरहरुको मुटु थर्कमान बनाउँथ्यो। पुस १९ गते विमानस्थलको आकाशबाट एक्कासी हेलिकप्टरले फायरिङ गर्‍यो। आफैँले फोड्न लागेको ढुङ्गामा गोली लागेर त्यसको टुक्रा स्थानीय मजदुर मानबहादुर बिष्टलाई लाग्यो। माहोल बसिनसक्ने खालको भयो। पुसको अन्त्यमा केही मजदुरहरूले घर फर्कन जोड गरेपछि माघे सङ्क्रान्ति मानेर जाउला भनी ठेकेदार कुमार थापाले रोके। माघे सङ्क्रान्तिपछि पनि बिदा नपाएकाले थानसिङका बेलबहादुर विक र बुङराङका झ्क्कबहादुर बल्छानेले ८ माघमा कालीकोट छोडे। ठेकेदारले ज्याला नदिएकाले उनीहरूले आफूसँग भएको कम्बल बेचेर भएपनि ज्यान जोगाउनुपर्छ भनेर काम छोडेर निस्किए। गोकर्ण थापा नामका अर्का मजदुर ठेकेदारसँग बिदा मागेर हिँडे।

डर कायमै थियो। त्यहीबेला ४ फागुनमा कालीकोटको छिमेकी जिल्ला अछामको मङ्गलसेन र साँफेबगरमा माओवादीहरूले आक्रमण गरेर प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी र नागरिक गरी १३८ जनाको ज्यान लिए। त्यहाँ आक्रमण गर्नेहरूको खोजतलासमा सेनाले चारैतिर सक्रियता बढायो। कालीकोटमा पनि हवाई र पैदल गस्ती सुरु भयो। मजदुरका हुलमा मिसिन आइपुगेका माओवादीले गस्तीमा आएको सेनाको हेलिकप्टरतिर गोली चलाएपछि सबैले अवस्था जटिल भएको महसुस गरे।

ठेकेदारले ७ फागुनदेखि स्थानीय कामदारलाई काममा नआउन आदेश दिए। बाहिरबाट आएका कामदारहरू चाहिँ आफू बसेको ठाउँ छाडेर हिँड्न असम्भव भएकाले सानोतिनो काम गरेर भएपनि बसिरहे। आफू बसेको ठाउँमा कुनै पनि बखत सेना आउन सक्ने देखेर उनीहरुले कम्पनीले आफूलाई दिएको परिचयपत्र पनि तयार पारेर राखेका थिए। नभन्दै १२ फागुनमा शाही नेपाली सेना एअरपोर्टमा आयो पनि।

सेनाले अर्को ठेकेदार र कामदारहरू बसेको घरमा फायरिङ गरेपछि मजदुरहरूको भागाभाग भयो। सेनाले त्यहाँ बसिरहेका ठेकेदार, अर्को ठेकेदारका कामदार र स्थानीय बासिन्दासमेत गरी ३५ जनाको निर्मम हत्या गर्‍यो।

पहिल्यै भागेर गइसकेकाले माओवादीतर्फ कुनै क्षति भएन। पत्रकार मोहन मैनालीले आफ्नो पुस्तक ‘मान्ठा डराएको जुग’को पेज नम्बर २११ मा लेखेका छन्, ‘मजदुर मारेको भोलिपल्ट सेना फेरि फर्केर कोटबाडा आयो। गाउँलेलाई लास झिक्न लगायो र जीवनमा जहिल्यै पनि कुलो, बाटो, विमानस्थल बनाउने हतियार मात्र बोकेका, मान्छे मार्ने हतियार कहिल्यै पनि नबोकेका मजदुरका लासछेउ हतियार राखेर फोटो खिच्यो। पहिले सेना आउँदा भागेका माओवादी त्यसको भोलिपल्ट कोटबाडा आए। गाउँलेलाई फेरि लास निकाल्न लगाए। जीवनभर राजनीति नगरेका मजदुरका लासलाई कम्युनिस्ट झन्डाले बेरे र फोटो खिचे। सेनाले कोटबाडामा मारिएका मानिसलाई मरणोपरान्त आतङ्ककारी बनायो। माओवादीले मरणोपरान्त क्रान्तिकारी बनायो!’

तीन दिनपछि राष्ट्रिय दैनिक पत्रिकाहरूमा रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार छापियो, ‘अछाम मङ्गलसेनमा आक्रमण गरेर भागेकाहरूलाई खोजतलास गर्ने क्रममा नाकामा पहरा दिएको फौज र माओवादीबीच कालीकोटका विभिन्न स्थानमा भएका भिडन्तमा ६७ माओवादी मारिए।’ पत्र-पत्रिकाका समाचार अनुसार सुरक्षा फौजले गौँडो कुर्ने रणनीति लिएपछि उनीहरूलाई सो सफलता मिलेको थियो। यसर्थ, कोटबाडास्थित सुनथराली विमानस्थल मजदुरका लासहरुमाथि छ।

आज पनि कोटबाडाकी ६६ वर्षीय मृगा बिष्ट सुनथारालीतिर एकोहोरीरहन्छिन्। किनभने, २२ वर्ष अगाडि विमानस्थल निर्माणमा खटिएका उनका छोरा टेकबहादुर बिष्ट सेनाको त्यही घानमा परे, जहाँ ३५ जनाको एक चिहान भएको थियो। आफ्नै आँखाअगाडि आफ्नो छोरा र छोराजस्ता ३५ जनाको निर्मम हत्या सम्झिँदा उनी आज पनि भक्कानिन्छिन्। एकछिन रोकिन्छिन् र लामो सास तानेपछि मात्रै पुन: बोल्न सक्छिन्।

सोही घटनामा कोटबाडाकै रामबहादुर कठायतले विमानस्थलमा मजदुरी गरिरहेका आफ्ना बुबा लहवीरे कठायतलाई गुमाएका थिए। सहाराविहीन रामबहादुरले बुबाको चिहानमाथि चिलगाडी (जहाज) उडेको हेर्न थालेको पनि मस्तै भयो। त्यसबेला कोटबाडाका ८ जना मारिएका थिए। उनीहरु सबैका आफन्तको चित्त बुझाउने एक्कै ठाउँ छ, ‘मर्ने मरिगए। मार्नेले मारिहाले। बाँचेकाहरुलाई सुविस्ता भइदेवस।’

आफ्ना देवी देउताका अगाडि गएर एकखुट्टे लगाएर हात जोड्न थालेको २२ वर्ष बितेपछि बल्ल झिनो आशा देखिएको छ। तर, जहाज नियमितताको प्रश्न भने अझ बाँकी नै छ।

तथापि, कोटबाडामा सोमबार दुइटा जहाज एकैपटक पुगेपछि छुट्टै प्रकारको खुसी छ। आफ्ना भाइ-छोरा मारिएको पीडा भुलेका छन्। कोटबाडा विमानस्थल उद्घाटन हुने खबर सुनेर नरहरिनाथ- ८ लालुका ८० वर्षीय गोर्खबहादुर विष्ट आइतबार नै घरबाट हिँडे। रहगाडपारि योगी नरहरिनाथको जन्मथलो लालु गाउँबाट वारिको लोखडा अर्थात् कोटबाडा पुग्न उनलाई ६ घण्टा पैदल लाग्यो। ‘बुढेसकालमा हिँड्न सकिँदैन भनेर काँही (कतै) जान्या (जाने) मन लाग्दैन छियो (थियो), चिलगाडी आउन्या सुन्यार (सुनेर) घर बस्न्या (बस्ने) मनै लागेन,’ विष्टले सुनाए, ‘लठ्ठी टेक्दै सकिनसकी आयाँ(आएँ)।’

०४२ देखि ०५५ सम्म कोटबाडाको पाखो खनेर भैँसीको छालामा माटो बोकेको सुनाउँदै उनले सोमबार १५ मिनेटको फरकमा कोटबाडाको चिहानमाथि दुइटा जहाज उडेको देख्दा सपना झैं लागेको बताए। ‘सुइना (सपना) हो कि जस्तो लाग्याको छ,’ उनले भने।

तन्नेरी अवस्थामा सो विमानस्थल निर्माणका निम्ति पसिना बगाएका लालुका ८१ वर्षीय कपुरसिंह बिष्ट, ७२ वर्षीय कुलबहादुरहरुको मुहारमा बिछट्टै खुसी छाएको थियो। जहाज चड्न नपाउँदा समेत यत्रो विधि खुसी भएका कालीकोटेहरु जहाज चडेर आधा घण्टामा सुर्खेत, नेपालगञ्ज पुग्दा कति खुसी होलान्?

भन्नलाई त सरकारका मन्त्रीहरुले नियमित उडान गर्ने नै भनेका छन्। तर, यो खुसीकाे आयु कति हुने हो प्रश्न बाँकी नै छ।

सुनथराली विमानस्थलमा ३८ वर्षको व्यग्र प्रतिक्षापछि विमान

प्रकाशित मिति: : 2024-02-27 17:28:00

प्रतिकृया दिनुहोस्