ईश्वरी राई (इशु)
ललितपुर जिल्लाको उत्कृष्ट सामुदायिक स्कूल हो, ‘आदर्श सौलः युवक माध्यमिक विद्यालय’। जहाँ शिशुदेखि ‘मास्टर्स’सम्मको पढाइ हुन्छ।
साढे पाँच दशकदेखि शिक्षा छरिरहेको स्कूलमा पढ्नका लागि नेपालका ६५ वटा जिल्लाबाट ध्याइरहेका छन् विद्यार्थीहरू। उनीहरूलाई नै शिक्षित बनाउन खटिरहेका छन्, १ सय २० जना शिक्षकहरू।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउनका लागि स्कूललाई प्रविधिमैत्री बनाएको आदर्शका प्रधानाध्यापक ज्ञानभक्त महर्जनको भनाइ छ। उनका अनुसार आदर्शका विद्यार्थीहरूलाई डिजिटल बोर्डमार्फत पढाइन्छ।
‘हाम्रो उद्देश्य भनेकै स्कूललाई प्रविधिमैत्री बनाउने हो’, उनले भने, ‘डिजिटल बोर्ड नभएको कक्षामा हामीले प्रोजेक्टरको प्रयोग गरेर पढाइरहेका छौं।’
स्कूललाई पढाइसँगै खेलकुदमा पनि सक्रिय बनाइरहेको प्रधानाध्यापक महर्जनको बुझाइ छ।
‘हामीले पढाइलाई मात्र होइन विद्यार्थीहरूलाई खेलकुदमा पनि फोकर्स गर्याइहेका छौं। बाल क्लबलगायत विभिन्न खेल तथा प्रतियोगितामा हामीले विद्यार्थीहरूलाई सहभागिता गराउने गरेका छौं’, विद्यार्थीका लागि पढाइसँगै क्रियाकलाप पनि आवश्यक रहेको उनले बताए।
आदर्शले गरेको तीनै कामहरूका कारण लोभिरहेका छन्, ‘चेपाङ’हरू पनि। त्यही स्कूलमा पढ्ने सोच बोेकेका उनीहरू चितवन, मकवानपुर र धादिङ छोडेर ललितपुरमा जमिरहेका छन्।
‘हामीकहाँ चेपाङ बस्तीका बालबालिकाहरू पनि पढ्नका लागि आउनुभएको छ’, आदर्शमा सबै समुदायका मानिसहरू पढिरहेको बताउँदै उनले भने, ‘पढाइ सम्बन्धि हामीले उहाँहरूलाई कुनै कुराको कमी हुन दिएका छैनौं।’
विद्यार्थीहरूलाई लक्षित गरेर आदर्शले कक्षा–५ सम्मका विद्यार्थीलाई दिवा खाजा, कक्षा–१ देखि ३ सम्मलाई सिसाकलम र कक्षा–९ देखि १२ सम्मका विद्यार्थीहरूलाई कापी सित्तैमा दिने गरेको छ, प्रोत्साहनका लागि।
त्योसँगै स्कूलले विभिन्न कार्यक्रमहरूको व्यवस्थापन पनि विद्यार्थीहरूलाई नै गर्न दिने गरेको छ। यसले विद्यार्थीहरूलाई जिम्मेवारी बोध गराउने उनको विश्वास छ।
‘विद्यार्थीहरूलाई नयाँ काम सिकाउनका लागि भएपनि हामीले उहाँहरूलाई मन्दिर सजाउनेदेखि विभिन्न प्रोग्राममा सहभागिता गराउँर्छौं अनि उहाँहरू आफैंलाई म्यानेज गर्न लगाउँछौं’, बिएन नेपाली सेवासँग उनले भने, ‘यसले गर्दा उहाँहरूमा मचोरिटी पनि बढेर जान्छ।’
त्यसैगरी आदर्श स्कूलमा पढ्न आउने विद्यार्थीहरूको संख्या दिनप्रति दिन बढ्दै गइरहेको छ। केही दिनअघि मात्रै ३० जना विद्यार्थीहरू थपिएका छन्। जसलाई स्कूलले ‘इन्ट्रान्स’बाट छानेको हो।
‘४०० जना स्टुडेण्डहरू भर्नाका लागि आउनुभएको थियो। उहाँहरूमध्ये हामीले ३५० जनालाई छानेका छौं’, उनले भने, ‘जसभित्र पढ्छु भन्ने जूनुन हुन्छ, स्कूलले तिनै विद्यार्थीहरूलाई छानेर पढाउँछ।’
विद्यार्थीहरूको संख्या बढाइरहेको आदर्शमा अहिले बोर्डिङ स्कूलभन्दा चर्चित भएको छ। त्यसैले त बोर्डिङ स्कूल छोडेर जिल्लाकै उत्कृष्ट स्कूल आदर्शमा पढ्नका लागि आइरहेका छन् उनीहरू।
कसरी बन्यो जिल्लाकै अब्बल?
वि.स २०२६ सालमा सुरु भएको थियो, आदर्श स्कूल। जसलाई गाउँकै युवाहरूले मिलेर बनाएका थिए। सुरुवाती चरणमा पाटीमा सुरु भएको स्कूलमा २–४ जना मात्रै थिए।
त्योबेला पढ्ने र पढाउने पनि खासै चलन थिएन। तर विस्तारै समाजको सोच परिवर्तन भएसँगै पढ्नेको जमात पनि बढ्न थाल्यो। र, स्कूलको तह पनि बढ्दै गयो।
वि.स २०५५ सालदेखि स्कूलमा ११–१२ कक्षाहरू सुरु हुन थाल्यो। विद्यार्थीहरूलाई थप शिक्षित बनाउने उद्देश्यका साथै थपिएको कक्षामा मात्र व्यवस्थापन सकांय पढाइन्थ्यो।
तर विद्यार्थीहरूको अन्य विषयमा पनि चासो बढ्न थालेपछि व्यवस्थापनसँगै मानविकी र शिक्षा संकाय पनि सुरु भयो।
‘बामे’ सर्दै अगाडि बढिरहेको स्कूलले विद्यार्थीहरूलाई थप उत्कृष्ट शिक्षा दिलाउनका लागि २०६२ सालदेखि ‘अंग्रेजी’ भाषाबाट पनि पढाउन सुरु गर्यो। जसलाई सफल बनाएका थिए, आदर्शका स्वर्गीय प्रधानाध्यापक भीमप्रसाद सापकोटाले। उसैको लक्ष्य थियो, स्कूललाई ‘उत्कृष्ट’ बनाउने।
‘अहिले हाम्रो स्कूल जति सफल छ, त्यहाँ भीम सरको ठूलो योगदान रहेको छ’, आदर्शका पूर्व विद्यार्थी समेत रहेका प्रधानाध्यापक महर्जनले भने, ‘उहाँ देख्नुभएको भिजनलाई हामीले अगाडि बढाइरहेका छौं।’
कम शुल्क र उत्कृष्ट शैक्षिक तथा भौतिक वातावरण रहेको आदर्शलाई जिल्लाकै ‘अब्बल’ सामुदायिक विद्यालय बनाउनुमा सबैभन्दा ठुलो भूमिका शिक्षकको रहेको उनी गर्वका साथ बताउँछन्।
स्कूलको हरेक निर्णय समूहमा गर्दैआइरहेको बताउँदै उनले भने, ‘हामी शिक्षकहरूबीच कुनै विवाद छैन। स्कूलको डिसिजन होस् या कामको विषय नै किन नहोस् हामी सबै जना टिचरले जिम्मेवारीका साथ लिइरहेका छौं। त्यसले पनि आदर्शलाई उत्कृष्ट स्कूल बनाइरहेको छ।’
‘म्यानेजमेन्ट’मा ‘फोकर्स’
कुनैबेला कक्षा–५ सम्मका लागि मात्रै सञ्चालन भएको आदर्शमा अहिले व्यवस्थापन ‘मास्टर्स’को पढाइ हुन्छ।
‘हामीले अहिले मास्टर्समा म्यानेजमेन्ट विषय मात्रै पढाइरहेका छौं’, विद्यार्थीहरूको पहिलो रोजाईं व्यवस्थापन रहेको बताउँदै उनले भने, ‘हामीले बाँकी संकायहरू पनि थप्ने तयारी गरिरहको छौं।’
स्नाकोत्तरमा व्यवस्थापन मात्र पढाइ भएपनि स्नातक तहमा व्यवस्थापन, मानविकीदेखि शिक्षा सम्बन्धि सबै विषयहरू पढाइ भइरहेको उनले बताए।
‘हामीले एउटा विद्यार्थीको गुणस्तरीय शिक्षाको लागि आवश्यक पर्ने सबै किसिमको प्रविधिहरू उपलब्ध गराइदिइरहेका छौं। त्यसैले पनि विद्याथीहरू पढाइसँगै अनुशासित पनि छन्’, गुणस्तरीय शिक्षा र प्रविधिको कारण विद्यार्थीको पहिलो रोजाईं आदर्श रहेको उनको गर्वका साथ बताउँछन्।
साढे पाँच दशक लामो इतिहास बोकेको स्कूलमा पढेकाहरू अहिले डाक्टर, इन्जिनियरदेखि नेपाल सरकारका उच्च पदमा रहेको प्रधानाध्यापक महर्जन बताउँछन्।
उनका अनुसार बोर्डिङमा पढ्ने विद्यार्थीहरूभन्दा धेरै सामुदायिक स्कूल पढेकाहरू सफल भएका छन्।
‘एउटा विद्यार्थीलाई सफल बनाउनका लागि स्कूूले के पढाउन चाहन्छ भन्दापनि स्टुडेण्ट के पढ्न चाहन्छ भनेर ध्यान दिनुपर्छ’, आदर्शको पहिलो लक्ष्य भनेकै विद्यार्थीको खुसी रहेको उनले बताए।
विद्यार्थी टिकाउनै चूनौती
सामुदायिक विद्यालय भन्नासाथ मानिसहरूले नाक खुम्चाउन थाल्छन्। पढाइको गुणस्तर शिक्षाबारे प्रश्न गर्छन्।
त्यसैले ‘हुनेखाने’ परिवारले छोराछोरीलाई बोर्डिङ स्कूलमा भर्ना गरिदिन्छन्। र, गरिब, विपन्न परिवारले आफ्ना सन्ततिलाई सरकारी विद्यालयमा पढाउँछन्।
तर उनकाअनुसार सामुदायिक विद्यालय सबै समुदायको लागि बनेको हो। सामुदायिक स्कूलको भर्ना खर्च सस्तो भन्दापनि पढाइ गुणस्तरीय छ भन्ने सोच अभिभावकमा हुनुपर्ने उनको बुझाइ छ।
‘स्कूलको भर्ना सस्तो हुँदैमा पढाइ नराम्रो र महँगो स्कूल हुँदैमा शिक्षा राम्रो हुने विल्कुलै होइन’, अभिभावकहरूसँग उनी भन्न चाहन्छन्, ‘अभिभावकले भर्ना रेटभन्दा पनि स्कूलले दिइरहेको शिक्षाबारे बुझ्नुपर्छ।’
सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा छरिरहेपनि उत्तिकै चूनौतीहरूको सामना गरिरहनुपरेको उनले बताए।
विद्यालयमा भर्ना भइसकेका विद्यार्थीहरूलाई टिकाउनु नै चूनौतीको विषय रहेको प्रधानाध्यापक महर्जनको गुनासो छ।
‘हरेक वर्ष आदर्शका झण्डै सय जना विद्यार्थीहरूले स्कूल छोडिरहेका छन्’, गरिबीको कारण स्कूल छोड्ने विद्यार्थीहरूको संख्या बढिरहेको बताउँदै उनले भने, ‘तिनै स्टुडेण्टहरूलाई टिकाउन चूनौतीपूर्ण छ।’
स्कूल पढ्दा–पढ्दै बीचैमा छोडेकाहरूको भविष्य अन्योल रहेको बताउँदै उनी भन्छन्, ‘विद्यार्थीलाई सुरुमा टिकाउने, त्यसपछि बिकाउने हो। तर अहिले गरिबीको कारण स्टुडेण्डलाई टिकाउनै सकिएको छैन। पढाइ छोडेर विद्यार्थीहरू काममा लाग्छन्।’
छोराछोरीलाई स्कूल भर्ना गराइदिइसकेपछि गरिबीको कारण कामधन्दामा पठाउन भन्दापनि शिक्षालाई पूरा गर्न दिनुपर्ने अभिभावकसँग प्रधानाध्यापक महर्जनको अनुरोध छ।
याे पनि...
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया