सोमबार, २३ फेब्रुअरी २०२६

रवि र ओली : दुबै उस्तै उस्तै हुन् नानू !

News Image
• • •

धेरै पहिला रेडियो नेपालमा हात्ती छाप चप्पलको एउटा विज्ञापन बज्थ्यो । छोरीले बालाई सोध्थिन्, हात्ती र हात्ती चाप चप्पल कुन बलियो हुन्छ ?
बाबुको जवाफ हुन्थ्यो, दुबै उस्तै उस्तै हुन् नानु ।

कहाँबाट हात्ती र हात्तीछाप चप्पल उस्तै बलियो हुनु ? तैपनि त्यही भनेर हात्तीछाप चप्पलको ब्राण्डिङ गरिएको थियो । त्यो चप्पल त्यतिबेला खुबै चलेको पनि थियो ।

हिजो आज रवि लामिछाने र के पी ओलीको पात्र र प्रवृति अनि दोहोरी देख्दा लाग्छ, यी दुबै पनि नेपाली राजनीतिका उस्तै उस्तै हुन् ।

कसरी ? त्यसलाई बुझ्नको लागि आसन्न चुनावको सन्दर्भमा उनीहरूले भनेका दुई भनाइहरू हेरौं-

‘मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् सिँगौरी खेल्न । मैले धेरै केही भन्न पर्दैन, अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे र अर्को साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिँदैन यी बतासका खेती गरिरहेका छन् । यिनीहरूका उद्देश्य छैन, विचार छैन, भोली उठी कहाँ जाने केही थाहा छैन ।‘
- केपी ओली

‘गिद्धले सिनो लुछे जस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ–अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्विकार्छौँ तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद्, षडयन्त्रपूर्ण ढङ्गले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्विकार्दैनौँ ।‘
- रवि लामिछाने

यी घृणा र प्रतिशोधले भरिएका भनाइको सार के हुन्छ त ?  

रवि र ओली  दुबै उस्तै उस्तै अर्थात् एउटै सिक्काका दुई पाटा हुन् । यी दुई बीच एक हैन, अनेक समानता छन् । दुबैसँग बोल्दा कत्ति पनि ठेस नलाग्ने जिब्रो छ । त्यही जिब्रो चलाएर उनीहरू एउटै झुटलाई सय चोटि भनेर सत्यको भाष्य नजिक पुर्याउँछन् । बोलेकै बलमा गोयबल्सका यी नेपाली अवतारहरूले आआफ्नो पार्टीलाई निजी क्लब र नेता-कार्यकर्तालाई कारिन्दा बनाएका छन् ।

यिनीहरू आफ्ना लागि बाहेक अरू कसैका लागि केही गर्ने त धेरै टाढाको कुरा,सोच्दा पनि सोच्दैनन् । तर उनीहरू त्यसलाई देश र जनताका लागि मात्रै गरेको भनेर सत्यलाई हत्केलाले छोपिरहन्छन् । यिनीहरू मिसइन्फर्मेशन र डिस्इन्फर्मेशन कारखाना त हुन् नै, डिप स्टेट र षडयन्त्र सिद्धान्तका प्रतिपादक पनि हुन् । यिनीहरू जे बोल्छन्, पार्टीको नीति, कार्यक्रम, सिद्धान्त त्यही हुन्छ । त्यसैले एकातिर ओलीबा छन्, अर्कोतिर रविदाई । उमेका कारणले साइनो फरक भए पनि यी दुबै आआफ्ना पार्टीका देउता नै हुन् । उनीहरू सिधै भन्छन्, आफूबाट कुनै गल्ती नै हुँदैन ।

यी दुबैमाथि गम्भीर आरोपहरू छन् । ओलीमाथि भ्रष्टाचारजन्य कयौ प्रश्नहरू छन्, गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा त संगीन आरोप नै छ । तैपनि सर्वोच्च अदालतदेखि अख्तियारसम्मका सारा राज्य संयन्त्रहरूमा आफ्ना मान्छे सेटिङ गरेर पानीमाथिको ओभानो बनेकै छन् । उता, रविमाथि सहकारी ठगी, संगठित अपराध र अकूत सम्पतिको अभियोग मात्र छैन, दोहोरो राहदानीको फौजदारी मुद्दा पनि चलिरहेकै छ । सहकारी र अकूत सम्पतिको मुद्दा देवानी भए पनि संगठित अपराध र दोहोरो राहदानी फौजदारी मुद्दा हुन् । यी दुई मुद्दा उनको विपक्षमा जाने बित्तिकै उनको राजनीति नै टुंगिन्छ । त्यसैले मुद्दा दबाउन उनी मरिहत्ते गरेर गृहमन्त्रालय पुग्छन् र  मुद्दा नै दबाउन्छन् । पछिल्लोपटक एमाले-कांग्रेस सरका बन्ने बित्तिकै उनको २१ संख्याको उपादेयता सकियो । त्यसपछि उनीमाथि मुद्दा चल्दा सांसदबाट निलम्बित मात्र भएनन्, लामो समयसम्म जेलकै चिसो छिँढीमा पुगे ।

यी दुबै मुद्दामा प्रमाणको आधारमा रवि कमजोर छन् तर एक से एक वकिल हायर गरेर कानूनका अनेक छिद्र खोजेका मात्र छैनन्, आवश्यक पर्दा बेञ्च सपिङ गर्न पनि पछि परेका छैनन् । पछिल्लोपटक उनले आफ्नो अनुकूलको बेञ्च नपर्दासम्म दुईदुईपटक वकिललाई बिरामी बनाए । तेस्रोपटकमा आफ्नो अनुकूलको बेञ्च पर्दा सुनुवाइ अगाडि बढाएर र नेपालको अदालती इतिहासमै पहिलोपटक यस्तो अनौठो निर्णय गराएर थुनामुक्त भए । यो विषयलाई लिएर न्यायाधीशको योग्यतामाथि त प्रश्न उठेकै छ, बेञ्च सपिङको गम्भीर आरोप पनि लागेको छ । यो विषयले उजुरीको रूपमा न्यायपरिषदमा प्रवेश पनि पाइसकेको छ ।

प्रश्न गर्नेहरूले त यसमा पूर्वप्रधानन्यायाधीश पृष्ठभूमी समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीतिर पनि शंकाको सुई तेर्सिएको छ । सुरूदेखि नै रविलाई पूर्वाग्रह राखेर झुटो मुद्दामा फसाइएको भन्दै आएकी कार्कीले थुनामुक्त हुने बित्तिकै वालुवाटारमा रेडकार्पेट ओछ्याएर स्वागत नै गरिन् । स्मरणीय रहोस्, रवि अहिले पनि संगठित अपराधसहितको संगीन आरोप लागेका सरकारवादी मुद्दाका अभियुक्त हुन् ।

सरकारका प्रतिवादीलाई सरकार प्रमुखकै सरकारी निबासमा स्वागत गरिनु संगति मिल्ने कुरा हैन । यही पृष्ठभूमीमा कार्की प्रधानमन्त्री नभएको भए रवि वेल बाहिर आउन सम्भव थिएन भन्ने आशंका पनि छ । अझ कतिले प्रधानमन्त्री कार्कीलाई धारेहात लगाइरहेका ओलीलाई काउन्टर दिन नै रविलाई छोडिएको हो पनि भनिरहेका छन् ।

थुनुवामुक्त हुने बित्तिकै सरकारको काँध हालेका रविले प्रतिनिधिसभा पुनर्स्थापनाको प्रयासलाई षडयन्त्र भन्दै धारेहात लगाउन भ्याइसकेका छन् । उनी त्यतिमा मात्र रोकिएका छैनन्, ओलीको नाम नलिई ‘निर्वाचन बिथोल्नका निमित्त भागेका केही शक्तिहरू लागिपरेका छन्, त्यस्तो गर्न जरुरी छैन, पार्टीको चुनाव जितेसँगै आम चुनाव पनि जिते भैगो नि’, पनि भनी सके । उता, ओलीले पनि थुनामुक्तिको फैसला र न्यायाधीशको योग्यतामाथि प्रश्न उठेको बताएका छन् । उनले रविलाई गुन लगाएको तर उसले दुश्मनी साँधेको भन्दै चित्त पनि दुखाएका छन् । रविको पक्राउ र रिहाइमा आफ्नो कुनै भूमिका नरहेको भन्दै सफाइ पेश गरेर रक्षात्मक पनि बनेका छन् ।

हुन पनि हो, रविलाई आजको रूपमा ल्याइपुर्याउन ओलीको ठूलो योगदान छ । अमेरिकी राहदानीमा पारिवारिक भिसा लगाएर २०७२ मा नेपाल आएका रविलाई ओलीले नै नेपाल टेलिभिजनमा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम चलाउन दिएका थिए । यसरी कामै गर्न नपाउने भिसामा आएका रविका लागि त्यही काम गलाको पासो बन्यो र अन्तत: उनले अमेरिकी नागरिकता नै त्याग्नुपर्यो । यही बीचमा नेपाली राहदानी समेत बनाएका रविका लागि त्यही दोहोरो राहदानी राजनीतिक जीवनको स्याँगी बनेको छ ।

रविलाई दुईपटक उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउन पनि ओलीको निर्णायक भूमिका छ । दोहोरो राहदानी मुद्दा मुल्तवीमा राख्न र सहकारी मुद्दा चलाउन हुन्न भनेर पनि ओली रविको बचाउमा लागेकै हुन् । रवि र ओलीको गठजोड २०८१ असारमा एमाले-कांग्रेस गठबन्धनमा ओली नेतृत्वको सरकार नबन्जुले कायम रह्यो ।

तर, राजनीतिका कूटील खेलाडी ओलीले यी सबै रविलाई बदनाम बनाएर उनको राजनीति नै खतम पार्न बुनेको तानाबाना थियो कि भन्ने आशंका अहिले नउब्जिएको हैन । ओली नै सरकार प्रमुख भएको बेला रवि जेल पुग्नु संजोग मात्र थियो भन्न सकिदैन । आफ्नो राजनीतिक उत्थान-पतनको भित्रीकथा राम्रैसँग बुझेका रवि त्यसयता लगातार ओलीसँग पौठेजरी खेल्दैआएका छन् ।

यति भन्न कुनै आइतबार नै पर्खनु पर्दैन कि यी दुईबीच चरम राजनीतिक प्रतिद्वन्दिता मात्र छैन, अब त त्यो चुलिएर शत्रुताकै ढिस्को बनिसकेको छ । यता, रवि ठान्छन् कि ओलीले नै आफूलाई जेल पठाएको हो । उता, ओली आफूजस्तै वाकपटू रवि आफ्नो राजनीतिको चुनौति ठान्छन् । एकले अर्कालाई पन्छाएर मात्रै आफ्नो राजनीतिको दुनो सोजिन सक्छ भन्ने निस्कर्षमा उनीहरू दुबै पुगेजस्तो देखिन्छ ।

कार्की सरकार र उनले संसद विघटन गरेर घोषणा गरेको चुनावलाई लिएर ओली र रवि सुरूदेखि नै फरक कित्तामा छन् । रविले यो सरकारलाई मान्यता मात्र दिएनन्, पूरै काँध थापेर लागे । तर, ओली सुरूदेखि नै चुनाव हुँदैन भन्दै संसद पुनर्स्थापनाको लागि सर्वोच्च अदालततिर लागे ।

सुरूमा परस्पर विरोधी बाटोमा लागे पनि अन्तत: उनीहरू एकै ठाउँमा आइपुगेका छन् । ओली बाध्य भएर लत्रिएर चुनावमा आइपुगेका छन् । उनका विरूद्ध रविले अहिलेको सबैभन्दा ठूलो लोकप्रियतावादको मोहरा बालेन शाहलाई उम्मेद्वार बनाएर चुनौतिको पहाड तेर्स्याइदिएका छन् ।

कुनै बेला आफ्नो जुत्ता उठाए पनि जित्छ भन्ने झापा ५ मा ओलीले डेरा जमाएरै बस्नु परेको छ, त्यसबाट पनि उनी जीतका लागि ढुक्क हुन सकेका छैनन् । यसले बालेन शाहको उम्मेद्वारी उनका लागि कुन डिग्रीको थ्रेट रहेछ भन्ने सजिलै आँकलन गर्न सकिन्छ ।

आजको विश्व राजनीतिको सबैभन्दा ठूलो चुनौती लोकरिझ्याइँवाद हो । दलको आन्तरिक लोकतन्त्रलाई अपहरण गरेर पार्टी सत्तामा उक्लने तानाशाहहरू अहिलेका शासक हुन् । ओली र रवि दुबै यसका नेपाली ‘नमूना’ हुन् । त्यसैले नेपालका लागि यी दुबै पात्र समस्या हुन्, समाधान हैनन् । यिनीहरू दुबैका देखाउने दात र चपाउने दात फरक छन् । यी दुबै वाचाल स्टन्टबाजहरू जनतालाई भाषणको घाँस हालेर शासन गर्न चाहन्छन् ।

जे होस्, फेरि एकपटक नेपालमा ओली र रवि आम्नेसाम्ने भएका छन् । यतिबेला ओलीबाका छोराछोरीहरू र रवि दाइका भाइबहिनीहरू सडक र सञ्जालमा नांगेझार भएर पौठेजोरी खेलिरहेका छन् । ओलीबाका छोराछोरीहरू जति नांगेझार छन्, रवि दाइका भाइबहिनीहरू पनि उत्तिकै नांगेझार छन् । उनीहरूको यो नग्न प्रदर्शनी देख्दा लाग्छ, रवि र ओली कल्ट-लिडर हुन् र एमाले र रास्वपामा नानाथरिका पद लिएकाहरू उनका भक्तहरू मात्रै हुन् ।

यो अक्षरकर्मी सुरूदेखि नै एउटै कुरा लेख्दै आएको छ, कि रवि र ओली दुबैको राजनीतिक गोत्र एउटै हो, लोकरिझ्याइँवाद । यस अर्थमा उनीहरू स्वाँगेभाइ हुन् । लोकरिझ्याइँवाद आजको विश्व राजनीतिको सबैभन्दा ठूलो चुनौति हो । त्यसैले नेपालका लागि यी दुबै पात्र समस्या हुन्, समाधान हैनन् ।

जे भए पनि यो स्वाँगे–भाइ लडाइँ फेरि एकपटक नया शीराबाट सुरू भएको छ । यो लडाइँमा कसको जीत र कसको हार हुन्छ ? अहिले नै केही भन्न सकिने अवस्था छैन । यद्यपि, एउटा कुरा चाहिँ तय छ कि जसले जिते पनि नेपाल र नेपालीको हार नै हुन्छ । लोकरिझ्याइँवादका यी नयाँ वादशाहहरू अब पात्र मात्र रहेनन् प्रवृति नै भैसके । मै खाउँ, मै मात्र लाउँ भन्ने यो प्रवृति स्वयंमा समस्या हो, समाधान हैन । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!