बुधबार, ०३ जुन २०२६

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ, तबसम्म पढ्नैपर्छ– कृष्ण उदाशी

News Image
• • •

केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन् साहित्यकार कृष्ण उदाशी।

एक चालिस वटा कविता समेटिएको यस सङ्ग्रहमा जीवन, प्रकृति, मानवीय संवेदना र देशको राजनैतिक विचलनजस्ता विविध आयामलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ।

पाँचथर जिल्लामा जन्मिएका उदाशी वि.स. २०५५ सालदेखि साहित्यिक सिर्जनामा सक्रिय रहँदै आएका छन्। 

उनले २०५७ सालमा ‘शायरी’ प्रकाशन गर्दै आफ्नो औपचारिक साहित्यिक यात्रा प्रारम्भ गरेका थिए।

उपन्यास, गजल, गीत, कथा र कविताजस्ता विविध विधामा समान दक्षता राख्ने उदाशीका ‘दाइजो’ (उपन्यास, २०६४), ‘दोभानपारि बाबरी’ (गजलसङ्ग्रह, २०६७) तथा बबिता घिमिरेसँग संयुक्त रूपमा लेखिएको ‘म हराएको साँझ’ (कथासङ्ग्रह, २०७०) प्रकाशित कृतिहरू हुन्।

उर्लाबारी गजल मञ्चका संस्थापक सचिव, उर्लाबारी क्याम्पस साहित्य मञ्चका संस्थापक अध्यक्षसमेत रहेका उदाशी विभिन्न साहित्यिक संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय छन्। 

उनले ‘प्रारम्भ’ साहित्यिक भित्तेपत्रिका, ‘सिर्जनाको बगैँचा’ संयुक्त साहित्य सङ्ग्रह तथा ‘सम्बन्ध’ द्वैमासिक साहित्यिक पत्रिकाका साथै विभिन्न व्यक्तिहरूका दर्जनौँ व्यक्तिगत कृतिहरूको पनि सम्पादन गरिसकेका छन्। 

उनले लामो समयसम्म रेडियो कार्यक्रम ‘गजलमाला’ र ‘सिर्जनको बगैँचा’ उत्पादन र प्रसारण पनि गरेका थिए।

गीत–सङ्गीत क्षेत्रमा पनि उनको उल्लेखनीय उपस्थिति रहेको छ। उनका पाँच दर्जनभन्दा धेरै गीत रेकर्ड भइसकेका छन्। 

उनले रचेको ‘म घुम्टो उघार्छु’ बोलको गीतले २०८० सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापि आधुनिक गीत प्रतियोगितामा प्रथम पुरस्कार हासिल गरेको थियो। उनै साहित्यकार कृष्ण उदाशीसँग बिएल नेपाली सेवाका पत्रकार तेजन खड्काले गरेको पुस्तकवार्ता।

पछिल्लोपटक पढेर सकाएको पुस्तक कुन हो? अहिले के पढ्दै हुनुहुन्छ? 

पछिल्लो पटक पढेको पुस्तक सीमा आभासको ‘महायुग’ हो । यो बीचमा प्रकाश भट्टराईको गीत सङ्ग्रह ‘गुनासो’ पनि पढिसकेँ। दीपा दाहालको ‘विजयनी’ का २–३ वटा कथा पढिसकेको छु। यो बिचमा सम्पादनको काम पनि गर्नुपर्ने भएकाले केही पाण्डुलिपिमाथि काम भइरहेको छ। सबभन्दा धेरै त तिनीहरू पढ्नुपर्छ। सम्पादनकै कामले पनि सयौँ बालकथाहरू पढेको छु। थुप्रै पुस्तक लाममा छन्। 

तपाईंलाई मनपर्ने विधा? अध्ययन गर्ने समय, स्थान र वातावरणबारे बताइदिनुहोस् न। 

म त साहित्यका सबै विधा मनपराउँछु। म आफैँ पनि उपन्यास लेखेर कृतिगत रूपमा पदापर्ण गरेको हुँ। गजल, कथा र कविताका पुस्तक आइसकेका छन्। गीत पनि रेकर्ड भएका छन्। कविता, कथा, उपन्यासका पुस्तकहरू सम्पादन पनि गरेको छु। त्यसले गर्दा म जुन विधामा काम गरिरहेको हुन्छु, मलाई त्यही विधा राम्रो लाग्छ। 
पढ्ने समय, स्थान र वातावरणको कुरामा चैँ, घरमा पढ्न, सम्पादन गर्न, लेख्नका लागि मेरो एउटा छुट्टै कोठा छ। म त्यही कोठामा सम्पादनको काम पनि गर्छु। फुर्सद र आवश्यकता अनुसार जुनसुकै बेला पनि पढ्छु। लेखपढ गरिरहेका बेला हल्ला भइदिएन भने त्यो वातावरण खेलपढका लागि मलाई असाध्यै अनुकूल लाग्छ।

अध्ययनका लागि दैनिक कति समय छुट्याउनुहुन्छ? 

अचेल मेरो काम नै पुस्तक सम्पादन गर्ने भएकाले छुट्टै समय नै निकाल्दिनँ। सबै त पढिरहनु नै पर्छ। त्यसैले दैनिक गर्ने अरू कामबाहेक धेरैजसो मेरो काम पढ्ने नै हुन्छ।

तपाईंका प्रिय तीन पुस्तकका नाम। ती पुस्तक मनपर्ने कारण? 

पहिलो चाहिँ म रामायण र गुणरत्नमालालाई लिन्छु। ती पुस्तकहरूले मेरो मस्तिष्कमा अक्षर रोपिनुभन्दा पहिला नै सिर्जना र कल्पनाशीलताको भावना रोपिदिएँ। दोस्रो जेके याक्थुम्बाको ‘अन्तिम इच्छा’ उपन्यास। त्यो मैले पहिलो पल्ट पढेको उपन्यास हो।.जसको कारण मैले उपन्यास लेख्ने प्रेरण पाएको थिएँ। तेस्रो सरुभक्तको ‘पागलवस्ती’ उपन्यास। मैले जीवनमा साह्रै धेरैपल्ट दोहोर्‍याएर पढेको उपन्यास हो यो। यो उपन्यासमा सरुभक्तले जून स्तरको कल्पनाशीलता प्रयोग गर्नुभएको छ, त्यो स्तरको कल्पनाशीलतामा त्यही स्तरको सुन्दरता पनि पाउन असाध्यै दुर्लभ हुन्छ। अरु थुप्रै पुस्तक छन्, जसले मलाई धेरै पटक परिवर्तन गरेका छन्। कविताका लागि मनु मञ्जिलको ‘ल्याम्पपोस्टबाट खसेको जून’, मिश्र वैजयन्तीको ‘पार्श्व आवाज’ लाई पनि मैले सम्झिनुपर्छ। 

पुस्तकले तपाईंको व्यक्तित्व र जीवनमा ल्याएको सबैभन्दा ठुलो परिवर्तन के हो?

यो महत्वपूर्ण प्रश्न हो। म अक्षर चिन्नुभन्दा पहिलादेखि नै पुस्तकसँगको सङ्गतमा थिएँ। हरेक बेलुका घरमा बुबा कुप्पी बालेर रामायण, महाभारत, देवीभागत्, गुणरत्नमाला आदि पुढ्नुहुन्थ्यो। खेतबारीको काम गर्दा बुबा खेतालालाई पनि र हामीलाई पनि विभिन्न लोक कथा, अकबर बीरबलरका कथा सुनाउँनुहुन्थ्यो। मैले ‘वीरबलको खिचडी’ शीर्षकको कथा अक्षर चिन्नु भन्दा पहिला नै कण्ठ गरेको थिएँ। त्यही आदतले अक्षर चिन्ने बित्तिकैदेखि कथा, कविताहरू खोजीखोजी पढ्ने बानी भयो। त्यसैले म आज जे छु, जेजस्तो अवस्थामा छु अक्षरकै कारण मात्रै छु। अब मैले ‘पुस्तकका कारण ममा के परिवर्तन आयो?’ भनेर खोज्नु नै पर्दैन जस्तो लाग्छ।

पुस्तक किन पढ्ने? 

विचार, शैली, समय र जीवनप्रतिको बुझाइमा नवीकरण गर्न। मेरो हकमा त हातमा पुस्तक भएको बेला मभित्रको आत्मविश्वसमै फरक पर्छ। त्यसमा पनि लेखकहरूका लागि पहिलो र अन्तिम सर्त नै पढ्नु हो। राम्रो पाठक लेखक नहुन पनि सक्छ तर नपढी कुनै पनि लेखक, लेखक बन्नै सक्दैन।

डिजिटल युगमा पठन संस्कृति जोगाइराख्न के गर्नुपर्ला?

डिजिटलमै सही, मान्छेले पढ्छ भने त भइहाल्यो। तर मान्छेलाई जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ मान्छेले पढ्नैपर्छ। हो, समयअनुसार पढ्ने शैली फरक पर्ला। हाम्रा बुबाहरू रामायण, महाभारत पढ्दा पुस्तक भित्र ठुलाठुला अक्षर भएका हरफ हुन्थे। बिस्तारै सानासाना अक्षर भएका पुस्तक आउन थाले। साधा आवरण भएका, दुई रङको आवरण भएका, रङ्गीन आवरण भएका हुँदै अहिले थ्रिडी आवरण र ‘वेटलेस’ कागजमा छापिएका किताब पढ्न पाइन्छन्। यहाँबाट मोबाइलमा हात हातै पढ्न, हेर्न र सुन्नका लागि मिल्ने सामग्री आएका छन्। यसको पनि निश्चित आयु छ। यो पनि चाँडै परिवर्तन हुनेवाला छ। मान्छे बुख्याँचा बन्न चाहँदैन। त्यसैले पढाइको मात्रा धेरै र थोरै होला मान्छेले पढ्नैपर्छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!