बिएल संवाददाता
देशमा माओवादी सशस्त्र द्वन्द्व चलिरहँदा दाङका विभिन्न गाउँमा सामूहिक हत्या भए। हत्या र हिंसाले गाउँ आक्रान्त हुन थालेपछि स्थानिय महिलाहरू बालबच्चा बोकेर भारत भासिन थाले। थाकथलो छोडेर महिलाहरू परदेश हिडेका र जाने योजनामा रहेका खबरहरू बाहिरिन थाले।
द्वन्द्वका समयमा राज्यले समेत नागरिकका मौलिक हकको ख्याल नगरेका कारण संस्थागत र व्यक्तिगत पहलमा महिला युवाले बालिका जोगाउने अभियान थाले। अर्थात ‘बालिका शिक्षा’। दाङ सदरमुकाम घोराही आसपासका केही महिला युवाहरूले द्वन्द्वपीडितका बालबालिका पढाउने जोहो सुरु गरे।
व्यक्तिगत पहलले नपुग्ने भएपछि २०५० सालमा जिल्ला प्रशासन कार्यालय दाङमा बिमला योगीको अध्यक्षतामा विधिवत् दर्ता गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रमार्फत अन्य कार्यक्रमका साथसाथै फरक जिम्मेवारी थपियो ‘बच्चा पढाउने’।
ऋणधन गरेर आधादर्जन महिला युवाले द्वन्द्वमा परेका र विपन्न बच्चा पढाउन थालेपछि अहिले नेपाल महिला सामुदायिक सेवा केन्द्र ‘बच्चा पढाउने संस्था’का रूपमा परिचित बनेको छ। उक्त संस्थाको सहयोगमा हालसम्म करिब १५ सय विद्यार्थीले स्कुल तथा उच्चशिक्षाको अध्ययन पूरा गरिसकेका छन्।
द्वन्द्वकालमा दाङका विभिन्न गाउँमा सामूहिक हत्यापछि महिला आयोगले नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई त्यहाँको अवस्था बुझ्न अनुरोध गर्यो। ती गाउँहरूमा जाँदा मृतक परिवारका महिलाहरू भारत जाने तरखरमा थिए। भारत पुग्दैगर्दा छोरीहरू सुरक्षित नहुन सक्छन् भन्ने लागेर बिमला योगीको समूहले मृतकका सन्तानलाई विद्यालयमा भर्ना गर्न सहयोग सुरु गर्यौं।
सामाजिक अभियन्ता विमला योगीले राज्य र विद्रोही पक्षको गाउँमा उपस्थिति हिंसात्मक भएपछि आफूहरूले फरक काम थालेको बताउछिन्। त्यो काम यतिबेला जिम्मेवारी जस्तै बनेको छ। नागरिकको अपेक्षा बढेसंगै बिमला योगीले बालिका शिक्षा अभियान सफल बनाउन नेपाल महिला सामुदायिक सेवा केन्द्रको संस्थागत ४० लाख र आफ्नो व्यक्तिगत १० लाख जम्मा गरेर अक्षयकोष स्थापना गरेकी छन्।
नयाँ शैक्षिक सत्र सुरु हुने समयमा बिमला योगी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपाने र उपाध्यक्ष विष्णु गिरीका फोनमा तारन्तार घण्टी बज्न थाल्छ। बच्चाको भर्ना, पोशाक र शैक्षिक सामाग्रीका लागि जनप्रतिनिधिले समेत अनुरोध गर्छन।
स्थापनाकालदेखि द्वन्द्व रुपान्तरण, मानसिक स्वास्थ्य, महिला तथा बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, सशक्तिकरण, लैंगिक समानता, मानव अधिकार, विपद् व्यवस्थापन तथा पर्यावरण संरक्षण, सामाजिक न्याय तथा समाजमा दिगो शान्ति स्थापनाका लागि सामाजिक अभियान/कार्यक्रमहरू संचालन गरिरहेको नेपाल महिला सामुदायिक सेवा केन्द्रले आज अर्थात भाद्र ३ गते ३३ औं वार्षिकोत्सव मनाउदै छ।
महिला मात्रले स्थापना गरेको, महिला मात्र कार्यसमितिमा रहेको र साधारण सदस्य पनि महिला मात्र रहेको नेपाल महिला सामुदायिक सेवा केन्द्रमा ९० प्रतिशत कर्मचारी पनि महिला नै छन्। आफ्नै भवनमा रहेर सामाजिक सेवामा रहेको यो संस्थाले ३३औं स्थापना दिवस मनाई रहँदा दर्जनौं बालबालिका खुसी साट्न अनि रमाउन आउछन्।
रोल्पा, रुकुम र दाङमा माओवादी द्वन्द्वमा यौनहिंसा खेपेका व्यक्तिहरूसंग नागरिकका आवाजसंगको सहकार्यमा मानसिक स्वास्थ्य र परिपुरणमा काम गरिरहेको छ भने प्रेरणा परियोजना मार्फत स्वास्थ्यका सवालमा दाङमा काम गरिरहेको छ। कृषि क्षेत्रमा भिटा परियोजनामार्फत कृषकसंग पनि निरन्तर काम गरिरहेको छ।
सेनेटरी प्याड वितरण
सामान्यतयाः बालिकामा ९ वर्षदेखि १५ वर्षसम्मको बीचमा महिनावारी चक्र सुरु हुन्छ। अपरिपक्व उमेरमा योनाङ्गबाट रगत आउने र समाजले लाज अनि फोहरका रुपमा चित्रण गरेको महिनावारीबारे गतिलो जानकारी नहुँदा महिलाका लागि बोझ बन्ने गरेको छ। घरायसी वातावरण गतिलो नहुनु, विद्यालयमा महिनावारी सम्बन्धी पर्याप्त जानकारी नदिइनुले पनि किशोरीलाई पिरोल्ने गरेको हुन्छ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङद्वारा प्रवर्द्धन गरिएको लैङ्गिक हिंसा पुनर्स्थापना केन्द्र दाङद्वारा उत्पादन गरिएको सेनेटरी प्याड साविक राप्ती क्षेत्रका विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत किशोरीहरूलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिने गरेको छ।
को हुन विमला योगी?
दाङ घोराही उपमहानगरपालिका १७ चौघेरामा जन्मेकी विमला योगी कुनै बेला स्थायी शिक्षक थिइन्। २०२५ सालमा जन्मेकी विमलाले समाजशास्त्र र अर्थशास्त्रमा एमएसम्म अध्ययन गरेकी छन्। उनले पढाउने समयमा स्कुल आउने धेरै बालबालिकासँग एकसरो मात्र कपडा हुन्थ्यो।
उतिबेला प्रायः कसैका खुट्टामा जुत्ता हुँदैनथ्यो। पोशाक, किताब, कापी र कलमको अभाव उस्तै। शिक्षक भएपछि उनले समाज र शिक्षा धेरै कुरा बुझिन्। थोरै मान्छेले पढेर मात्रै समाज परिवर्तन हुँदैन भन्ने उनलाई लाग्यो।
उनले धेरै सोचेपछि हरेक घरका आमाहरू आर्थिक रूपले सबल नहुदासम्म समाज विकास हुदैन भन्ने बुझिन्। केही समयपछि स्थायी शिक्षकबाट राजीनामा दिएर उनले आफ्नै यात्रामा ‘यू-टर्न’ मारिन्। महिलाको आर्थिक अवस्था सुधार गर्ने मुख्य उद्देश्यले २०५० सालमा ‘नेपाल महिला सामुदायिक सेवा केन्द्र’ नामको संस्था खोलिन्।
संस्थाले अधिकारसँगै शशक्तिकरण गर्दै जाँदा आर्थिक रुपान्तरणका लागि आफ्नै नेतृत्वमा ‘महिला सामुदायिक लघुवित्त वित्तिय संस्था २०६० सालमा’ पनि सुरु गरिन्। यो लघुवित्तको उद्देश्य महिलालाई आर्थिक रुपमा सबलीकरण गराउनु थियो।
महिलालाई पैसाको कारोबारी बनाउन चेतना अभिवृद्धि गर्दै आत्मनिर्भरता तर्फ अघि बढाउन योगीले धेरै पापड बेलिन्। केही वर्षअघि जाल्पा लघुवित्तसंग महिला सामुदायिक लघुवित्त मर्ज गरेर जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएर राष्ट्रियस्तरको लघुवित्त संस्थाको नेतृत्व समेत गरिन्।
त्यसको केही समयमा जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त मर्ज भएर बनेको मातृभूमि लघुवित्त वित्तिय संस्थाको संचालक समितिको सदस्यमा कार्यरत छिन्।
नेपाल महिला सामुदायिक सेवा केन्द्रको स्थापना दिवसका असरमा शुभकामना!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया