बिएल संवाददाता
मेरा मित्र आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएकोँ घडीमा
पहाडकोँ चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसालमात्र ठिङ्ग उभिनसक्छ…
केही दिनअघि नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटा कवितांशसहितको पोस्टर सामाजिक सञ्जालमा राख्दै भोटको अपिल गरे। कुनै बेला दाङका वामपन्थी धारका साहित्यकार स्व. नेत्रलाल अभागीका यी कवितांशको सारभावलाई पोखरेलले पटक पटक आफू र आफ्नो प्रतिरक्षाको बिम्ब पनि बनाउँदै आएका छन्।
दाङको क्षेत्र नं २ का उम्मेदवार पोखरेलको यो छैठौं चुनावी प्रयास हो। यसअघि प्रतिनिधिसभाका पाँच चुनावमध्ये उनले एउटामात्रै चुनाव जितेका छन्। र प्रदेशसभामा एकपटक। गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि आकष्मिकरुपमा घोषणा भएको प्रतिनिधिसभाको यो निर्वाचन भने उनको राजनीतिक जीवनको एउटा निकै कठीन परीक्षा पनि हो। केपी शर्मा ओलीको आफ्नै मनमौजीमा चलिरहेको नेकपा एमालेभित्रै उनले आफ्नो दुर्लभ पहिचान पनि बनाएका छन्। पार्टीभित्र ओलीको विगबिगीसँगै आफूलाई उनको निकटमा राखिराख्न र पार्टीको महासचिवजस्तो जिम्मेवारी उनका पार्टीगत राजनीतिक जीवनमा ठूला उपलब्धी हुन्। तर चुनावी अभ्यासमा कैयौंपटक गुल्टिएका पोखरेल फेरि उनको स्व. मित्र नेत्रलाल अभागीले भनेजस्तै ‘ठिङ्ग उभिने…’ प्रयासमा छन्।
दाङ आफैमा नेपाली राजनीतिको एउटा ऐतिहासिक र रणनीतिक स्थान हो। त्यसमा काँग्रेसी जगजगीबाट पटकपटक बचेका पोखरेलका लागि यसपालि अनेकन चुनौतीहरू छन्, चुनावको पहाड छिचोल्नका लागि। एकातिर पार्टीभित्रै ‘शंकरले पार्टी कब्जा गरिहाल्छ कि? भनेर डराइरहेका विष्णु पौडेलहरूको डर अनि अर्कोतिर हुरिबतासजस्तै गरि सुसाइरहेका ‘घण्टी’हरूको बिगबिगी। त्यसमा उनको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका खानदानी राजनीतिबाट उम्मेदवार बनेका किरणकिशोरको रापताप। यी सबबाट भित्रभित्रै अत्तालिइरहेका पोखरेललाई फेरि पनि डर छ, ‘यो प्रयास पनि असफल भयो भने…’
प्रतिनिधिसभाको खुट्किलो उक्लिने उनको पहिलो प्रयास अर्थात् २०५१ बाहेक अरु हरेक चुनावहरू शंकरका जीवनमा ‘पनौती’ बनेर आएका छन्। त्यो बेला अहिलेको निर्वाचन क्षेत्र दाङ क्षेत्र नं ३ मा पर्थ्यो। नेपाली काँग्रेसको विद्यार्थी राजनीतिबाट भर्खरै पार्टी राजनीतिमा पाइला राखेका दीपक गिरीको कडा टक्करलाई पन्छाउँदै उनले २०५१ सालको चुनावी खुट्किला पार गरे। २०४८ सालको चुनावबाट स्थापित प्रतिनिधिसभा विघटन भएपछिको यो मध्यावधि निर्वाचन थियो। त्यसपछि २०५६ सालमा आम निर्वाचन भयो र त्यसमा पनि पोखरेल उम्मेदवार भए। नेकपा एमालेबाटै चुनाव लडेका उनलाई यो पालि भने नेपाली काँग्रेसका कृष्णकिशोर घिमिरेले पराजित गरे। यससँगै उनको प्रत्यक्ष निर्वाचनबाट संसदीय चुनावी यात्रामा लागेको ब्रेकलाई उनले २०६४ सालको संविधानसभा निर्वाचनमा अलि खुकुलो पारे। समानुपातिक निर्वाचनबाट उनी संविधानसभा छिरे। २०७० सालमा दोस्रो पटक संविधानसभाको निर्वाचन भयो। यसपालि उनी दाङको क्षेत्र नं ४ बाट चुनाव लडे। २०६४ सालमा दाङका पाँचै निर्वाचन क्षेत्रमा नील भएको नेपाली काँग्रेसले यसपालि दाङमा सबै क्षेत्र जित्यो। त्यत्तिधेरै राजनीतिमा सक्रिय नभएका तर काँग्रेसका पुराना नेता बुद्धिराम भण्डारीले पोखरेललाई पराजित गरे। त्यसपछि उनी २०७४ सालको निर्वाचनमा प्रदेशतिर झरे। संघीय व्यवस्थापछि पहिलोपटक भएको यो निर्वाचनमा उनी दाङ क्षेत्र नं २ को ‘क’बाट लडेका थिए। प्रदेशसभाको निर्वाचनले उनलाई जितमात्रै दिलाएन बरु मुख्यमन्त्रीसम्मको यात्रा तय गरिदियो। बुटवलमा रहेको लुम्बिनी प्रदेशको राजधानीलाई दाङ ल्याउने क्रममा उनले रुपन्देही र आसपासका नेताहरूलाई थुप्रै लडाईं लड्नुपर्यो। प्रदेशसभाको यो यात्रा पूरा गरेर उनी फेरि संघीय संसदमा उक्लिने प्रयास गरे। तर २०७९ मा उनलाई नेपाली काँग्रेस र माओवादीको चुनावी गठबन्धन निकै भारी पर्यो। काँग्रेस-माओवादीका साझा उम्मेदवार रेखा शर्माले उनलाई झिनो मतले पराजित गरिन्। दुई दलको गठबन्धन हुँदा पोखरेलको यो संसदीय यात्रालाई मात्रै १९३ मतले ब्रेक लगाइदियो। रेखाले २६ हजार ८ सय ७७ मत पोखरेल २६ हजार ६ सय ८१ मतमै रोकिए। पार्टी राजनीतिमा पनि सिंढी उक्लिन खोजिरहेका उनका लागि यो एउटा ठूलै धक्का थियो। यतिमात्रै होइन उनकै गृहजिल्ला दाङमा यसपालि यहाँका प्रतिनिधिसभाका तीनवटै र प्रदेशसभाका ६ वटै क्षेत्र एमालेबिहीन भयो। रेखा यसपालि चुनावी मैदानमा छैनन्। माओवादी पनि छैन। कम्युनिष्टका हाँगाबिंगा बुटुलेर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ।
यसपालि पनि पोखरेललाई चुनाव जित्नका लागि अनेकन चुनौती छन्। र, पनि एउटा गजबको संयोग छ त्यो हो नेपाली काँग्रेससँगको आमने-सामने। २०५६ सालमा पोखरेललाई नेपाली काँग्रेसका कृष्णकिशोर घिमिरेले पराजित गरे। २०७० सालको प्रदेशसभामा पोखरेलले काँग्रेसकै कमलकिशोर घिमिरेलाई पराजित गरे। र, यसपालि फेरि नेपाली काँग्रेसले किरणकिशोर घिमिरेलाई चुनावी मैदानमा उतारेको छ। काँग्रेसका यी घिमिरे भर्सनहरू सहोदर दाजुभाई हुन्। ३२ वर्षे तन्नेरी हुँदा संसदीय यात्रा नापेका पोखरेलका राजनीतिक पाइलाहरू राजनीतिक जीवनको अन्तिम परिक्षा दिने बेलामा लगभग ३९ वर्षका अर्का उम्मेदवारले सिधा चुनौती दिइरहेका छन्। ‘नयाँ’ अनि तन्नेरी पुस्ताले राजनीतिमा जबर्जस्त स्थान जमाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले ३२ वर्षीय इन्जिनियर बिपीन आचार्यलाई चुनावी मैदानमा उतारेको छ। एकातिर राजनीतिको खानदानी विरासतबाट खारिएर आएका काँग्रेसका उम्मेदवार अनि ‘नयाँ’ पुस्ताले ताकिरहेका रास्वपाका उम्मेदवार। देशैभरि चलिरहेको ‘घण्टी’को बतास र झन् ‘नयाँ’ बनेर गगन थापाका रापसँगै हुँइकिन थालेको नेपाली काँग्रेस पोखरेलका प्रमुख चुनौती बन्नसक्ने विश्लेषण दंगालीको छ। २०७९ सालमा पहिलोपटक उम्मेदवार खडा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले काँग्रेस-माओवादी गठबन्धनको त्यो बिगबिगीका बेला पनि १५८६१ मत ल्याएका थिए। अहिले चलिरहेको घण्टीको झन् ठूलो बतासले त्यो मतलाई नउडाउला बरु अरु तान्न पनि सक्ने डर यतिबेला पोखरेलमात्रै होइन अरु उम्मेदवारहरूलाई पनि छ। त्यही मतकै कारण पनि उत्साहित भएका आचार्य यहाँ चिनिएका उम्मेदवार भने होइनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिमा डोर्याउन र उनको राजनीतिक यात्रालाई रणनीतिक बनाउन भूमिका खेलेका उनी सानैदेखि काठमाडौंमा हुर्किएका हुन्। र उतै व्यवसायमा जमेका व्यक्ति पनि हुन्।
२०१९ सालमा दाङको बिजौरी हाडिमेमा जन्मिएका पोखरेलका परिवारलाई छोरो कम्युनिष्ट बनेर बिग्रियो भन्ने निकै डर थियो। स्कुल जीवनदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका शंकरलाई त्यही डरका कारण भारतमा पढ्न पठाए।
तर पोखरेल भारतमै फेरि कम्युनिष्ट आन्दोलनमा जोडिए। त्यहाँ पढ्दा अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षसम्म बनेका पोखरेल नेपाल फर्किएपछि अनेरास्ववियूको केन्द्रीय कोषाध्यक्ष हुँदै अध्यक्षसम्म बने। नेपाल फर्किएपछि त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा उनै दीपक गिरीसँग उनी भिडेका थिए। जसलाई उनले २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित गरे।
पार्टी राजनीतिमा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य नहुँदै उनले पार्टीको प्रचार विभाग प्रमुख र मुखपत्र ‘नवयुग’ को प्रधान सम्पादकको जिम्मेवारी पाइसकेका छन्। २०६४ सालमा समानुपातिक उम्मेदवार भएका बखत उनी सञ्चारमन्त्रीसमेत भएका थिए। पार्टी अध्यक्ष केपी ओलीका नजिकका अनि विश्वासपात्र पनि मानिने पोखरेल अहिले भने पार्टीका महासचिव पनि हुन्। पार्टी अध्यक्षको मन जित्न त उनी सफल देखिएका छन्। त्यसैले कतिपयलाई उनलाई ओलीका उत्तराधिकारीका रुपमा लिन्छन्। तर आम कार्यकर्ताहरूसँग उनको राजनीतिक र आत्मीय दूरी भने पनि निकै गहिरो छ। अन्तर्मुखी स्वाभावका उनी स्थानीय मतदाताहरूसँग पनि उत्ति धेरै खुल्दैनन्। किनकि उनको जीवन दाङमा भन्दा धेरै काठमाडौंमै बित्यो। तर यसपालि चुनावी हावा यसरी हुरी बनिदिएको छ कि, पोखरेल आफै चुनावी डील गर्न अघि सरिरहेका छन्, सारा सहयोगीहरूलाई साइड लगाएर।
२०५१ सालमा जसरी उनको तन्नेरी पाइलाहरूले संसदीय यात्रा नापेका थिए तिनै पाइला फर्काउनका लागि ३१ वर्षपछि फेरि उनी चुनावी मैदानमा छन्। र, सम्भवत: उनी राजनीतिक जीवनको अन्तिम परीक्षा पनि दिँदैछन्। एउटा यस्तो परीक्षा जो हरेक राजनीतिज्ञका लागि अनिवार्य तर निकै कठीन परीक्षा हो।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया