बिएल संवाददाता
नेपाली कांग्रेसमा जेनजी आन्दोलनपछि अँध्यारो छायो। कांग्रेसभित्र अहिले त्यो अँध्यारोको कारण एक आपसलाई चिन्दैनन् र देख्दैनन्। देख्दा पनि अहिले शत्रु भावले देख्छन्। त्यो अँध्यारो अहिले कांग्रेसभित्र कहाँबाट आयो? त्यो अँध्यारोको प्रणेता को हो?
यौटा कुरा अँध्यारोको प्रणेता जो हो त्यो उज्यालोको पनि हो। जस्तो कि उज्यालोको प्रणेता सूर्य हो भने अँध्यारो सूर्य अस्तपछि हुनाले त्यसलाई पनि अँध्यारो कै प्रणेता मानौं।
अहिले कांग्रेसमा यही अवस्था विद्यमान छ। अहिले कांग्रेसको सत्ता गगनको हातमा छ। सत्ता जोसँग हुन्छ उसैसँग अधिकार हुन्छ। अहिलेको कांग्रेसभित्र छाएको अँध्यारोलाई उज्यालोमा ल्याउन सक्ने भनेकै गगन हुन्। कांग्रेसभित्रको अँध्यारोको कारण जन्मेको यो अन्तर विद्रोहलाई हटाउन उज्यालोमा आउन र ल्याउन जरुरी भइसकेको छ।
अहिले सभापति गगन थापा अर्थात संस्थापन समूह र इतर समूह दुवैको आफ्नो हठ र दम्भका कारण कांग्रेसभित्र अरु अँध्यारो बढ्दै छ। अहिले यो हठ, दम्भ, अहंकारले कसैले केही जित्दैन। ‘मै हुँ’ भन्ने घमण्ड छोड्नुस्। न्यायाधीश, जसले मृत्युदण्डको फैसला सुनाउछ उसको पनि मृत्यु हुन्छ, महाकालको पुजारी जसले नित्य महाकालको पूजा गर्छ त्यसको पनि मृत्यु हुन्छ, डाक्टर जसले धेरैको जीवन बचाउँछ उसको पनि मृत्यु हुन्छ। अनि यहाँ के को घमण्ड र अहंकार पालेर कांग्रेस दुई फ्याक हुन खोज्दै छन्?
कांग्रेस मिलाउने एक ढिक्का बनाउने दायित्व र जिम्मेवारी तुलनात्मक रुपमा सबैभन्दा बढी पार्टी सभापति कै हो। गगनले सूर्यको सत्ता जस्तै अँध्यारोमा रहेको कांग्रेसलाई उज्यालोमा ल्याउनु पर्छ।
कांग्रेसभित्र गगनभन्दा धेरै सिनियर र अभिभावक जस्ता नेताहरू इतर समूहमा छन्। यिनीहरूको तुलनामा गगन उमेर र अनुभवले कनिष्ठ होलान् तर यिनले उदार भावले काम गरेर कांग्रेस इतर समूहलाई समेट्न सके यिनको कार्यशैली र विद्वताले आफ्नो उचाइ बढाएर इतर समूहका सिनियर नेताहरूकै समकक्षीमा पुग्न सक्छन्। कांग्रेसभित्र भारीपन देखिन थाल्ने छ। एक्लै बढन खोजे, इतर समूहलाई समेट्न सकेन भने उनी झन् झन् पुड्को हुदै जाने छन्।
अहिले कांग्रेसले बीपी स्मृति दिवस सस्थापन समूह र इतर समूह दुवैले अलग–अलग स्थानमा स्मृती दिवस मनाए। यो कार्य कांग्रेसको लागि आफैंमा व्यंग होइन? गगनले यो कुरालाई कसरी हेरेका छन्। अहिलेको संस्थापन समूहबाट ठूलै समूह कांग्रेसबाट पलायन हुने अवस्था सिर्जना भएको छ। यो पलायनको स्थितिको सिर्जना इतर समूहबाट होस् या संस्थापन समूहबाट तर यो स्थिति सिर्जना गर्ने सबैभन्दा बढी संस्थापन समूहबाट भएको देखिन्छ। विशेष अधिवेशनबाटै त्यस्तो रणनीति अख्तियार गर्दै तत्कालीन संस्थापन समूहलाई इतर समूहमा परिणत गरेका हुन्।
सर्वोच्चमा पुनरावलोकनको रिट
अहिले कांग्रेस इतर समूहबाट सर्वोच्च अदालतमा ‘अन्याय भयो’ भन्दै पुनरावलोकनको रिट निवेदन गरेका छन्। अर्कोतिर साउनको अन्ततिर इतर समूहले राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन्। संस्थापन समूहले ‘एनसी फर एनसी’को राष्ट्रव्यापी कार्यक्रमको घोषणा गरेको छ। कांग्रेसभित्र द्वन्द चरममा पुगेको छ। अहिले सर्वोच्चमा दिएको रिटको निवेदन कांग्रेस भित्र पुन दुवै समूहमा कौतुहल जागेको छ के हुन्छ? भनेर।
अब पूर्वसभापति शेरबहादुर देउवा पनि नेपाल आउदै गरेको समचारले इतर समूहको मनोबल र उत्साह एकाएक बढेको छ भने संस्थापन समूहमा देउवाको आगमन र सर्वोच्चको पुनरावलोकनको रिटले मलिन र हारेको जस्तो महसुस गरेको कुरा संस्थापन भित्रकै उच्च नेताहरूको अनुहारबाट देखिँदै छ।
अहिले पनि केही बिग्रेको छैन। सभापति गगनले इतर समूहलाई समेट्न सके भने संस्थान समूह र इतर समूह समेत यही कांग्रेसभित्र रहन सक्ने राजनीतिक जानकार बताउछन्। अन्यथा भोलि उत्पन्न हुने परिस्थितिमा संस्थापन समूहमा रहेका धेरैजसो अप्ठ्यारो परिस्थितिमा पर्न सक्छन् जस्तो अहिले इतर समूह छन्।
(लेखक ओम आचार्य मोरङ कांग्रेसका सल्लाहकार हुन्।)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया