बिहिबार, ०५ नोभेम्बर २०२६

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।

मिस्रीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटका क्रममा प्रधानमन्त्रीले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे।

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरे। नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि प्रधानमन्त्रीले चासो राखे।

शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिस्रीले नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए। उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरूले तयारी गरिरहेको बताएका थिए।

साथै, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए। 

उनले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको पनि जानकारी गराए। आजै यो मार्गमा रेल परीक्षण सञ्चालन समेत भएको भारतीय विदेश सचिवले प्रधानमन्त्री शाहलाई जानकारी गराए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!