तेजन खड्का
थोरै लगानी र दृढ इच्छाशक्तिले पनि गाउँ सुन्दर बनाउन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण बनेका छन् उर्लाबारी-९ डाँडाटोलका ५८ वर्षीय हर्क थेबे।
विदेशबाट परिवारले पठाएको खर्चबाट थोरै बचत गर्दै उनले तीन वर्षअघि डाँडाटोलदेखि आमबारी बजारसम्मको सडक दुवैतर्फको जमिन सम्याउने कामबाट यो रूपान्तरण सुरु गरे। करिब दुई लाख पचास हजार रुपैयाँ खर्चेर जमिन सम्याएपछि उनले आफ्नै पहलमा ‘असारे’ फूलका बिरुवा रोपे। सुरुमा कतिपयले हाँसो ठट्टा गरे, केहीले आलोचना पनि गरे, तर उनले हार मानेनन्।
आफ्नै सानो नर्सरीमा फूलका बिरुवा हुर्काउँदै हर्क थेबेले निरन्तर तीन वर्षसम्म स्याहार, सिँचाइ, मलजल र गोडमेल गर्दै आइरहेका छन्। अहिले सो सडकखण्ड दुवैतर्फ सेतो, रातो, बैजनी, गुलाबी लगायत रंगीचंगी फूलले सजिएको छ। पहेंलो र नीलो फूलका बिरुवा पनि क्रमशः बढ्दै छन्।
फूल फुल्न थालेपछि त्यो स्थानमा स्थानीयदेखि बाह्य आगन्तुकसम्म फोटो खिच्न आउन थालेका छन्। कालोपत्रे सडक दुवैतर्फ फूल फुल्दा त्यो क्षेत्र हेर्दा कुनै पर्यटकीय स्थल जस्तै देखिन थालेको छ।
थेबे भन्छन्, ‘विद्युत पोलमा गाईबस्तु बाँध्ने, अन्न सुकाउने, फोहोर फाल्ने, निर्माण सामग्री थुपार्नेजस्ता प्रवृत्तिले ठाउँको सौन्दर्य बिग्रिन थालेको थियो। साथीहरूबाट सुझाव पाएँ- फूल रोपौं भनेर। केहीले हाँसे पनि, म अडिग रहेँ। अहिले मानिसहरू फूल हेरेर रमाउँछन्। यसले मलाई मात्र होइन, सिंगो गाउँलाई खुशी बनाएको छ।’
आज डाँडाटोलका बासिन्दाले सडक छेउमा गाईबस्तु बाँध्दैनन्, न अन्न सुकाउँछन्। बरु फूल बगैंचाको सौन्दर्य जोगाउन सघाउँछन्।
उनको आत्मनिर्भर प्रयासले गाउँमा स्वामित्व र गौरवको भावना विकास भएको छ। सरकारी सहयोगबिनै एक व्यक्तिको सपना अहिले सिंगो समुदायको पहल र प्रेरणाको केन्द्र बनेको छ।
उर्लाबारी-९ का वडाध्यक्ष नरबहादुर मोक्तान थेबेले गरेको कामको खुलेर प्रशंसा गर्छन्। अध्यक्ष मोक्तानले भने, ‘स्थानीय स्तरमै यति राम्रो उदाहरण बनेको काम प्रेरणादायक छ। वडा कार्यालयबाट सक्दो सहयोग गरिनेछ।’
उनका अनुसार व्यक्तिगत तहबाट सुरु भएको यस्तो सरसफाइ र सौन्दर्य अभियानलाई संस्थागत बनाउन वडा कार्यालयले आवश्यक प्राविधिक तथा स्रोत साधन सहयोग गर्ने तयारी गरिरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया