हामीलाई भारतको मात्र चिन्ता छ, चीनतिर गैसक्यो ३६ हेक्टर भूभाग

फोटो: बीएल

नेपालले उत्तरी चार जिल्लाको उत्तरी सिमानामा ३६ हेक्टर भूभाग गुमाएको एक अध्ययन प्रतिवेदन प्राप्त भएको छ।प्रतिवेदनमा नेपालको संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाका चारवटा नाका आसपास रहेका ११ वटा नदीले बाटो फेर्दा त्यति भूभाग गुमेको उल्लेख छ। 

अध्ययन नेपालको कृषि मन्त्रालयअन्तर्गत नापी शाखाले गरेको हो।अध्ययनमा पाँचजना सर्भेयर र २० जना नाप नक्सामा सहयोग गर्ने जवानहरूको संलग्नता रहेको थियो।

नेपालको यो भूभाग चीनले हडपेको भन्दा पनि तिब्बती सीमा क्षेत्रमा बढ्दो सडक सञ्जालका कारण त्यहाँका नदीहरू नेपालको क्षेत्रमा पसेर नेपाली भूभाग सीमापारि पुगेर यस्तो भएको हो।

नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू शीर्षक दिएर तयार गरिएको प्रतिवेदनमा त्यहाँको भौगोलिक अवस्थाकै कारण त्यस्तो परिस्थिति सिर्जना भएको हो । 

चीनले नेपाल-चीन सीमानासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई यही गतिमा बढाउँने हो भने नेपालले हजारौं हेक्टर जमीन गुमाउन सक्ने सम्भावना पनि प्रतिवेदनमा उल्लेख छ।  

नेपाल-चीन सिमानामा ४३ वटा भञ्ज्याङ नाका रहेको उल्लेख गर्दै प्रतिवेदनमा ६ वटा व्यापारिक नाका खुला गरिएको बताइएको छ। विकास निर्माणको काम पनि यिनै नाकाहरूमा बढी भएकाले नेपालले आफ्नो भूभाग पनि यिनै नाका छेउछाउमा गुमाइरहेको छ।

नेपाल चीन सिमानामा नेपालतिर नदीको वहावले ठुला ठुला मैदान बनाइरहेको र ती मैदानहरू नदीले चीनतिर पारिदिदा नेपालले आल्नो भूभाग मात्र गुमाइरहेको छैन, नेपाल चीनबीच विवाद पनि बढ्ने सम्भावना देखिएको छ। यही क्रम बढ्दै जाने हो भने त्यस्ता भूभागमा चीनले चाँडै नै  दावी गरेर सुरक्षा पोष्टहरू बनाउँन सक्ने देखिन्छ।

प्रकाशित मिति: : 2019-03-29 08:36:09

प्रतिकृया दिनुहोस्