राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी

प्रतिकारत्मक तस्बिर

राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ। नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको बताए।

पक्राउ पर्नेमा काभ्रेपालान्चोक पाँचखाल नगरपालीका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालीका १३ कालीममाटी बस्ने बर्ष १९ को सुभाष श्रेष्ठ,बर्ष १९का कुमार तामाङ, बर्ष १८ का मनिष घिमिरे, बर्ष २१ बर्र्षीय अन्जन बराल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौं महानगरपालीका ३२ सुविधानगर बस्ने बर्ष २५ को सुमन पौडेल रहेका छन्।

घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको भेटिएको प्रहरी बताउँछ।

जनता बैङ्कका खातावाल गोपालमान राजवहाकले आफ्नो खाताबाट पटक–पटक गरेर १९ लाख ९९ हजार रुपैयाँ निकालेको मोबाइलमा मेसेज आएपछि गत मङ्सिर ८ गते प्रहरीलाई उजुरी गरेका थिए।

प्रहरी प्रवक्ता बोगटीका अनुसार सूचना प्राप्त गर्न साथ परिसरको विशेष टोलीले सम्बन्धित बैङ्कका उच्च पदाधिकारीसँग छलफल गरेका थिए।पीडितको खाता जाँच गर्दा पीडितलाई दिएको चेकबुक बाहिरबाट नयाँ चेकबुक निकाल्न सफल भइ नयाँ चेकबाट पैसा निकाल्न सफल भएको पाइएको थियो।

खोजतलास गर्ने क्रममा मंसिर ९ गते पीडितको खाताबाट पैसा निकाल्न पुनः चेक बोकेर एक जना व्यक्ति जनता बैङ्क न्युरोड शाखामा पुगेको सूचना प्रहरीले पाएको थियो । प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी थप सोधपुछ पछि थप ५ पाँच जनालाई पक्राउ गरिएको थियो।

उनीहरुको साथबाट अठार लाख नगद,विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी २९० थान, नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ थान,विभिन्न व्यक्तिको हस्ताक्षर र नाम उल्लेख गरिएको डाइरी २ थान,बैंकहरुको स्टाम, एनआईसी एसिया बैकको स्टेटमेण्ट ९८ पाना लगायतका बस्तु पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

अभियुक्तहरुले बैङ्कमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाइ लाखौँ रुपैयाँ निकाल्न सफल भएको प्रहरीको भनाइ छ।

कयौँ व्यक्तिहरुको नाममा रहेको खाताको सयौँ थान सक्कली चेकसमेत लिन सफल भएको देखिएको साथै सो खातावालहरुको सक्कली भिषा कार्ड समेत बनाइ प्रयोगमा ल्याएको देखिएकोले सम्बन्धित बैङ्कका कर्मचारीहरुको मिलोमतो तथा लापरवाही समेत देखिएको हुँदा यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रहरी प्रवक्ता सुवेदीले भने, ‘अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँचाहिँ बरामद भइसक्यो। त्योबाहेक कुन कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं।’

६ जनामाथि बैङ्किङ कसुरसम्बन्धी मुद्दामा पाटन उच्च अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए।

घटनाको चर्चा सेलाउन नपाउँदै ७ असोजमा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको खुलेको थियो।

प्रकाशित मिति: : 2019-11-27 11:49:49

प्रतिकृया दिनुहोस्