मार्सी: संसारकै हाइअल्टिच्यूट ब्रान्ड (भिडियो सहित)

मार्सी: संसारकै हाइअल्टिच्यूट ब्रान्ड (भिडियो सहित)

मार्सी धान –१
दुई दशकअघि साझा प्रकाशनले २०४६ सालमा प्रकाशन गरेको प्राज्ञ रत्नाकर देवकोटाद्वारा लिखित पुस्तक ’कर्णालीको अथःइति’ मा मार्सी उत्पादन हुने क्षेत्रदेखि मार्सीको उत्पादन परम्परा र फल्ने ठाउँको उचाइँ आदिबारे उल्लेख छ । उनले विश्वको उचो स्थानमा फल्ने धान भनेर लिखित रुपम पहिलोपटक लिपिवद्ध गरेका थिए । उक्त पुस्तक जुम्ली मार्सीबारे व्यवस्थित अभिलेख समेटिएको पहिलो पुस्तक हो । 

नेपालको राजनीति जगत अपेक्षितभन्दा अनपेक्षित घटनामा बढी रुमली रह्यो । जनआन्दोलनपश्चात बढो सकसका साथ संविधान बन्यो । संविधानमा रहेर आमजनताको पक्षमा ऐन-कानून बन्ने सबैको अपेक्षा थियो । तर, शासकहरु शैक्षिक माफिया र भ्रष्टाचारीको चंगुलमा फस्दा संविधानलाई कार्यान्वयन गर्न बनेका ऐनहरुमा उनीहरुकाे प्रभाव बढ्यो । राजनीतिमा बढेको उक्त प्रभावले नेपाली खाद्य बजारमा गुनाम बनेको कालीमार्सी एकाएक चर्चामा आयो । कुनै अमुक व्यक्ति वा समूहको स्वार्थसिद्घ गर्नलाई सहायता बन्न पुगेको कालीमार्सी नेपाली खाद्य बजारमा अर्गानिक चामलका रुपमा ब्रान्डिङ भयो । जब सरकार चिकित्सा शिक्षा विधेक संसदमा लिने अन्तिम तयारीमा थियो त्यही विषयमा असहमति जनाउदै जुम्लामा डा. गोविन्द केसी अनशन बसे । त्यति नै बेला प्रचण्ड र ओलीले बीएण्डसी अस्पतालका सञ्चालक मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमा मार्सी चामलको भात खाएको फोटो भाइरल भयो । फोटोलाई लिएर मार्सी व्यंग्यको विषयसँगै यो एक आन्दोलनको प्रतीक बन्यो । अनशनको समयमा सडकमा डा. केसीका समर्थक नेकपाका दुई अध्यक्षलाई मार्सीसँग जोडेर व्यंग्यात्मक रुपमा छेडछाड गरिरहेका थिए । सदनमा मार्सीे छलफको विषय बन्यो । धुम्बाराहीको एउटा कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भने ‘खासै मिठो हुँदो रहेनछ, ठेट्नो, ठेट्नो, मार्सीको भात खानु गल्ती थिएन । खाएपछि फेसबुकमा फोटो हाल्नु गल्ती भयो ।’

ओलीको उक्त प्रतिक्रिया आफूमाथि गरिएको तीव्र व्यंग्यलाई गरिएको हतारको सम्वोधन बन्यो । यसरी उनले गरेको सम्बाेधनले वर्षाैंदेखि मार्सीको भात खादै आइरहेका जुम्लीको भावनामा चोट पु¥यायाे । तर, मार्सी चामलकाे भातमा सेतो नुन मात्रै राखेर खाँदा पनि उही स्वाद दिन्छ, जुन स्वाद संसारका अरु परिकारमा भेटाउन मुस्किल छ भन्ने, ओलीलाई के थाहा ? यो कुरामा ओली बेखबर रहने दुस्साहस गरे तापनि मार्सीको स्वादबारे संस्कृतिबिद् सत्यमोहन जोशी भन्छन् ‘ऊ बेला काठमाडौंका राणाजीहरुले जुम्लाको त्यही मार्सीकाे भात खान्थे । मिठो र उत्तिकै पोषिलो ।’ यता प्रचलित एउटा उखान छ ’असौजे भेडाको झोल, कात्तिके चामलको भात ।’ सायद यो स्वाद ओलीको जिब्रोमा पुग्नै बाँकि छ । मार्सीको सन्दर्भमा ओलीको सम्बोधन हल्का र फिक्का ठहरिने निश्चित छ । 

नेपालको राजनीतिमा एक खालको तरंग पैदा गरेको मार्सी कहाँ र कहिलेदेखि उत्पादन हुन थाल्यो भन्ने कुरा खोजी गर्ने प्रयास गरिएको छ । जो हाम्रो जीवन हुर्काइसँग सम्बन्धित रहेको छ । 

सिङ्गो मानव जातिको इतिहासमा धानले उत्पादनको हजारौँ वर्षको अविछिन्न यात्रा तय गरेको छ । धानको आविष्कार ईशापूर्व दशहजारतिर भएको मानिन्छ भने भारतीय उपमहाद्वीपमा यसको खेती  ईशापूर्व ६५०० तिर भएको पाइन्छ । वास्तवमा नौ हजार वर्षदेखि हाम्रो भेगतिर धान खेती हुँदै आएको छ । (रामचन्द्र श्रेष्ठ, दशैंः एक विमर्श) 

दक्षिण कोरियाको ‘चुङबुक नेशनल यूनिभर्सिटी’ले ईशापूर्व  १२ हजारबाट धान उत्पादन सुरु भएको अनुसन्धान रिपोर्टमा दावी गरेको छ । पुराना अभिलेख, किम्वदन्ति र तथ्यहरु हेर्ने हो भने जुम्लाको मार्सी धानले सात सयदेखि एक हजार वर्ष बढीको यात्रा पूरा गरेको देख्न सकिन्छ । वेद लेखिनुपूर्व नै धानखेती गरिएको वेदमा उल्लेख छ । शाली(मार्सी), ब्रिही, सुका, सिमी र चुद्रा धान्य गरी पाँच जातका धानबारे ऋग्वेदमा उल्लेख छ ।

काली मार्सीलाई जंगली जातको धान पनि भन्ने गरिएकाे छ । नेपालमा जंगली धान मानव सभ्यता शुरु हुनुभन्दा पहिलेदेखि रहेको किम्वदन्ति छ ।यसलाई आधार मान्ने हो भने मार्सीको अस्तित्व धेरै अगाडिदेखि रहेको मान्न सकिन्छ । जुम्ली मार्सीको ओरिजिनबारे छुट्टै छलफलको आवश्यकता छ । तथापि मार्सीको महिमा र चर्चा यो एक वर्षको मात्र होइन । राणाकालदेखि हालसम्मका शासकको प्रिय बनेको मार्सी स्वाद र गुणले मात्र होइन, यसलाई फलाउन गरिने मेहेनत र उत्पादन परम्परादेखि फल्ने क्षेत्रको उचाईले समेत यसको चर्चाको इतिहास लामो भएको हो । 

मार्सीलाई विश्वको अग्लो स्थानमा फल्ने धान मानिन्छ । लेखक मोहन मैनालीले आफ्नो पुस्तक ‘देखेको देश’ मा जुम्लामा प्रचलित धान र जौको प्रतिस्पर्धात्मक कथालाई निकै कलात्मक ढंगले पस्केका छन् ‘हिउँदमा सुतेको जौ चैत २० गतेसम्म अल्छी गरेर सुतिरहन्छ । धानको बीउ व्याडमा आएको थाहा पाएपछि ऊ ब्यूँझन्छ । आफूभन्दा पाँच महिनापछि छरेको धानको बीउले जित्ला भनेर उसलाई आतुर हुन्छ । त्यसैले धानको बीउ ब्याडमा आएपछिका डेढ महिनामा जौ ह्वात्तै बढ्छ, फुल्छ, फल्छ र पाकिसक्छ ।’ 

उनी अगाडि थप्छन् ‘यो चानेचुने रोपाइँ होइन । संसारको सबैभन्दा अग्लो ठाउँमा धान फलाउन गरिने रोपाइँ हो । यो यस्तो वैज्ञानिक उपलब्धि हो, जुन बाँकि संसारका कुनै किसानले अनि कृषि वैज्ञानिकले हासिल गर्न सकेको देखिएको छैन । यो रेकर्ड संसारको सबैभन्दा लामो नङ पालेकोजस्तो अर्थ न बर्थको रेकर्ड होइन’ । (मोहन मैनाली, देखेको देश, रोपाइँ गर्ने ऋतु, पृष्ठ २९-३३)

उनको पुस्तकमा जुम्ली मार्सीले विश्व रेकर्ड हासिल गरेको भान हुन्छ । उनको यो लेख प्रकाशित हुनभन्दा धेरै वर्ष अगाडिदेखि नै जुम्लीहरुले गर्व गर्दै आएको प्रतिष्ठाको विषय हो । हालसम्म जुम्लाभन्दा अग्लो स्थानमा फल्ने धान भनेर अरु कतै अभिलेख पाइएको छैन । तर, कालीमार्सीको उचाईलाई आधिकारिक रुपमा कुनै पनि निकायले प्रमाणित गरेका पनि छैनन् । 'विश्वको अग्लो स्थानमा फल्ने धान कुन हो ?’ भनी गरिने प्रश्नको सरल जवाफ जुम्ला छुमचौर भनेर पाइन्छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने खाद्यबालीबारे अध्ययन, अनुसन्धान गर्न स्थापित कृषि अनुसन्धान केन्द्रदेखि मार्सीलाई एकाएक चर्चामा ल्याउने सञ्चारमाध्यम सबैले किम्वदन्ति, अनुमानित दावीसहितका लेख रचनाकै आधारमा विश्वको अग्लो स्थानमा फल्ने दावी गर्दै आएका छन् ।

कृषि अनुसन्धान केन्द्र जुम्लाले २०६७ मा प्रकाशन गरेको ‘जुम्लामा धान उत्पादन’ नामक हातेपुस्तकमा विश्वको अग्लो स्थानमा धान फल्ने उल्लेख छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कका केही प्रकाशनमा पनि उक्त कुरा दोहोरिएको छ । त्यसमा जुम्ला चौधविश दराको छुम जिउलोमा समुद्र सतहबाट झण्डै ३०५० मिटरको उचाइमा धान फल्ने भएकोले विश्वको अग्लो स्थानमा भनिएको छ । ती अभिलेखमा जुम्लामा धानखेती बेसी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर) मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा उल्लेख छ । काञ्जिरोवा, पातारासी हिमालको काखमा नजिकै कालीमार्सी खेती हुँदै आएको छ ।

दुई दशकअघि साझा प्रकाशनले २०४६ सालमा प्रकाशन गरेको प्राज्ञ रत्नाकर देवकोटाद्वारा लिखित पुस्तक ’कर्णालीको अथःइति’ मा मार्सी उत्पादन हुने क्षेत्रदेखि मार्सीको उत्पादन परम्परा र फल्ने ठाउँको उचाइँ आदिबारे उल्लेख छ । उनले विश्वको उचो स्थानमा फल्ने धान भनेर लिखित रुपम पहिलोपटक लिपिवद्ध गरेका थिए । उक्त पुस्तक जुम्ली मार्सीबारे व्यवस्थित अभिलेख समेटिएको पहिलो पुस्तक हो । 

मैनाली, मूलधारका सञ्चार माध्यमदेखि सरकारको आधिकारिक निकाय नेपाल कृषि अनुसन्धान परिषद् र बोल्ने, लेख्नेसमेतले देवकोटालाई नै सन्दर्भ मानेका छन् । प्राज्ञ देवकोटा कर्णाली क्षेत्रको कला, संस्कृति, जनजीवन, भूगोलआदिका कुशल अध्येता हुन् ।

अमेरिकी भूगोलविद् क्रिष्टोफर बिसप ब्यारीले सन् १९६०–१९९० सम्म कर्णाली क्षेत्रमै रहेर अध्ययन गरेका थिए । उनको अध्ययनले पनि कर्णाली क्षेत्रमा फल्ने मार्सी विश्वको अग्लो स्थानमा फल्ने मानेको छ । उनका अनुसार मार्सी सिंजामा २६४० मिटरको उचाइमा फल्छ । यसको उच्चतम विन्दु हुम्लाको रिमी गाउँ वरपर हो, जो २७९० मिटर बराबर हुन आउँछ । यो न्यूनतम १८०० मिटरदेखि फल्न सुरु गर्छ । (Barry C. Bishop Karnali under Stress, Livelihood Strategies and Seasonal Rhythms in a Changing Nepal Himalaya, p. 213) कर्णालीको मौलिक संस्कृतिबारे लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आएका देवकोटाले बिसपभन्दा एक वर्षअगाडि प्रकाशित आफ्नो पुस्तकमा ३०५० मिटर भनेर जुम्लाको छुम जिउलोलाई भनेका छन् ।

जुम्लाका पूर्णसिंह कठायतले उतारेको पाण्डुलिपिमा उचाइ दावी नगरिएको भएपनि मार्सी हिउँ पर्ने ठाउँमा उत्पादन हुने प्रमाणित भएको कुरा छ । त्यसमा लेखिएको छ, ‘यो प्रयोगबाट सिद्ध भइसकेको छ । यो हैमदेश (हिउँ पर्ने ठाउँ) का लागि उपयुक्त छ ।’ संस्कृतमा लेखिएको उक्त पाण्डुलिपि चन्दननाथ बाबाको पालाको लेखोटबाट उतारिएको उनले बताउँदै आएका छन् । यसरी हिमदेशको संकेत गरिनुले मार्सी विश्वको अग्लो स्थानमा फल्ने धान हो र त्यो हिमदेश भनेको जुम्ला हो भन्ने बुझ्न सकिन्छ । नेपालको नक्सामा डोल्पा जुम्लाभन्दा उत्तरी सिमानाको बढी उचाइमा देखिए पनि विशेषतः दुनै र त्रिपुरासुन्दरी क्षेत्रमा फल्ने धान सरकारी आँकडाले दुई हजारदेखि दुईहजार एक सय मिटरको उचाइमा फल्ने देखाएको छ ।

संसारभर उत्पादन हुने धानमा ९१ प्रतिशत हिस्सा एसियाली क्षेत्रले ओगटेको छ । सबैभन्दा धेरै धान उत्पादन गर्ने चीन र बढी क्षेत्रफलमा खेती गर्ने भारतमा पनि यति माथिको उचाइमा धान फलेको भेटिदैन । चीनको युनान प्रान्तमा २६७० मिटरको उचाइमा धान फल्छ । (हेर्नुस्, चाइना डेली डट कम सन् २०१८ अक्टोबर २५) मार्सीको बीउ काश्मिर र कुमाउमा ल्याएको एकथरि तर्क छ । ती दुबै ठाउँमा २३०० मिटरको उचाइभन्दा माथि धान फलेको भेटिदैन । 

गुगल सर्च गर्याे भने सबैभन्दा पहिले एम एन पाैडेलकाे अनुसन्धानात्मक लेख भेटिन्छ । त्यसमा छुम जिउलो धान फल्ने विश्वकाे अग्लाे स्थान भनी दाबी गरिएकाे छ, २८०० देखि ३०५० मिटरसम्म । कृषि अनसन्धान केन्द्रको केही पर्चामा २८०० देखि ३००० छ भने केही पर्चामा २९९० सम्म पनि उल्लेख गरेको देखिन्छ । त्यस्तै २०७५ मा कृषि विकास कार्यालय जुम्लाले छुम जिउलो २८९० मिटर उचाइमा रहेको जीपीएसबाट मापन गरेको थियो । यसरी हेर्दा आधिकारिक निकाय अल्मलिएको छ । अहिलेसम्म भेटिएका सबै तथ्यहरुको आधिकारिकता छैन । यसरी कालीमार्सीलाई विश्वकै उचाईमा फल्ने धानको रेकर्ड कायम गर्नका लागि तथ्यांकमा तालमेल देखिएको छैन । 

सीमित सामग्रीको उपलब्धता र अध्ययनले सत्यको राजमार्ग निर्माण त गरेको छैन । व्यवस्थित अनुसन्धान र आधिकारिक पुष्ट्याईंका लागि सरोकारवाला निकायले तत्काल पहलकदमी लिन जरुरी देखिन्छ । जुम्लामा विश्वकाे सबैभन्दा बढी उचाइँमा धान फल्छ भन्ने विषयमा दुई मत छैन तर हामीले जपेर मात्र विश्व रेकर्ड कायम हुँदैन । सरकारले विश्व समुदायले थाहाँ पाउने गरी संयन्त्रको विकास गर्न आवश्यक छ । कालीमार्सी राष्ट्रिय अर्गानिक खाद्य बजारको सबैभन्दा बढी माग हुने चामल भए पनि फल्ने उचाई, उत्पादनको इतिहास र भावी दिशासम्बन्धी गम्भीर बहस हुनु आवश्यक छ । अहिलेसम्म न कालीमार्सीको प्याटेन्ट राइट (अग्राधिकार) सुरक्षित छ, न त अर्गानिक प्रमाणिकरणमा गम्भीरता देखिन्छ । भुलभुलैयाले कालीमार्सी जोगिदैन । ओ मान्ठौँ ।  

असार १५, अर्थात राष्ट्रिय धान दिवसको सन्दर्भ पारेर यो आलेख पुनः प्रकाशन गरेका हौ।

प्रकाशित मिति: Jun 29, 2020 18:20:37

प्रतिक्रिया दिनुहोस