बराबरीमा रोकिएपछि लिभरपुल दोस्रो स्थानमा सिमित

एपी

एभर्टनसँग गोलरहित बराबरीमा रोकिएपछि इंग्लिस प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा झरेको छ।

आइतबार भएको खेलमा लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

एभर्टनलाई पराजित गरेको खण्डमा शीर्षस्थानमा फर्कने लिभरपुलले खेल अवधिभर थुप्रै गोल गर्ने अवसर चुकाएको थियो।

एभर्टनको मैदानमा भएको खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लिभरपुलले एक अंकमा चित्त बुझाएको हो ।

पहिलो हाफमा मोहमद सलाहको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफर्डले बचाए । दोस्रो हाफमा पनि सलाहलाई माइकल किनले उत्कृष्ट ट्याकल गर्दै गोल गर्ने अवसर दिएनन् ।

घरेलु टोलीमाथि बल पोजिसनमा पकड जमाए पनि लिभरपुलका फरवार्ड गोल गर्न चुके।

बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। दोस्रो स्थानको लिभरपुलले २८ खेलबाट ७० अंक जोडेको छ। एभर्टनलाई पराजित गरेको भए लिभरपुल शीर्ष स्थानमा उक्लने थियो। दशौं स्थानको एभर्टनले ३७ अंक जोडेको छ ।

लिभरपुल बराबरीमा रोकिदा म्यानचेस्टर सिटीलाई भने फाइदा पुगेको छ । लिभरपुल रोकिएपछि शीर्ष स्थानको सिटीले १ अंकको अग्रता बनाएको छ। सिटीको ७१ अंक छ।

प्रकाशित मिति: : 2019-03-04 08:03:16

प्रतिकृया दिनुहोस्