अमेरिकाबाट फर्किएपछि 'मोहन-समृद्धि'

तस्बिरः सन्जोग आचार्य/बिएल

वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल २० वर्षको अन्तरालमा २० पटक अमेरिका पुगिसके। १७ वर्षअघि पहिलोपटक अमेरिका पुग्दा लम्साललाई निकै रमाइलो लागेको थियो। तर, अमेरिकामै बस्ने र त्यहीको जीवनशैली अपनाउने कुराले उनलाई कहिल्यै आकर्षित गरेन।

अमेरिका बस्न सक्ने धेरै बाटा भए पनि त्यो बाटोमा आफू नहिँडेको बताउँदै लम्साल भन्छन्,-‘सातामा ६० घण्टा काम गर्दा पनि ५०० बचत गर्न नसकिने अमेरिकी जीवनशैली के काम? बिहान झिसमिसेमा काममा निस्किएर रातमा थकित भएर आउँदा पैसा र परिवार दुबै नहुनु त्योभन्दा पीडादायी जीवन के हुन्छ? त्यसैले पनि मेरो प्राथमिकतामा कहिल्यै परेन अमेरिका।’

दाङ तुलसीपुरको एक सामान्य परिवारमा जन्मिएका लम्साल परिवारका सबै सदस्य अमेरिका पुगिसकेका छन्। दुई छोरा र श्रीमतीसहित अमेरिका पुगेर फर्किएका लम्साल त्यहाँबाट सिकेका कुरालाई नेपालमा कार्यान्वयन गर्नुपर्ने बताउँछन्।

अमेरिकाको प्रविधि विकासबाट धेरै कुरा सिकेर लम्सालले नेपालको पर्यटन व्यवसायमा फड्को मारे।

शंकरदेव क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दा गर्दै ट्रेकिङ कम्पनीमा गाइड र भरियाको रूपमा काम सुरू गरेका लम्सालका अहिले आफ्नै तीन वटा कम्पनी छन्- मकालु एड्भेञ्चर प्राईभेट कम्पनी, मकालु एडभेञ्चर ट्राभल एण्ड टुर्स, एडभेञ्चर मकालु ट्रेकिङ कम्पनी।

यस अतिरिक्त उनी ठमेल इको रिसोर्ट, नेपाल योगा रिट्रेट प्राईभेट लिमिटेड, एभरेष्ट प्याराग्लाईडिङ र ठमेल मःमः हटका ‘कोपार्टनर’ समेत हुन्।

ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) का पूर्वमहासचिवसमेत रहेका लम्सालले अहिले दुई सयभन्दा बढी नेपालीलाई प्रत्यक्ष रूपमा रोजगार दिइरहेका छन्।

यो सँगै ३० हजार हाराहारीमा पर्यटकलाई नेपाल भित्राइसकेका छन्। सन् २०१६/१७ मा पर्यटन क्षेत्रका सद्भावनादूतसमेत रहेका लम्साल अहिले नुवाकोटमा सुविधासम्पन्न पाँचतारे होटल सञ्चालनको ‘ड्रिम प्रोजेक्ट’ को तयारीमा छन्।

नेपाल योगा एसोशियसनका अध्यक्षसमेत रहेका लम्सालले नुवाकोटको तारूका गाउँमा ६ वटा स्कुल, एक हेल्थ पोष्ट र डेढ करोड बराबरको खानेपानी सुविधा पुर्‍याएर समाजिक क्षेत्रमा समेत उल्लेख्य योगदान दिएका छन् ।

किवानिज इन्टरनेशनल नेपालका डिस्ट्रिक गभर्नर र लाइन्स क्लब नेपालका प्रमुख सल्लाहकारसमेत रहेका उनी अमेरिका बसेको भए १७ वर्षको अन्तरालमा यी सब कुरा सम्भव नहुने बताउँछन्।

विश्वका ३३ देशको भ्रमण गरिसकेका लम्साल अमेरिका गएर त्यहीबाट सिकेको सीप र मेहनतलाई नेपालमा लगाउन सके धेरै गर्न सकिने ठान्छन्।

सन् १९९८ मा मकालु ट्राभल खोलेका लम्साल शुरूमा जीवनदेखि निकै हतोत्साही भएका थिए। सन् २००२ मा अमेरिकाको कोलोराडोमा पहिलोपटक पाइला टेकी त्यहाँ काम गर्ने शैली विकास देखेर फर्किएपछि लम्सालको जीवनले ठूलै फड्को मार्‍यो।

अमेरिका भ्रमणपछि गुगल र वेभसाइडको महत्व थाहा पाएका लम्सालले त्यही अनुसारको प्रचारप्रसार शैली अपनाए। ‘वेभसाइड बनाएर प्रचार गर्ने बित्तिकै मेरो कम्पनीबाट बेलायत र त्यसपछि अमेरिकी दल भ्रमणको लागि आए। त्यसपछि मैले पछाडि फर्केरै हेर्नु परेन’, उनले विगत सम्झिए।

प्रकाशित मिति: : 2019-03-21 22:23:15

प्रतिकृया दिनुहोस्