संस्मरण: मानिस सबै होस् तर, दृष्टिविहीन नहोस्

जीवन बँनियाँ

आमा तिमीले जन्माउँदा अपाङ्ग थिइनँ नि,

जिन्दगीमा कस्तो कस्तो आइलाग्ने रै’छ नि,

मान्छेको जन्म

सुन्ने भएन मानिसले दु:खीको वेदना पीडा र मर्म

जीवनरूपी प्रसाद जीवनप्रसाद। समाजिक शैलीबाट बनेको मेरो नाम। स्वनामधन्य नै छु। साँच्चै मैले प्रसाद नै पाएको छु। जीवनरूपी प्रसाद।

कतिपय अपाङ्गले यो संसारका लागि प्रसाद दिए जसरी म दिन सक्छु कि सक्दिनँ मेरो जीवनकालमा,त्यो मेरोलागि सबैभन्दा ठूलो चुनौति हो।

मेरी आमा भन्थिन् – साउने  झरी, भदौरे झरीको प्रभाव परेको छ वरिपरि। बाढी पहिरोको डुबानले बस्ती तहसनहस भएको छ। भोकमरी महंगी रोग/भोक र शोकले नेपाली थलिएका छन्।

भदौको अन्तिम साता असोजको आगमनको संकेत मात्र नभएर हिलोमैलो पखालिएर सफासुग्घरको प्रवेश अनि हिन्दूहरूको महानपर्व विजयादशमी, मुस्लिम समुदायको बकरिद र अवधहरूको छठपर्वको प्रवेश।

सबैलाई आ–आफ्नो रन्कोले नछोडेको बेला मलाई मेरो प्रसवको पीडाले बेला–बेलामा तर्साउँथ्यो। मेरो सन्तान कस्तो जन्मन्छ?, यसलाई जन्माउँदा म बाँच्छु कि बाँच्दिनँ होला? छोरा जन्मिने हो कि, छोरी?, यी र यस्तै कुरा सोच्थेँ रात दिन।

एउटी गृहिणी, त्यसमा पनि दृष्टिबिहीन। बेलाबेलामा लोग्नेको वचनले झरी वर्षाउँथ्यो। तीन वटी छोरीकी आमा। यो पालि पनि छोरी जन्मिए लोग्नेको व्यवहार कस्तो हुने हो?वरपरकाको व्यवहार जानीबुझेकै थिएँ।

दुइटी छोरी जन्माउने बेलाको भन्दा फरक थियो यो बेला। सपनाका कुरामा विश्वास गरौं कि नगरौं। सुकुमार बालक मुसुक्क मुस्कुराएर धेरैपर उभिएको हुन्थ्यो।

कहिले राजकुमार जस्तो लाग्थ्यो। छोरो जन्मिन्छ क्यारे! दुई वटी छोरीपछि छोरो भइ दिए ठिक हुन्थ्यो भगवान!

छोरोको रहर , गाउँछिमेकको ठहर, आफन्तको अड्कल, लोग्नेको करकर सबै–सबैले सोचे अनुसार हुन्थ्यो के गरौं?

वाहियात कुरा आँखाले नदेखे पनि कानले सुन्नुपर्दा जीवन बोझिलो हुँदोरहेछ। निरन्तर सूर्योदय र सूर्यास्त जस्तै पचास साल सबैको उस्तै हाल। तर, मेरो हाल अलि फरक बन्यो।

भदौको छब्बीस गतेसम्म रमुवापुरका खेतका आलीका काँस फुलेर सेताम्य भइसकेका हुन्थे।

गोपी प्रसाद बनियाँ बन्द व्यापार गर्ने पुर्खाको बिँडो थाम्दै आएका व्यक्ति। बउरवियासमा जन्मी हुर्केकी म तिम्रा बाबुको गृहस्थी धान्न सक्षम छु कि छैन त्यो त म भन्न सक्दिनँ। तर, तीन वटा सन्तानलाई जन्म दिन चाहिं म सक्षम भएँ।

बरू सन्तान दृष्टिविहीन हुन पुगे। त्यो मेरो वंशाणुगत गुण सरेको  हो या गर्भावस्थामा तिनीहरूको स्याहारसुसार र रेखदेखमा कमिकमजोरी भएको हो। बुझ्न सकिनँ।

बा आमाले मालती भनेर बोलाए। नामैले धन्य हुने भए मालती फूल मगमगाउँदो हरहराउँदो हुन्छ। मैले तिम्रो बाबुको घर गृहस्थी मगमगाउन सकेकी छैन क्यारे। निरक्षर भएँ। बउरवियास जन्म थलोको केको दोष बाउआमाले पढाएनन् लेखाएनन्। सम्पत्तिवालासँग बिहे  गरिदिए पुण्य कमाउने सोंच बोकेको समाजसँग स्वावलम्बन , शिक्षादीक्षा स्वरोजगार जस्ता विचारले त्यतिखेर हाँगा हालकै थिएन।

यसो उसो गरी दुई चार पैसा कमाउन जानेको बनियाँको छोरो तिम्रो बाबुसँग जीवनका धेरै रंगहरू मिसाएर होली खेलियो।

छोरी त थिएँ दृष्टिविहीन भएँ

यी दुवैको कारण शिक्षा विहीन भएँ

झुक्किए क्यारे तिम्रो बाबु मलाई बिहे गर्दा

गृहिणी भएर पनि घरबार विहीन भएँ

यसरी आमाले मेरो  विगत सुनाउँथिन्। म निकै चाख मानेर सुन्थेँ। जन्मँदै शारीरिक अपाङ्ग रहेछु। खुट्टा मोडिएको थियो रे। एउटा खुट्टा मोटो अर्को मसिनो बनेछ। भाग्यमै भर परे होलान् क्यारे।

औषधिमुलोको लागि समय खर्चेनन् त्यसैले आजसम्म मेरो खुट्टा एउटा मसिनो छ। औंलाहरू जोडिएका छन्। एकै ठाउँ  बसिरहन सक्दिनँ। हिँडिरहनुपर्छ कि त उभिएर काम गर्नुपर्छ। लामो समय बसेर काम गर्नै सक्दिनँ।

जन्मेको पाँच  वर्षसम्म हो जस्तो लाग्छ , मैले अलिअलि आँखा देख्ने गरेको। धेरै स्पष्ट देख्नको लागि रण अम्बिका आँखा अस्पतालमा अप्रेशन गर्न गएको थिएँ। अप्रेशन पछि निको होला भनेको झन् दुवै आँखा बन्द भए।

कसैलाई निको बनाई उज्यालो जीवन दिने अस्पतालले मेरो जीवनमा अन्धकार ल्याइदियो। जीवन जीवन जस्तो भएन मेरो। निकै रोएँ। आत्तिए छटपटिएँ। हरेक घटनाबाट पाठ सिकिँदो रहेछ।

एकदिन घरबाट दोकानतर्फ गइरहेको बेला बाइकसँग ठक्कर खाएँ। बाइकवालाले सोधे – तिमी आँखा देख्दैनौं? पढ्छौ कि पढ्दैनौ? मणिग्राममा दृष्टिविहीनहरू पढ्ने विद्यालय छ यदि तिम्रो पढ्ने चाहना छ भने त्यहाँ पढ्न जाऊ।

पढ्नका लागि उनले मलाई प्रेरणा दिए। उनकै प्रेरणाले म स्कूल जान थालेँ। बोल्नलाई नछेकिने, सुन्नलाई नछेकिने खानलाई नछेकिने हेर्नलाई छेकिने मेरो जीवनचर्या विस्तारै चढ्दो गतिमै रह्यो।

मलजल गरेको हर्लक्क बढ्ने  बिरूवा जस्तो भएन मेरो जीवन वृक्ष। अनेकौं सास्तीहरूसँग हिलोमा गाडिन्थेँ, ढुंगामा ठोकिन्थेँ, खाडलमा जाकिन्थेँ।

एक कक्षादेखि सात कक्षा पढ्दासम्मका दिनहरू बितेको पत्तै भएन। आमाको काखमा लुटपुटिँदै कम्हरिया र मणिग्रामको यात्राक्रम बढ्दै गयो।

‘नसोंचेको हुन्छ जीवन, सोँचेको हुन्न जीवन,’ साथीहरू यही सुनाउँथे।

शिक्षाको महत्व बुझेर होला मलाई सात कक्षासम्मको मणिग्रामको विद्यालयको पढाइले चित्त बुझेन। श्री नेपाल आदर्श उ.मा.वि. शिवपुर क.व. मा प्रवेश गरेँ।

वि.सं. २०६८ सालमा लुम्बिनी दृष्टिविहीन क्रिकेट क्लबको आयोजना र विमल पौडेलको नेतृत्वमा प्रतियोगिता सञ्चालन भएको थियो। सो कार्यक्रममा म पनि सहभागी भएँ।

ठाउँठाउँका दृष्टिविहीन साथीहरू जम्मा भएका थिए। श्री नेपाल आदर्श उ.मा.वि. शिवपुर क.व.मा अध्ययनरत दृष्टिविहीन विद्यार्थीसँग पनि परिचय भयो।

दृष्टिविहीनका लागि होस्टेलको सुविधा  र व्यवस्था भएको एसएलसी र प्लस टु सम्म पढ्न पाइने त्यस स्कुलमा मलाई बसेर पढ्ने इच्छा जाग्यो।

छात्रावासको जीवनका लीलाहरू लेखेर भनेर सम्झेर कति साध्य लाग्ला तैपनि समेट्ने प्रयास गर्दैछु-

घृणित भयो जिन्दगी बोर भएको छु

सम्झेर आफैंलाई विभोर भएको छु

आउँछन् जब आँखामा आगामी दिन तेर्सिन

भक्कानिन्छ मन कमजोर भएको छु।

दृष्टिविहीन अभिश्रााप होइन घटना हो सबैलाई थाहा छैन होला। हामी भोग्नहरूलाई थाहा छ यो कुनै दैवीय श्राप होइन तर मानिसहरू पूर्वजन्मको पाप भनेर दयाको पात्र बनाउँछन् कुसाइतको पात्र बनाउँछन्।

मलाई हरेक दशैंले एउटा घटनाको स्मरण गराउँछ। साथीहरूसँग खेल्दा कसैले पछाडिबाट धकेलिदिएकाले खुट्टा भाँचिएको थियो। पछि निको भएँ।

यसैगरी अर्को पटक दशैंकै रमझमले प्रवेश गर्दा छतबाट खसेर टाउकोमा चोट लाग्यो। ६ वटा टाँका लगाउनुपर्‍यो त्यो घाउ पनि सन्चो भयो।

जन्मँदा अपाङ्ग भएर जन्मिएँ। बेलाबेलाका घटनाले पनि अपाङ्ग बनाएर छाड्यो। जीवनमा यही प्रसाद होला मेरा लागि। ठक्करहरूसँग डर लाग्न छोड्यो मलाई। देख्दा रैछ चोटपटकको डर। नदेख्दा त चोट र ठक्करहरूको आदत नै बस्दोरहेछ। चोटहरूले पिरोल्ने नसा बसेपछि चोटमा बाँच्नको घडीलाई आनन्ददायी मान्न बाध्य छु।

स्थानीय बासिन्दा व्यापारी लक्ष्मण राना र बुटवल ब्लड बैंकमा कार्यरत सत्यराज शाक्यको प्रेरणा र सल्लाहले पनि स्कुल पढ्न हिँडियो। कसैको जीवनमा प्रेरणाले कति ठूलो परिवर्तनको भूमिका खेल्छ। हुन त हामी दृष्टिविहीनलाई प्रेरणा दिए पनि नदिए पनि के!

यी दृष्टिविहीनले पढेर के गर्लान्! हाम्रो जस्तो मुलुकमा भन्ने पर्छ होला समाजका दृष्टियुक्तहरूलाई। हाम्रो अभियानमा होस्टेमा हैंसे गरिदिए आफूलाई मान्छे नै सोंच्दैनन् होला। तर म ती प्रेरक व्यक्तित्व  र प्रेरक प्रसंगलाई शब्द चित्रमा उतार्न चाहन्छु।

गाउँघर वरपर हिंड्न खोज्यो बाटो काट्दा गाडी चढ्दा अझै पनि अन्धा भनेर सम्बोधन गर्छन्। सुन्या नसुन्यै गरेर हिंड्नुपर्छ। मानिसले ठाउँलाई दोष दिन्छन् , आफूलाई निर्दोष ठान्छन्। ठाउँ दोषी हो मान्छे, म निर्क्यौल गर्न सक्दिनँ।

रुपन्देही र कपिलवस्तु ओहोरदोहोर गर्दा विभिन्न स्वभावका मानिसहरू भेटिन्छन्। भैरहवाको बाटोमा भन्दा बुटवलतिरको बाटोमा हामी दृष्टिविहीनप्रति सद्भाव राख्नेहरू भेटिन्छन्। बाटो पार गर्दा सहयोग गर्नेहरू भेटिन्छन्। गर्छन् भन्दा अत्युक्ति नहोला।

आफन्तकहाँ पूजा–आजा, व्रतबन्धमा दृष्टिविहीनको कारण सहभागी हुन पाइँदैन।

खुसी हुँदा फुरुङ्ग हुने दु:खी हुँदा गह्रौं हुने मन सबैको एउटै हो भन्ने मैले बुझेको थिएँ, त्यसो होइन रहेछ।

ए अन्धा भनेर बोलाउँछन्। मन साह्रै कुँडिन्छ। बाटोघाटोमा हिँड्दा होस् आफन्तकहाँ होस् अपहेलित भइन्छ। अरूको के कुरा हजारौं केटाकेटीहरूलाई आँखा देखाउने शिक्षकहरूका मुखारविन्दबाट यी अन्धाहरू हिँडे भन्ने शब्द सुन्नुपर्दा साह्रै दु:ख लाग्छ।

हामी त शिक्षकका आँखामा सबै बराबर हुन्छौं होला सोच्थ्यौं त्यसो होइन रहेछ। संसार विचित्रको छ। विचित्रको संसारमा सबै मान्छे मानवीय भैदिए कस्तो हुन्थ्यो होला भन्ने लाग्छ।

अरूबाट बढी सहयोग खोज्ने आदत भएर हो वा हामीलाई मात्रै मानिसहरू माया गरून् भन्ने महत्वाकाङ्क्षा राखेर हो सानोतिनो बेवास्ताले पनि हामी निकै दु:खी हुन्छौं। हुन त कसलाई पो फुर्सत होला सबैको आ–आफ्नो व्यक्तिगत जीवन पनि हुन्छ हैन र! त्यसकारण धेरै सहयोगको आशा पनि गर्न हुँदैन रै छ।

मेरी दिदी अनिता बनियाँ रमुवापुर चौकमा बाटो काट्दा जीप दुर्घटनामा परिन्। उनलाई उपचार गर्न चितवन भरतपुर मेडिकल कलेजमा भर्ना गरियो। आफन्तलाई खबर गर्यौं। आफ्नै कान्छो बुबालाई मुखै फोरेर बोलायौं।

बिरामी भेट्न आएनन्। अघिपछि त आफ्नो आफ्नो गरेर खान्छ मान्छेले। अप्ठेरो पर्दा आफन्तजनको उपस्थितिले पनि मलमपट्टी लगाई सप्ठेरो पार्छ कि भन्ने न हो। अरू सहयोग चाहिँदैन बरु! बरु आफन्तजन उपस्थिति नहुँदा बाँच्नुको अर्थ लाग्दैन। कसैलाई पिराएजस्तो पनि लाग्दैन र पनि किन यस्तो व्यवहार हुन्छ हामी माथि।

हरेक क्षेत्रबाट तिरस्कारको पात्र बन्दा धिक्कार लाग्छ। कहिलेकाहीं त चिच्याउन मन लाग्छ। ए ...... मनुष्य तिमी दिनको एक घण्टा दृष्टिविहीनको अभिनय गरी बाँच त कति सजिलोको बोध गर्छौ।

तर मेरो चिच्याहट जंगलको रुवाइ हुनेछ। निरर्थक हुनेछ।

मलाई घामले ठग्यो छाँयाले ठग्यो

मेरै दायाँबायाँले ठग्यो

आफन्तको भेटले शीतल होला भन्थें

सम्भव भएन आफ्नै मायाले ठग्यो।

कुवाको भ्यागुतो झैं बस्न कुन जीवले मान्दो हो र! भ्यागुतो पनि उफ्रेर अन्यत्र सर्न खोज्छ विडम्बना उफ्रियो जहींको तहीं। त्यस्तै भइदिन्छ मलाई। मेरा आफन्तहरूको सम्झना आउँछ र भेटघाट गर्न जान्छु। मैले मान गर्ने, माया गर्ने मान्छेहरू पनि छन् भनेर म कति गर्व गर्थे तर त्यो मेरो गर्व गर्भमै तुहिन्थ्यो।

आफन्तको घरमा जाँदा कुनै वास्ता हुँदैन। कुकुर बिरालोको चासो हुन्छ होला। मानिसको दर्जामा गन्दैनन्। आज यहीँ बस। सन्चो बिसन्चो के छ? अहँ ..... कुनै मतलबै राख्दैनन्। हामी उनका आफन्त हौं कि उनीहरू हाम्रा आफन्त हुन् चिन्न सकिएन। चाडपर्व आउँछ। मेलोमेसो आउँछ। कहीं गएर मन भुलाऊँ, आफन्तको मायामा झुलौं रमाऔं भन्ने त हामीलाई हुँदो रहेनछ। सबै होस् मानिस दृष्टिविहीन नहोस्।

मेरी विवाहित दिदी भेट्न एकदिन सानी बहिनी जाँदा यो आँखा नदेख्नेलाई किन बोलाएकी भनेर हप्काएछन् दिदीलाई भिनाजुले। मेरी सानी बहिनी दुखेसो पोख्छिन् बेलाबेलामा।

कुरै त हो, कुरो गर्दैमा के बिग्रेला र! मन पनि चोर्न जान्नुपर्छ कहिलेकाहीं कसैको। मन लाग्यो र एकपल्ट पोखरा बस्ने अंकलको घरमा गएको बेला अन्टीसँग मैले एघार कक्षा यहीं पढ्नुपर्ला एसएलसी पास भएपछि भनेर कुरा के चुहाएथेँ। अन्टीले कुरो भुँइमा खस्नै दिइनन्। हामी तिमीहरूजस्तोलाई स्याहार्न सक्दैनौं एकदमै असम्भव कुरो भन्दै टकटकिइन् ।

हामीलाई पनि स्वावलम्बी बन्न रहर हुन्छ। शतपप्रतिशत सहयोग त हामी पनि तपाईंहरूबाट माग्दैनौं। कहिलेकाहीं गाह्रो साह्रो पर्दा खेर जाने सास बोलिदिएर र सानो सहयोग गरी महानता बटुल्ने काम गरे हुन्थ्यो। दिनचर्या त चलेकै हुन्छ हाम्रो आफ्नो रीतले। हामीमा पनि तपाईहरूसँग भएको आवेग–संवेग , कुण्ठा हुन्छ। प्लिज अर्को प्राणी नसम्झनुस्।

धेरै खाए चिनी पनि तीतो हुन्छ भन्छन् रातदिन सँगै हुने भएर होला आफ्नै बाउ पनि हामीसँग झिँजिन्छन्। आफ्नो आयस्रोत नभएपछि छोराछोरीहरू बाउआमासँग आश्रित हुन्छन्। यो सबैको  बाबु आमाल जान्ने कुरो हो तर मेरा बाबु कहिलेकाहीँ साह्रै मन दुखाउँछन् हामी दृष्टिविहीनहरूलाई। आमा दिदी बहिनी म हामी चार जनासँग साह्रै चिढिन्छन्।

दैनिक खर्चको लागि बुबासँग पैसा माग्दा धेरै बोल्नुपर्छ। ‘जहिले पनि मसँग पैसा माग्ने यी अन्धाहरू जन्मनुभन्दा मरेकै जाति हुन्थ्यो। म बाँच्दासम्म मलाई खाओ! म मरे यो घरको दिवाल फोडेर खाओ भन्दै रिसाउँछन्,’ हाम्रो भावना बुझेर कहिले काम गर्दैनन्। हाम्रा बाबु दृष्टियुक्त भएर पनि।

दिन काट्नु छ जे जसरी भए पनि भनेर मात्र मनले मान्छ र! धेरै पढ्नु आफ्नो प्लेट फर्म बनाउनु जो कोहीलाई पनि हुन्छ। पढाइको साथसाथै रेडियो जकी, पत्रकारिता साहित्यिक विधाका मुक्तक र गजल लेखन मलाई मनपर्ने क्षेत्र हुन्। शोकलाई शक्तिमा ढाल्ने काम सिर्जनशील व्यक्तिले गर्छ। स्वावलम्बी बनेर हिँड्ने इच्छा कसलाई हुँदैन र!

मुक्तक र गजलको एउटा कृति जन्माउने चाहना छ मेरो

किन कोही प्रेम सिंगारेर जान्छन्

अलिकति भएको आँसु निखारेर जान्छन्

भविष्य सम्झिन्छौं हामी उसलाई जहिले पनि

बन्नको लागि कोही बिगारेर जान्छन्

एकदिन बुटवल गोलपार्कनेर अवस्थित साङ्ग्रिला रेस्टुरेन्टमा मन मिल्ने साथीलाई भेट्न जाँदा मेनेजरको भाइले आँखा नदेख्ने मान्छे किन यहाँ बसेको? घर गए हुन्छ नि भनेर धम्की दिए। साथीको अनुरोधमा साह्रै चित्त सम्हालेर बसेँ। त्यो जत्तिको लाचारी बोध कहिले भएन मलाई।

सन्यास नलिएको तर खेल कहिले नजित्ने खेलाडी जस्तो जीवन बाँच्न मन लाग्छ मलाई। मैले २०६९ सालमा सिद्धार्थ एफएम भैरहवा ९८.८ मेघाहर्ज रेडियोमा फन टाइम नामक कार्यक्रम सञ्चालन गर्थेँ। कार्यक्रम चलाए बापत मलाई त्यतिखेर ४५ मिनेटको काममा पचास रूपियाँ मिल्थ्यो। त्यसैगरी रेडियो भ्वाइस एफ एम १०२.४ चन्द्रौटा क.व.मा कार्यक्रममा माइन्ड रनिङ र फन टाइम सञ्चालन गर्छु।

आवाजको दुनियाँ रमाइलो छ। साथीहरू प्रशस्त बनेका छन्। कार्यक्रमको क्रेज बढ्दो नै छ। खै साथीहरूलाई विश्वास छैन होला। एउटा दृष्टिविहीनले चलाएको हो भन्नेमा। म आफ्नो परिचय दिन त छोड्दिनँ । हरेक क्षेत्रमा बाटोमुनिको कुल्चिने फूल यो मिडिया  जगतमा चाहिँ हर्हराइरहेको छ मगमगाइरहेको छ।

विगत र आगतका दुःखद् भोगाइलाई आवाजको दुनियाँमा फ्यूजन गरी बाँचिहेरेको छु। अन्य संसार भन्दा संचारको संसारमा जिउन छुट्टै आनन्द रहेछ। हरेक प्रकारका भावनाहरू चीरपरिचित र साटासाट हुने छुट्टै चौतारी रहेछ जो कोहीले यस्तो चौतारी बनाउन सक्दैनन् जहाँ ढुंगाहरूलाई जोडेर शीतल छहारी दिने पीपल लगाइन्छ।

कार्यक्रमकै दौडानमा अर्घाखाँची, स्याङ्जा स्टेज प्रोग्राम दशैं महोत्सवको समयमा प्रकाश रानाको माध्यमबाट पुगेको छु। साह्रै यादगर छन् ती दिनहरू।

प्रेम प्रसंगका कुरा सोध्नुहुन्छ भने यो उमेरमा जायज हो होइन ममा प्रेम अंकुराउनु। खाटा बसेको हुँदा कौतूहलतालाई कोट्याइदिऊँ कि! हामी अपाङ्गको प्रेम तपाईंहरू जत्तिकै मसलादार हुन्छ। आँखा पो हामी देख्दैनौं त। एफएमबाट प्रसारण हुने फ्रेन्डसिप लिङ्क कार्यक्रममा फोन मार्फत पाल्पाली ठिटीसँग चिनजान भयो। उसलाई मेरो बोली मन पर्‍यो रे। लामो समयसम्म फ्रेन्डसिप चल्यो। तर, त्यो फ्रेन्डसिपमा धेरैको आँखा लाग्न थाल्यो। कसैले ईर्ष्या गर्न थाले। कसैले सक्छस् भने प्रेम गरेर देखा न त भनेर च्यालेन्ज पनि दिन थाले। प्रेम प्रस्ताव राख्नुभन्दा अघि मैले मेरो वास्तविकता प्रष्टयाउनु थियो।

मैले आफ्नो परिचय दिएँ। म जस्तो भाग्यले ठगेकोसँग तपाईले के प्रेम गर्नु होला र! अहिले पनि पाउने छैन पछिको लागि पनि हुने छैन भनेको त ऊ रोई। को हो ऊ? ऊ बाह्र कक्षा पढ्ने पाल्पाली ठिटी हो। उसले मेरो प्रेम प्रस्ताव बिना संकोच स्वीकारेपछि म आफूलाई मर्द भएको सबलाङ्ग भएको महसूस गरेँ।

मैले मेरो सम्पूर्ण अंग–प्रत्यङ्ग छामेँ। आफ्नो ज्यानको यति माया लाग्यो कि कसरी बयान गरूँ। जहिलेदेखि म दृष्टिविहीन भएँ तहिलेदेखि ऐनाले मलाई पछ्याउन छोड्यो। मेरा हातले नै ऐनाको काम गर्छन्।

छामेर मैले देख्ने गर्छु। बाटोघाटो पार गर्न म अभ्यस्त भैसकेको छु। रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, कास्की, स्याङ्जा, काठमाडौं यी जिल्लाहरूमा म पुगेको छु।

पाल्पा मलाई मेरी साथीले बोलाएको बखत गएको थिएँ। उसले मलाई भेटघाटका लागि बोलाएकी थिई। म निकै बलियो भएर गएको थिएँ। फोनको भरमा प्रेम प्रस्ताव राखियो। ओ के भयो भन्दैमा त्यसरी नजानु थियो गलत हो या सही दोधारमा पर्दै पाल्पा पुगेँ। सन्चो–बिसन्चो देखि लिएर पढाइ लेखाइ माया प्रेमका कुरा चल्दै गएँ। फस्ट टाइममा मलाई केटीले देख्दै छे। कस्तो मानी होली भनी सोच्दा नसोच्दै हामी एकाकार भइहाल्यौं। हाम्रो प्रेम वस्तुमा परिणत भयो।

उसको कुरो मेरो लागि सवाल थियो

दिउँसो भए पनि यात्रा बबाल थियो

देख्नेले आँखा तर्थे प्रवास वरिपरि

जति आँखा तरेपनि मलाई मालामाल थियो

अविस्मरणीय क्षण बन्यो पाल्पाको यात्रा मेरो। उसलाई पनि बनेछ क्यारे। दुई महिनापछि ऊ मलाई भेट्न मेरो घरमा आई। मैले मेरा घरपरिवारलाई सबै कुरा बताएको थिएँ।

ऊ मेरो घरमा आउँदा मेरो बुबाले तरकारी मासु, फलफूल, कोक ल्याए। निकै खातिरदारी गरे। मलाई त ऊ दुलही बनेर भित्रिए जस्तो लाग्यो। उसले मेरी आमालाई काममा सघाउँदा साँच्ची मलाई निकै आनन्द लागेको थियो। मेरी श्रीमती त होइन मलाई भ्रम हुन्थ्यो भान्सामा ऊ फर्याक–फ्रुक गरी काम गरेको देखेर।

अर्को दिन ऊ आफ्नो घर पाल्पा जानेबेलामा मैले उसलाई सौभाग्यका र साइतका प्रतीक मानिने श्रृङ्गारका सामान चुरा पोते, बुकी , फलफूलहरू किनेर झोलाभरि बनाएर पठाएको थिएँ। श्रीमतीलाई माइत पठाएजस्तो भयो मलाई त एकछिन। यो केही क्षणको झिलिमिली थियो। आवेग थियो। हामी रिल लाइफमै थियौं। रियल लाइफमा थिएनौं। रियल लाइफका लागि अघि बढ्नु थियो। त्यो दिन आउन बाँकी नै थियो। रिल लाइफमै हामी रियल एक्टिङ्ग गरिरहेका थियौं।

दलितकी छोरी थिई ऊ। म बनियाँको छोरो। उसदिनको सेक्सुअल एक्टिभिटी हामी पश्चिमा शैलीमा रसरंग लिएर गरेका थियौं। मेरो र उसको सम्बन्धलाई दुवैका घरपरिवारले पहिले  स्वीकारेका थिए। म त अन्धो थिएँ। ऊ पनि प्रेममा अन्धो भइछ कि कुन्नि सरल बन्दै गएको सहज बन्दै गएको हाम्रो सम्बन्ध अचेल अलि जटिल बनेको असहज बनेको जस्तो महसूस भएको छ।

त्यो म बुझ्न सकिरहेको छैन। मैले त भनि हालेँ नि म अरू कुरामा कमजोर हुँला गरिब हुँला तर अरूमा म सम्पन्न छु। दृष्टिविहीन भनेर हेपे मात्रै नत्र त अन्य कुरामा म बलियो छु र पाको पनि छु म दावीका साथ भन्छु।

कसले के सुनाइ दियो कुन्नि खै आजभोलि मसँग ऊ टाढिएकी छ। म दृष्टिविहीन भए पनि अन्य कुरामा विहीन छैन युक्त नै छु। भन्दा भन्दै पनि ऊ मोडिएकी छ रे अचेल महत्वाकाङ्क्षाहरू धेरै थिए होलान् त्यो त कहाँ सकिन्छ र पुर्‍याउन आफैंले पनि सम्झौता गर्न जान्नुपर्छ। भुसको आगो झैं भित्रभित्र सल्कँदै र जल्दै गर्नेहरूले सम्झौता गर्न जान्दैनन् जस्तो लाग्छ मलाई।

गन्तव्यमा पुगौं भन्थ्यौं बाटो आफै मोड्यौ

कसिएको सम्बन्धलाई अकस्मात् तोड्यौ

साथ दिन थिएन भने जुनीभरिलाई तिमीले

रङ्गमञ्चको पात्र बनाई असमयमै छोड्यौ

देख्नुभयो त प्रेममा हामी पनि खुसी हुन्छौं , दु:खी हुन्छौं, पागल हुन्छौं ,सज्जन हुन्छौं।

     उपचार गर्नुपर्छ भनेर

     रखबार गर्नुपर्छ भनेर

     सम्बन्ध चिसिनुको कारण

     अपाङ्ग स्याहार्नुपर्छ भनेर

नजिकबाट नियालेर नहेरेको वस्तुको मूल्य र अस्तित्व थाहा हुँदैन के। तपाईहरू हामीलाई देख्ने बित्तिकै तर्सनुहुन्छ  भाग्नुहुन्छ अब के माग्छ यसले भनेर शंका गर्नुहुन्छ। ती त पछिका कुरा हुन् क्या। पहिले बोलचाल त गर्नुस् हामीसँग। नदेखिने पाराबाट हामी तपाईको मनलाई खुसी बनाइदिन्छौं। मान्छेको रूपमा हेर्नुस् न तपाई दृष्टियुक्तहरू।

विपरीत लिंगीप्रति हाम्रो पनि आकर्षण हुन्छ। हामीलाई पनि बिहेबारी गरेर घरजम बसाउने रहर हुन्छ। घरभित्रको राखनधरन कुटानपिसान केलाइकुलाइ पारिदिने आमा नै दृष्टिविहीन छिन्। एउटी दृष्टियुक्त मानिसको खाँचो छ। एउटीलाई जीवनसाथी बनाउन सक्छु कि लाग्याथ्यो त्यो पनि कुन्नि किन बाङ्गिएकी छ। हातमा सेतो छडी देखेर होला।

ऊसँग अँगालोमा बेरिएका रातहरू बिताएका, बाचाकसम खाएका कुरा धेरै याद आउँछ। के यादमै यो जीवनको गुजारा चल्छ होला त। जीवनको यज्ञमा पाकेको प्रसाद चाखेर हिंड्न क्या मज्जा हुन्छ आउने जानेहरूलाई। बसेर यज्ञ गर्न कति साधना गर्नुपर्छ त्यो त साधकलाई मात्र थाहा हुन्छ।

लाग्छ , म प्रयोगको साधन बनेको छु। धेरै प्रेमीकाहरूको नाटकले मलाई यही अनुमान दिलाएको छ।

मसहित अन्य दृष्टिविहीन साथीका थुप्रै समस्याहरू छन्। किताबहरू सम्पूर्ण ब्रेललिपिमा छापिएकै छैनन्। छापिएको जे जति छन् ती प्रशस्त छैनन्। सरहरूले लेखाउने नोट हाम्रा लागि टाढाका देवता बन्छन्। सरकारले अपाङ्गका लागि बजेट खन्याएको छ भन्छन् कहाँ खन्याउँछ? कागलाई बेल पाक्यो हर्ष न विस्मात।

एक त दृष्टिविहीन अर्को पिछडिएको बस्तीको पिछडिएको सोचाइका कारण मेरो पढाइ उमेर अनमेल मानिन्छ। क्लासमेटहरू जुनियर हुन्छन्। उनीहरूमा सामाजिकता सहयोगी भावनाको विकासमा परिपक्वता आएको हुँदैन त्यसकारण पनि कक्षाकोठामा हामीलाई घुलमिल हुन गाह्रो हुन्छ।

नर्मल बालबालिका र हामीमा स्कूल जाने उमेर फरकको कारण पनि समस्या पर्ने गर्दछ। दिसापिसाब जाँदा होस् , होटेल रेस्टुरेन्टमा खाँदा होस् बजार पसल जाँदा होस् जताततै अप्ठेरो हुन्छ। अपाङ्ग मैत्री वातावरण भइदिए सजिलो हुन्थ्यो। र पनि जीवन चलमलाएकै छ। तपाईहरूकै साथ पाएर यहाँसम्म आइपुगेको छु। विशेष गरी जहाँजहाँ काम गरें त्यहाँत्यहाँका रेडियोकर्मी दाजुप्रति निकै आभारी छु।

आज जीवन प्रसाद बनियाँबाट

जीवन बनियाँ भएको छु

कैयौ पटक गोरेटोमा हाँसेर रोएको छु

आँसुले धुन्छन् अरूहरू आफ्नो मनको घाउलाई

म त आलो रगतले काँचो घाउ धोएको छु

बनियाँलाई बानियाँ बोलिदिनुहुन्छ विडम्बना हो या सौभाग्य।

दृष्टीविहिन बनियाँ ब्रेकएनलिङ्समा हाम्रा सहकर्मी हुन्।

प्रकाशित मिति: : 2019-06-04 11:54:25

प्रतिकृया दिनुहोस्