अस्ट्रेलिया-नेपाल गौरवमय यात्रा तयारी अन्तिम चरणमा

धुलिखेलमा पार्क, धुर्मुस-सुन्तलीसँग क्रिकेट, पत्रकारलाई लेखनवृत्ति

बिएल संवाददाता

सिड्नी, पुस ५

नेपाल भ्रमण वर्ष २०२० मा अस्ट्रेलियाबाट दर्जनौ नेपाली जनवरी १ मै नेपाल पुग्ने अभियानको नेतृत्व गरेका सामाजिक अभियन्ता खेम शर्माले सबै तयारी अन्तिम चरणमा पुगेको  बताएका छन् ।

शुक्रबार सिड्नीमा अस्ट्रेलियन नेपाली जर्नालिस्ट एसोसियसनले आयोजना गरेको सम्वाद शृंखलामा उनले यस्तो जानकारी दिएका हुन्।

शर्माका अनुसार यात्रामा अस्ट्रेलियाका झन्डै तीन दर्जन सामाजिक अगुवा तथा अस्ट्रेलियन नागरिकले नेपाल भ्रमणका लागि आफ्नो नाम दर्ता गरेका छन् ।

नेपाल यात्राका क्रममा उनको टिमले बिभिन्न सामाजिक काम पनि गर्ने तयारि गरेको छ ।

यो टिमको भ्रमण तालिकाअनुसार पहिलो दिन नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालका सात प्रदेशका एक-एकजना पत्रकारलाई जनही पचास हजारको लेखनवृत्ति प्रदान गर्ने सहमतिपत्रमा हस्ताक्षर हुनेछ।

नेपाल पत्रकार महासंघले आगामी मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा उक्त लेखनवृत्ति वितरण गर्ने छ। खासगरी नेपालको पर्यटन प्रबर्धनका लागि काम गरिरहेका पत्रकारलाई उक्त लेखनवृत्ति दिने संयोजक शर्माले बताए ।

त्यस्तै यो भ्रमण टिमले भरतपुरमा जनस्तरबाट निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालामा धुर्मुस सुन्तली फाउन्डेसनसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने र सहयोग हस्तान्तरण गर्ने छ ।

अस्ट्रेलियाबाट नेपाल घुम्न आएर बिभिन्न समयमा नेपालमै ज्यान गुमाएका पर्यटकको सम्मानमा धुलिखेलमा पर्यटक स्मृतिपार्क निर्माण गर्न धुलिखेल नगरपालिकासँग सहमति पनि भएको छ। पार्क निर्माण गर्न अस्ट्रेलिया नेपाल भ्रमण टिमले पाँच लाख र धुलिखेल नगरपालिकाले पाँच लाख रकम लगानी गर्नेछन्। स्थान छनोट धुलिखेल नगरपालिकाले गर्ने छ।

नेपालका राजनीतिक दलका नेता र ब्यवसायीसँग पनि भेटघाट गर्ने योजना छ । भ्रमण टोली आगामी जनवरी ५ मा अस्ट्रेलिया फर्कने छ।

जनवरी १ मै काठमाडौं पुग्नेमा न्यु साउथ वेल्स का लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि बद्रि अर्याल, गैरआवाशीय नेपाली संघको अन्तराष्ट्रियय समितिका पूर्वयुवा संयोजक विजय पोखरेल, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका नेता दिनेश पोखरेल, नेपालीको बाक्लो बस्ती भएको सेन्ट जर्ज इलाकामा स्थापित ब्यवशायी युवराज भट्टराई , नेपलीज अस्ट्रेलियन युथ एसोसियसनका पूर्वअध्यक्ष भिष्म भण्डारी, एसोसियसन अफ नेपाल तराई इन अस्ट्रेलियाका पूर्वअध्यक्ष सुवास साहलगायत सिड्नीका स्थापित ब्यक्तित्व छन् ।

‘हाम्रो मातृभूमिको विकासका लागि हुने जुनसुकै राष्ट्रिय अभियानमा सहभागी हुनु हाम्रो कर्तब्य पनि पनि हो’, एसोसियसन अफ नेपाल तराई इन अस्ट्रेलियाका पूर्वअध्यक्ष सुवास साहले  भने।

नेपाल पर्यटन बोर्डका न्यु साउथ वेल्स प्रतिनिधि बद्री अर्यालले पर्यटन मन्त्रालयको मुख्य कार्यक्रमलाई जनस्तरमा हुने ऐक्यबद्धतामा आफू पनि  सामेल हुने बताए।

नेपाली अस्ट्रेलियन युथ यसोसियसनका पूर्वमहासचिव भिष्म भण्डारी गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको जनवरी १ मा नेपाल जाउँ भन्ने अभियानबाट उत्साहित भएर जनवरी १ तारिखमा नेपालमा पुग्ने टिमसँगै भिजिट नेपाल २०२०को कार्यक्रममा सामेल हुनेछन्।

फिनल्याण्डबाट नेपाल आउने अर्को टोलीसँग नेपालका पर्यटकीय नगरहरु घुम्ने उनको योजना छ। उनले भने, ' प्रवासमा भएका नेपालीले पहिले राष्ट्रिय अभियानलाई सफल पार्न आफैं सहभागिता जनाउनुपर्छ।'

अभियानको क्रममा जोडिएका सिड्नीका ब्यबसायी युवराज भट्टराईले जनवरी पहिलो दिनमै नेपाल पुगेर राष्ट्रिय अभियानमा सामेल हुने सकारात्मक योजना मन परेर तत्काल निर्णय लिएको बताए। उनी सिड्नीमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने इलाका रक्डेलमा बिगत दुई दशकदेखि स्थापित र अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायसँग बलियो सम्बन्ध भएका नेपाली मूलका अस्ट्रेलियन् हुन्।

यो अभियानमा हालसालै नेपाली चेलीसँग बिहे गरेका भिक्टोरिया निवासी अस्ट्रेलियन नागरिक  स्टेब बेट्टी पनि सहभागी भएका छन्।

अहिले भियतनाम भ्रमणमा रहेका उनि जनवरी १ को अघिल्लो साँझ काठमाडौं पुग्ने छन्।

अभियानको तयारीकै क्रममा जुटेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका पूर्वयुवा संयोजक विजय पोखरेलले  नेपाल सरकारले तय गरेको राष्ट्रिय अभियानलाई सफल पार्न हामी बाहिर भएका नेपालीको स्वोत स्फूर्त जिम्मेवारी, कर्तब्य  र भूमिका  हुन आउने बताए।

उनले यो सुरुवाती अभियानको प्रभाव विश्वभरका नेपालीमा पर्ने बताए।

नेपाल बाहिर हुर्केको दोश्रो पुस्तालाई आफ्नो एक साथी पनि नेपाल लिएर जान उत्प्रेरित गर्नुपर्ने पनि उनले बताए।

उनले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिले पनि जनवरी १ मै नेपाल पुगौं भन्ने अभियानलाई सम्मान गर्ने बताए ।

गैरआवासीय नेपाली संघले निर्माण गरेको टास्क फोर्सका ग्लोबल संयोजक समेत रहेका विजय पोखरेलले बुद्ध जन्मेको देश नेपाल विश्वको सुन्दर र शान्त देश हो भनेर विश्वब्यापी अभियानहरु पनि सञ्चालन गरिने बताए।

उनले आफू जनवरी १ मै नेपाल पुगेर भिजिट नेपालको अभियानमा सहभागी हुने र जनवरी ७ मा सिड्नीको कार्यक्रममा सहभागी हुन फर्किने बताए।

भिजिट नेपाल २०२० का लागि ओसियाना क्षेत्रमा गैरआवासीय नेपालीहरुको संयोजनका लागि निर्माण भएको कार्यदलका संयोजक दिनेश पोखरेलले यो क्षेत्र भरिका देशमा भएका गैरआवासीय नेपाली संघका राष्ट्रिय कार्यसमिति तथा नेपाली सामाजिक सस्थाहरुसँग मिलेर नेपालको पर्यटन प्रवर्द्धनका कामहरु गर्ने बताए ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले निर्माण गरेको अस्ट्रेलिया -नेपाल गौरवमय यात्राका संयोजक खेम शर्माले नेपालमा बिपतका बेला नेपालीहरु एकजुट भएर सहभागी भएजस्तै राष्ट्रिय समृद्धिको लागि सुरु हुन लागेको भिजिट नेपाल २०२०मा सामुहिक रुपमा एकै दिन नेपाल पुगेर ऐेक्यवद्धता जनाउनु हाम सबैको कर्तब्य भएको बताए।

उनले राष्ट्रिय समृद्धिको अभियानमा सहभागी हुनु भनेको भोलिका सम्भावित बिपतहरुबाट मातृभूमिलाई बचाउनु पनि भएको बताए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका न्यु साउथ वेल्स संयोजक देव गुरुङ, सिड्नी रेलका कर्मचारी नरेश अवाल, पर्यटन ब्यवसायी सुरेन्द्र सापकोटा , गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय संयोजक समितिका सदस्य अरुण ठाकुर , सिड्नी लाइट रेलका जनसम्पर्क अधिकृत अनन्त कार्की, नेपाली अस्ट्रेलियन युथ एसोसियसनका पूर्वअध्यक्ष कोमल पाठक र बर्तमान अध्यक्ष प्रकाश अर्याल, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, सिड्नीका ब्यबसायी महेन्द्र घिमिरे र डिला खरेल, नितिश गुप्ता , अखिल  क्रान्तिकारीका पूर्वसचिव दीपक पाण्डे तथा सदस्हयरु हेमन्त खड्का र रेश्मा तिमिल्सिनालगायतको उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता नेप्लिज अस्ट्रेलियन जर्नालिस्ट एसोसियसनका अध्यक्ष हेमन्त काफ्लेले गरेका थिए।

अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसियसन गत नोभेम्बर महिनामा अस्ट्रेलियामा दर्ता भएको अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था हो ।

प्रकाशित मिति: : 2019-12-22 13:49:58

प्रतिकृया दिनुहोस्