विमलसहितका चार खेलाडीको प्रतिबन्ध घट्यो

अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्ट्राइकर विमल घर्ति मगरसहित चार फुटबलरमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ।

एन्फाको अनुशासन कमिटिले मंगलबार विमलसहित दिनेश राजवंशी, अन्जन बिष्ट र सन्तोष तामाङमाथि गरिएको कारबाही २७ दिन घटाउने निर्णय गरेको हो।

विश्वकप छनोट अन्तर्गत  कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन नाईट क्लबमा बिताएपछि अनुशासन कमिटिले विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो। यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको थियो।

एन्फाले चारै खेलाडीमाथि गरिएको ५० हजार रुपैयाँ जरिवाना भने यथावत रहने जनाएको छ।

अब कात्तिक ३० गतेदेखि कारबाही लागू भएपछि अन्जन र सन्तोषले ए डिभिजन लिगका दुई खेल मात्र गुमाउनेछन्। अन्जन साविक विजेता मनाङकाे खेलाडी हुन् भने सन्तोष आर्मीका मिडफिल्डर हुन्।

त्यस्तै विमल भने हाल माल्दिभ्सको लिगमा शीर्ष डिभिजन क्लब टीसी स्पोर्ट्सबाट खेलिरहेका कारण एन्फा अन्तर्गत प्रतियोगितामा मात्र कारबाही हुने भएको छ। तर अर्का खेलाडी दिनेशले भने प्रतिबन्ध फुकुवा हुन माघ ३० सम्म पर्खिनुपर्ने भएको छ।

प्रकाशित मिति: : 2019-12-25 06:08:09

प्रतिकृया दिनुहोस्