आहा! मनै लोभ्याउने घान्द्रुकको यात्रा 

हिमालको काखमा रहेको पर्यटकीय नगरी पोखरा अनि यसको ३३ किलोमिटर सेरोफेरोमा रहेको सुन्दर गाउँ घान्द्रुक। 

पोखरा म वर्षेनी जाने गर्छु। तर, नजिकैको तीर्थ हेला भने झैं घान्द्रुक जाने अवसर जुरेको थिएन। यसपालि बल्ल तल्ल त्यो साइत पनि जुर्‍यो। 

होमस्टेका लागि विख्यात घान्द्रुक अन्नपुर्ण बेसक्याम्प जाने बाटोमा पर्छ भन्ने हेक्का त मलाई पहिले नै थियो। तर यो भन्दा बढि जानकारी थिएन। 

पोखराको रमणीय वातावरणमा घुलमिल भएपछि विदेशी पर्यटक प्रायः ट्रेकिङको मज्जा लिन अन्नपूर्ण बेस क्याम्पतर्फ हान्निने गर्छन्। हामी पनि यसपालि विदेशी पर्यटकसँगै घान्द्रुकको मज्जा लिन पोखराबाट गाडी चढ्यौं। 

पोखराबाट छुटेको बस ध्याङफेदी, नौडाँडा र लुम्ले हुँदै नयाँ पुलमा पुगेर रोकियो। विदेशी पर्यटक गाडीबाट उत्रिए र उनीहरू अन्नपूर्ण बेस क्याम्पतर्फ लागे। हामी भने घान्द्रुकतर्फ मोडियौं। 

निर्माणधीन कच्ची सडक, दायाँपट्टि ठूलो भीर, त्यसैको आडबाट बगेको मोदी खोला र सुन्दर झरनाको दृश्य। वास्तवमा घान्द्रुक जाँदा देखिने यस्ता अविस्मरणीय दृश्यले जो कोहीलाई पागल बनाउँछ।

तर, एकइन्ची पनि तलमाथि भयो भने सिधैं भीरबाट खसिने डरले धेरैको मनमा एउटा प्रश्न पनि उठ्ने गर्छ, ‘नेपालको सडक यतिसम्म खत्तम  किन हुन्छ?’ 

घुम्ति नै घुम्तिको डरलाग्दो सडकका बीच आफ्नो शरीरलाई जाेखिममा पारेर आँखा चिम्म गर्दै अगाडि बढ्दा मेरो पनि मनमा एउटा प्रश्नले डेरा जमाएकाे थियाे– ‘के साच्चि नै ट्रेकिङको महत्वलाई विकासको अवधारणाले घटाएको हो?’ 

ट्रेकिङको गन्तव्य स्थलमा विकासको नाममा बनेका सडकले पर्यटकको बसाईं छोटो पार्दा यसले पर्यटन क्षेत्रबाट हुने आर्थिक लाभ घट्दै जाने निश्चित छ। 

नेपालले पर्यटन वर्ष–२०२० मा २० लाख पर्यटक देश भित्र्याउने लक्ष्य बनाएकाे छ। यसका लागि सरकारले पक्कै पनि योजनासहित रणनीति बनाएकै होला। तर, पर्यटन वर्षमा पनि नेपालको कूल ग्राहस्थ उत्पादनमा बृद्धि हुन सकेन भने यसको अर्थ रहदैन्। तसर्थ पर्यटक संख्या बढाउने भन्दा पनि पर्यटकको बसाईं लम्ब्याउने रणनीति तयार पारे यसले धेरै अर्थमा लाभ दिने कुरालाई नकार्न सकिन्न। 

घान्द्रुकसम्म पुग्न ट्रेकिङको विकल्प नभएको भए बसबाट यात्रा गर्ने हामीलगायत बिदेशी पाहुँनाको बसाईं लम्बिने थियो। र खर्च पनि बृद्धि हुने थियो। तर सहज रूपमा पुग्न सकिने विकल्प भेटेपछि म मात्र होइन, म जस्ता सयौं आन्तरिक तथा बाह्रय पर्यटकले आफ्नो बसाईं र खर्च घटाउनु स्वभाविक हाे। 

नयाँपुलबाट लगभग ३ घण्टाको बस यात्रापछि हामी घान्द्रुक पुग्यौ। कलेजबाट आएका विद्यार्थी तथा केही बैवाहिक जोडी हनिमुनका लागि त्यहाँ पुगेका थिए। आर्थिक रूपमा सम्पन्न मानिस बिदा मनाउन विदेश जानुभन्दा स्वेदशमै रमाउन सकिन्छ भन्ने मानसिकता बढ्दै गएको अनुभूति घान्द्रुक यात्राले गरायो । 

ढुङ्गै ढुङ्गाको बाटो तथा घर भएको घान्द्रुकमा गुरुङ समुदायको रहनसहन, भेषभुषा, धर्म र संस्कृतिलाई नजिकबाट नियाल्न सकिन्छ। विदेशी पर्यटक अन्नपूर्ण वेस क्याम्प जाँदा बास विसाउने ठाउँको रुपमा घान्द्रुकको विकाश भएको रहेछ। यसैले यहाँको होमस्टे फस्टाउँदो मात्र होइन, विदेशमा पनि चर्चित छ। 

पर्यटकले स्थानीय समुदायको खेतबारीमा टेन्ट लगाएर रात काट्ने र सो वापत केही रकम खर्चिने गर्छन्। 

‘पहिले डलरको महत्व थाहा नहुँदा चल्दैन भनेर फ्याकिदिन्थ्यौं। अहिले बल्ल यसको महत्व थाहा पायौं,’ स्थानीय एक होटल व्यवसायीले सुनाए। अन्नपुर्ण हिमाल माछापुछ्रे तथा हिमचुलीको दृश्य बिहानको पारिलो घामसँगै झुल्किँदा कसलाई स्वर्ग गएकाे अनुभूति हुँदैन! लाग्थ्यो– घान्द्रुकलाई अन्नपूर्ण हिमालले घुम्टोमा बेरेर राखेको छ। 

स्थानीय गुरुङ परिवारले सञ्चालन गरेको तमु होमस्टेमा बस्दा गाउँको न्यास्रो पुरै मेटियो। घरकै आगँनमा छर्केको साग अनि मस्याङ्गको दाल र मुलाको अचारसँग भात खाँदा बच्चाबेलामा गाउँमा हजुरआमाले पस्केको खानाको झल्को  आयो । होमस्टे चलाउने ५० वर्षीय आमाको माया पनि घरकी आमाको भन्दा कम लागेको थिएन। 

एक रातको बसाईंमा उनले आफ्नो विगतको भोगाई सुनाइन्। मैले पनि आफ्नो जीवनका सबै पिडा आमालाई जस्तै नलुकाई सुनाए। 

एकछोरी र छोराकी ती आमैलाई बच्चैमा उनका आमाबुवाले नातेदार भन्दै फुपुको छोरासँग विवाह गराइदिएका रहेछन्। भारतीय सेनाका जागिरे श्रीमान मानसिक सन्तुलन बिग्रिएपछि घर फर्किएका रहेछन्। यसपछि जीविकोपार्जनका लागि उनले होमस्टे सञ्चालन गरेकी रहेछिन्। भनिन्, ‘धेरै छोराछोरी बस्न आउछन्। सबैले विर्सनै नसिकने माया लाएर जान्छन्। सबैको आर्शिवादले महिनामा झण्डै ५० हजार घरमै बसेर कमाउँछु।’ 

उनको माया र सद्भाव देख्दा म पनि भावुक भएकी थिए। लाग्यो हाम्रो सम्बन्ध बर्षो पुरानो त थिएन! यही माया र सद्भाव तथा घरेलु माहाेलमा घरकै स्वाद पस्किने भएर त मानिस शहरको चारताले होटल छाेडेर होमस्टे खोज्दै गाँउतिर पस्न थालेका रहेछन्। 

आगनभरि फुलेका फुल अनि सुकाएको विस्कुनसँग लाडिँदै अन्नपूर्णको काखमा बसेर बिहान चियाको चुस्की लिँदा मज्जा नै बेग्लै हुने।

शहरको आलिशान महलको देखावटी जीवनशैली भन्दा गाउँको होमस्टेको बसाईंको आनन्द शब्दमा व्यक्त गर्न सकिदैन्। यसको लागि सबैले शहरबाट अलि टाढा रहेको घान्द्रुक होमस्टेमा गएर एक–दुईरात बिताउनै पर्ने हुन्छ।  
 
 
 

प्रकाशित मिति: Jan 17, 2020 19:47:09

प्रतिक्रिया दिनुहोस

सबै