जीवनयात्रा…

कविता

जीवनयात्रा…

प्रत्यूष ,

यात्राको चौबाटोमा भेट हुँदा

अलिकति मुस्कानसँगैं

बढेको आत्मीयताले

कुनै सम्झना बल्झिन्छ कि नाईं ? 

कर्लीकर्ली कपाल सुमसुम्याउँदै

म बिस्तारै हाँसीदिन्छु नि अनि 

है ?

अनि तिमी त्यहीँ हेरी सुस्तरी

बन्दै गरेको परिचय देऊ न ल ?

मैले सोधेका गाह्रो प्रश्नहरुको

उत्तर दिन कुनै जरूरि छैन

बरु ,

उकालीओरालीमा रूमलिएको पाइलाहरु

आँधीवेहरी जुध्दै आएको मनको

भाका सुनाऊ हस्?

 

म नक्कली भएर पोजपोज दिँदा

तिमी रिसाउन चाहीँ नरिसाऊ

है ?

नढाँटी भन न

प्रत्यूष, त्यतिबेला

मैले चुरीदार कुर्ता लगाउँ

कि वनारसी सारी लगाउँ?

अनि साँझमा ती तस्बिर  हेरेर

यादहरु बनाउँला

कुनैलाई कथा, कुनैलाई कविता

है ?

 

अर्को भेटमा कास्कीकोट जानुपर्छ ल

म गुलाबी स्कुटी चढेर तिमीलाई लिफ्ट दिउँला

तिमी चाहिं जीवनको क्यामेरा 

अनि मनको कलम बोकी आऊ ल

बरु एउटा कुरा चाहीँ

अहिले नै भन न है

तिमीलाई मैले कपाल बाटेको मनपर्छ

की सररर हावामा फिजाको मनपर्छ?

 

लुम्लेको डाँडामा बसी

दिनको रंगिलो सुरुवात गर्नु तिमी

सुन्दर कथामा अझै रङ्ग थप्दै जाऊ

म चाहीँ माछापुछ्रे हिमाल हेर्दै गर्छु नि

पुरानो सबै कुण्ठा  उतैकतै छोडेर

झन् नयाँ कथा लेख बरू

धेरै लेखेर त के गर्नु र ?

आफैं नै थाकिन्छ

तिम्रो त्यो चोटिलो मनको मसिले 

छरिदेऊ बेजोड शब्दहरु

आखाँमै अनि मुटुमै

बरु अलिकति गहनता थप

पढ्न  तलतल लाग्नेगरि

कथाको मर्म  फिक्का भए

अलिकति रश्मि सापटी लिऊ

अलिकति सन्तोष थप

अनि त जीवनकथा तयार भैहाल्छ नि

तिमी त्यसैको काव्य बनाऊ

म अलिकति शृंगार थपूँला

यादगार यात्राको सुभारम्भ

यसरी नै त हो नि हुने ।

 

लुम्लेको चिसो बतासले

झ्वामै गलामा हिर्काए

नआत्तिनू तिमी ल ?

रंगका धुनहरुले त झन्

सुन्दर लय हुन्छ

त्यही लय मिलाएर

हामी एउटा गीत गाउँला

मेरो गुलाबी सारीको पछ्यौरी

अनि तिम्रो गलबन्दी उडाउँदै

मारुनीको भाकामा नाचौंला

आँखा चिम्लेर

अदृश्य कथाहरु कल्पिदै

अलिकति फोटोसेसन नि गरौंला

तिम्रो तस्विर कलाको

जीवन्त उचाई नापौंला

प्रत्यूष,

कस्तो होला है त्यो तस्विर ?

तिम्रो कला सुन्दर होला की

हाम्रो तस्विर सुन्दर होला !

 

कोर्दाकोर्दै जिन्दगीका कथाव्यथा

औलाहरु थकित भए

सलल मनका कुरा सारा भन ल

गहकिलो कथा कहीं पनि त

लुक्नुहुन्न , चुक्नुहुन्न ।

 

कथासँग झेल्दै गर्दा अल्छि लागे

मिठो मसलेदार दूधचिया पिउँला

साँच्ची,प्रत्यूष

तिमीलाई चियासंग शेल मनपर्छ की बिस्कुट ?

 

साँझमा बिस्तारै सारंकोट झरौँला

अनि लेकसाइड हुँदै फेवा हेरौँला

जीवनका सुन्दर पल बिताउँला

रंगीचंगी डुंगा हेर्दै  रमाउँला

फेवाको चिसो पानीले

तिमीलाई अलिकति छ्याप्छु

तिम्रो चस्मामा पानीको थोपा परे

न रिसाऊ न ल

तिम्रो अनुहार चित्रमा पानीरंग पर्दा

तिम्रो कथा अनि तिमी

कुन चाहिं मर्मस्पर्शी  होला ?

एकचोटी हेर्न, सुन्न  मन छ 

बरु ,

तिमी नै भनिदेऊ न ,

सुन्दर पानीबीच रंगिन तिम्रा आँखा हुन् की

तिम्रा ती सुन्दर लेखाई ?

अनि त्यहीबेला खिचिक्क एउटा तस्विर लिउँला

बरु भनिदेऊ न प्रत्यूष ,

तिमीलाई सेल्फी मनपर्छ कि वेल्फी ?

 

अन्जान भेट

अन्जान यात्राका

अन्जान यात्री  हामी

र पनि किन अन्जान छैनौँ हामी ?

तालबाराही माईलाई साक्षी राखी

भनिदेऊ न प्रत्यूष,

कुन तत्व ,कुन बिश्वासले

जुर्यो यो सुन्दर जीवनयात्रा?

 

शान्ति गुम्वाको उचाई जस्तै

अनि उस्तै शान्त तिम्रो मन

बिहानीको सुनौलो किरणजस्तै

मनास्लु अनि अन्नपुर्णजस्तै अटल

सेती खोलाभन्दा संग्लो बिचार

भन प्रत्यूष,

सजीव जीवन्तता कहाँबाट पायौ ?

 

आऊ हामी पनि एउटा जीवन बुनौं

अलिकति रहर

अलिकति भावना  मिसाऔं

अनि मायाका धून मिसाई

यायावर  गरौँ 

साँची प्रत्यूष,

तिमीलाई पाताले छाँगो मनपर्छ 

कि महेन्द्र गुफा ?

प्रकाशित मिति: Jan 18, 2020 12:10:00

प्रतिक्रिया दिनुहोस

सबै