बिएल-वार्ता
विगत १४ वर्षदेखि थाइल्याण्डमा बसोबास गरिरहेका नेपालीभाषी युवा साहित्यकार राज पौड्याल (३०), म्यान्मारको श्यान प्रान्तस्थित याकसक वाँप्या ग्राममा जन्मिएका हुन्। उनी थाइल्याण्डमा व्यापारसँगै साहित्यिक गतिविधिमा पनि सक्रिय छन्। राज अहिले थाइ–नेपाली संघ, थाइल्याण्डको थाई नेपाली संघ बैंकक शाखा -शिक्षा उप-प्रमुख समेत हुन्।
थाइल्याण्डका नेपाली भाषी र नेपाली साहित्यमा युवा पुस्ताको सहभागिताका विषयमा बिएल नेपाली सेवाका संवाददाताले उनीसँग गरेको कुराकानीको सम्पादित अंश
नेपालको कुन ठाउँबाट र कहिले पुर्खाहरू बर्मा आउनुभयो?
मेरा पुर्खा (हजुरबाको बा) पश्चिम नेपालको पोखरा आसपासबाट लगभग सन् १८८५ तिर बर्मा आउनुभएको बाले भन्नुहुन्थ्यो। मेरो हजुरबाहरू सात भाइ हुनुहुन्थ्यो रे। ती मध्ये दुइटा हजुरबा बर्मा आउनुभएको हो। यत्तिसम्म मलाई थाहा छ।
मेरो पुर्खाको भूमि नेपालको पोखरातिर हो रे भन्ने सुने पनि नेपालका सन्तानसँग अहिलेसम्म सम्पर्क भएको छैन।
तपाईँ थाइल्याण्डमा बस्न थालेको कति भयो?
थाइल्याड बस्न थालेको करिब १४ वर्ष जति भयो। मैले यहाँ केही वर्ष काम पनि गरेँ, सबैसँग सल्लाह गरेर पछि आफ्नै कपडा पसल खोलेको छु। व्यापार राम्रै छ। खुसी छु।
थाइल्याण्डमा बसोबास गर्ने नेपालीभाषीको अवस्था कस्तो छ?
यहाँ बसोबास गर्ने नेपाली भाषीहरुको अवस्था राम्रो छ। मेरो विचारमा आर्थिक रुपले सबै जना सन्तुष्ट नै हुनुहुन्छ होला। थाइल्याण्डमा ८० हजार जति नेपाली भाषीहरू छौं।
नेपाली भाषा, कला र संस्कृतिको हिसाबले हाम्रो अवस्था राम्रो छ। धेरैजसो बर्माबाट आएका नेपाली भाषीहरु छौं। अनि थाइ–नेपाली र नेपालबाट आएका नेपालीहरू मिलेर विभिन्न उत्सवहरु गरिरहेका छौं। त्यहीँ हाम्रो भेटघाट हुन्छ।
तपाईँहरू नेपालका बारेमा के–के कुराको अपडेट राख्नुहुन्छ?
पशुपतिनाथ र भगवान बुद्ध भूमि लुम्बिनी नजान्ने त कोही पनि भेट्नु हुन्न। प्रायः नेपालका चर्चित ठाउँहरु, कलाकारहरू पछिल्लो पुस्ताहरुले राम्रोसँग जान्नुहुन्छ।
साहित्यमा रुचि राख्नेहरु माधवप्रसाद घिमिरे, लक्ष्मीप्रसाद देवकोटाका बारेमा राम्रो थाहा पाउनुहुन्छ। उहाँहरूका पुस्तक पनि पढेका छौं। हुनत, हामीहरु नेपाल भन्दा टाढा छौं, तर नेपाल बिर्सेका छैनौं।
तपाईंको साहित्य यात्रा कसरी सुरू भयो?
सानो उमेरदेखि नै साहित्यप्रति निकै रूचि थियो। नेपाली पाठशालामा पढ्दा पनि मैले साहित्यहरू लेख्थेँ। म थाइल्याण्ड आएपछि सामाजिक सञ्जालको प्रयोग गरेँ। सामाजिक सञ्जालको प्रयोगसँगै मैले कविता पनि जान्न थालेँ। लेख्न थाले। यसरी नै मेरो साहित्य अघि बढ्यो।
नेपाली साहित्यमा युवा पुस्ताको सहभागिता कस्तो छ?
पछिल्लो समय युवाको साहित्यमा राम्रो रूचि छ। उहाँहरुले निकै चासोका साथ साहित्यिक पुस्तकहरु पढ्नुहुन्छ। कविता, गजल, मुक्तकहरु लेख्नुहुन्छ। अहिले त, पहिले जस्तो प्रकाशन गर्न अप्ठेरो पनि छैन। नेपालबाट प्रकाशित अनलाइनहरुले म्यानमार, थाइल्यण्डका रचनाहरुलाई स्थान दिनुहुन्छ।
भाषा, संस्कृतिको जर्गेना गर्न थाइ–नेपाली संघबाट कस्ता–कस्ता अभियानहरु चलाउनु भएको छ ?
पाठशाला मार्फत नेपाली अक्षर चिनाउने काम गरिरहेका छौं। संस्कृतिको जर्गेनाका लागि विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरेकै छौं। थाइल्याण्डमा आइडलहरू सञ्चालन गर्छौं। सिविरहरु चलाउने काम पनि हुन्छ। गुरूहरू मार्फत हप्ता दिनसम्म नेपाली जाति र नेपाली भाषाका बारेमा कक्षा समेत चलाएका छौं।
साहित्यको विकासमा नेपाली दूतावासले समन्वय गर्छ कि, गर्दैन ?
दूतावासले अहिलेसम्म समन्वय गरेको छैन। एक दुई पल्ट दूतावासका अधिकारीहरुसँग मैले पनि सम्पर्क गरेँ, तर उहाँहरुले वास्ता गर्नु भएन। हामीहरु दूतावाससँगै नेपाली साहित्यको विकासका लागि हातेमालो गर्न इच्छुक छौं।
थाइल्याण्डमा पनि साहित्यिक कार्यक्रम गर्नुभएको छ वा सोच मात्र छ?
थाइल्याण्डमा हामीहरुले २–३ पटक भव्य कार्यक्रमका आयोजना गरेका छौं। फेरि पनि कार्यक्रम गर्ने सोच बनाएका छौं।
नेपाली पुस्तकहरू कुन माध्यमबाट यहाँ आइपुग्छन्?
पक्कै पनि पुस्तक पढ्दा रमाइलो लाग्छ। नेपाली पुस्तक यहाँ आउने माध्यमभनेको लेखकसँग सम्पर्क गरेर नै हो। अरू उपाय छैन।
पछिल्लो समय नेपाली भाषाका कुन–कुन पुस्तक पढ्नु भएको छ?
मैले समर लभ (सुबिन भट्टराई), बेलाइततिर बरालिँदा (डा. ताना शर्मा), मुना मदन, सगरमाथाको गहिराई (नवराज पराजुली), चिना हराएको मान्छे (हरिबंश आर्चाय), तीन घुम्ती (वीपी कोइराला) लगायतका पुस्तक पढेको छु। मलाई पुस्तक पढ्दा रमाइलो लाग्छ।