 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                समयले कयौं स्मृतिहरु धमिलो बनाउँदै लैजान्छ। तर, केही स्मृति जति समय बित्दा पनि धमिलो हुदैनन्। वर्तमानले तिनलाई पुनर्ताजगी गर्दा घटित समयभन्दा ती स्मृति अझ ताजा बन्दा रहेछन्। २०३७ साल फागुन १२ गते पञ्चायति व्यवस्थाबाट मारिनु भएका बुवा ऋषिराज देवकोटा ‘आजाद’ मेरो सन्दर्भमा त्यसरी नै हरेक वर्ष झनै ताजा सम्झना बनेर आइरहनुभएको छ।
म नौ वर्ष नपुगेको गाउँले केटो भएपनि उहाँ भूमिगत कम्युनिष्ट नेता हुनुभएको मलाई राम्रो थाहा थियो। सिन्धुली भीमान त्यसबेला राजनीतिक चहलपहलमय थियो। जनमत संग्रहको समय रहेछ, बहुदल/निर्दलको पक्षविपक्षमा जुलुश—प्रचार भइरहन्थ्यो। जनमत संग्रहमा तत्कालिन सत्ताले नियोजित विजय पाएपछि केही अघि भइरहेका खुला राजनीतिक गतिविधी बन्द भएका थिए। यस्तै एक दिन भीमान स्कुलमा ४ कक्षा पढिरहेको बेला बुबालाई प्रहरीले पक्राउ गरेको कोहीबाट सुने। त्यो सुनेपछि त्यसबेलाको चेतनाले पनि मलाई खतरा महशुस गराएको थियो। आमा, भाई र बहिनीहरुसहित त्यहाँबाट पैदल एक दिन टाढा मावली वितिजोर, हर्कपुरमा हुनुहुन्थ्यो। त्यसकारण, बुबामाथि खतरा रहेको थाहा पाउँदा पनि मन खोलेर रुन पाइएन।
यस्तैमा भोलीपल्ट राती माईली हजुरआमाको घरमा खाना खाएर निदाईसकेको बेला हजुरआमाले उठाउनुभयो। त्योभन्दा ४,५ वर्षअघि नै घर हात्ति लगाएर भत्काएको तथा खेत हात्ति लगाएर चराएकाले हामी छरिएर बसेका थियौं। हजुरआमाले साउतीको स्वरमा बुवालाई जीपमा कतै लैजान लागेको बताउनुभयो र चालमारेर सुन्न थाल्नुभयो। त्यसको आधा घण्टापछि दुई पटक बन्दुक पड्क्यो। अनि, हजुरआमाले लामो स्वास तान्दै ऋषिलाई मारे भन्नुभयो। अध्याँरो भएकाले उहाँको आँशु झर्यो झरेन, देखिन। मेरो मुट चिरिएर त्यसै त्यसै अप्ठ्यारो भएको अहिले पनि सम्झिन्छु, तर आँशु झरे झरेनन् अहिले सम्झना छैन।
भोलीपल्ट भीमानभरी बुवालाई मारेको चर्चा थियो। आमा भने पर्सिपल्ट बेलुका भाई बहिनी लिएर मावलबाट आइपुग्नुभयो। मलाई अहिले पनि सम्झना छ, उहाँको अनुहार हतास र रुँदा रुँदा थाके जस्तो देखिन्थ्यो। त्यही बेलुका हामी काका रमेशसहित केही युवासँग बुवालाई हत्या गरेको ठाउँ पुग्यौं। अहिले बिपी राजमार्ग नजिकै रहेको बाँसखोला र भीमान खोलाको दोभानमा लाश जलाइसकिएको रहेछ, अनि रगतका फाल्शा त्यही खाल्टोमा पुरिएको देख्यौं।
एकदमै गरिवीमा हुर्केर अरुको भाँडा माझदँै स्कुल तथा सानोतिनो काम गर्दै कलेज पढ्नुभएको एक जना युवा हुनुहुन्थ्यो, बुवा। आफ्नोलागि होइन, समाजका लागि केही गर्नुपर्छ भनेर उहाँ २०२४ सालमा काठमाडौंबाट गाउँ खुर्काेट पुगेर त्यहाँको प्राथमिक विद्यालयलाई माध्यमिक बनाएर पढाउन थाल्नुभएको थियो। त्यसको तीन वर्षपछि केही सुगम भीमानमा परिवारसहित बसाई सर्नुभयो र त्यहाँपनि आफ्नो अगुवाईमा माध्यमिक विद्यालय स्थापना गराउनुभयो।
पढेलेखेका युवामा त्यो बेला राजा महेन्द्रले सुरु गरेको एकतन्त्रीय पंचायति मूलधारमा रमाउने त थिए नै, कयौं युवाहरु त्यो व्यवस्था ढाल्नैपर्ने निश्कर्षसहित कम्युनिष्ट र कांग्रेस भएका थिए। गाउँ खुर्काेटमा अगुवाहरु कम्युनिष्ट समर्थक थिए, त्यहीबाट कम्युनिष्ट विचारसँग आकर्षित उहाँलाई काठमाडौं कलेज पढ्दाको माहोलले अरु जब्बर कम्युनिष्ट बनाएको थियो। उहाँ गाउँ फर्किनुमा सामाजिक कार्य गर्नुसँगै कम्युनिष्ट राजनीति अघि बढाउने उदेश्य थियो।
सत्ताका लागि उहाँको त्यो उदेश्य खतरनाक थियो। किनभने, त्यसले उसको आयु छोट्याउथ्यो। राजा नेतृत्वको तत्कालिन पञ्चायति सत्ताले उहाँको हत्या गर्नुको एउटै कारण आफ्नो अस्तित्व रक्षा थियो। त्यसका लागि उसले तत्कालिन संवैधानिक र कानुनी बन्दोबस्त पनि उल्लघंन गरेको थियो। बुवाको हत्यापछि आमाले सर्वाेच्चसम्म पुगेर कानुनी लडाई लड्नुभयो। तर, सत्ताले पहिले त उहाँलाई पक्राउ गरेको नै स्वीकार गरेन, पछि पक्राउ गरेको तर, जेल सार्नेक्रममा हतियार खोसेर भाग्न खोजेकाले प्रहरीले प्रतिकार गर्दा मारिएको झुठो बयान दियो।
बुवासँग मेरो सम्झनामा धेरै भेट भएनन्। लामो समयदेखि उहाँ भूमिगत रहनुभएकाले मुश्किलले ४,५ पटक मात्र भेट भएको सम्झना छ। सिन्धुली भीमानको घरमा उहाँसँग भेट भएको त सम्झना नै छैन, सिन्धुलीकै काउछेमा आश्रय लिएको घर र भारतमा भएका भेटहरुका मात्र धमिला सम्झनाहरु छन्।
उहाँको विषयमा धेरै जानकारी उहाँसँग संगतमा रहेकाहरुसँग पछि बुझ्दै जाँदा पाएको हुँ। उहाँसँग संगत रहेका मानिसहरुसँगको भेटले उहाँको स्वभाव, व्यवहार र महत्ववारे जानकारी बढ्दै गयो। हत्याको खबर पाउँदा बुवा गुमेको दुःख र पिडा मात्र महशुस गरेको मलाई बिस्तारै उहाँप्रति र उहाँको सन्तान हुनुको गर्व हुँदै गयो।
३७ वर्षको उमेरमा मारिनुभएको उहाँको व्यक्तिगत प्रभाव पूर्वको भोजपुरदेखि पश्चिमको कञ्चनपुरसम्म फैलिएको पाएको छु। तराई, पहाड, हिमाल जताततै उहाँ पुग्नुभएको तथा राजनीतिक प्रभाव छोड्नभएको भेटेको छु। उहाँसँग संगत गरेका मानिसहरुबाट उहाँमा रहेको प्रखरता, सक्रियता र आफ्नो उदेश्यप्रति दृढता महशुस गरेको छु। यातायातका साधनको अत्यन्तै अभाव रहेको त्यो समयमा त्यति विशाल क्षेत्रमा आफ्नो प्रभाव छाड्न कसरी सक्नुभयो, जतिपटक सोच्दा पनि जवाफ पाउदिन।
उहाँको राजनीतिक जीवन काठमाडौंमा तुलशिलाल अमात्यसँगको सम्पर्कमा सुरु भएको रहेछ। त्यसपछि उहाँको पुष्पलाल समूहसँग निकटता बढेछ र खुर्काेट फर्केपछि जनकपुर अञ्चलका कम्युनिष्टहरुको छुट्टै समूह बनाउनु भएछ। त्यसैक्रममा प्रशासनले पक्रेर १८ महिना जेल राखेको उहाँ जेलबाट छुटेपछि मोहनबिक्रम सिंहले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशन समूहमा संलग्न हुनुभएछ। त्यो समूहको २०३१ सालमा भएको महाधिवेशनमा भाग लिदै उहाँ केन्द्रीय सदस्य बन्नुभएछ। राजनीतिक क्षमता बढाउँदै उहाँ त्यो समूहको पोलिटब्यूरो सदस्यसम्म बन्नुभएछ। तर, त्यसका नेताहरुको कार्यशैली र बिचारसँग सहमत नभएपछि २०३७ सालको सुरुवातमा उक्त पार्टीबाट राजीनामा दिनुभएछ। त्यसपछि तत्कालिन नेकपा मालेसँग वार्ता गर्दै त्यसमा समावेश हुनेक्रममा रहनुभएको उहाँलाई भीमान कमला नदि पारीको एउटा घरबाट गिरफ्तार गरी दुई दिनपछि हत्या गरिएको थियो।
बाल्यकाल गरिवीमा बितेकाले पनि हुन सक्छ, कम्युनिष्ट क्रान्ति नभई गरिवहरुको हित हुँदैन भन्ने उहाँको दृढ मान्यता रहेको देखिन्छ। त्यसैले, क्रान्ति ढिलो हुनुहुँदैन, छिटो हुनुपर्छ भन्ने बिश्वास अनुसार उहाँका बिचार र कार्यशैली निर्माण भएका थिए। परिवारप्रति उहाँको बेवास्ता थिएन तर, कम्युनिष्ट क्रान्तिको मूल्यमा परिवार उहाँका लागि केही थिएन। यो उहाँले आफ्ना सहकर्मीहरुसँग आफूलाई केही भएपनि ‘सुवासले मेरो बाटो पछ्याउँछ’ भन्ने गरेकाले पनि देखाउँछ। उहाँले लेखेको ‘हिडे म त कालेकी आमा, गरिबको सुदिन फिराउन...’ भन्ने गीतको काले म नै भएको उहाँका सहकर्मीहरुको भनाई छ।
बुवाको हत्यापछि आमासहित हामी चार जना छोराछोरी तत्कालिन मालेको आश्रयमा पुग्यौं। मालेले हामीलाई आश्रय दिनुमा मालेसँग उहाँको नेतृत्वमा रहेको नेकपा बिद्रोही एकता केन्द्र र मालेबीच एकता हुनै लाग्नु महत्वपूर्ण कारण थियो। नेकपा चौमबाट राजीनामा दिएलगत्तै उहाँले आमा र रमेश काकालाई मालेसँग निकट सम्वन्ध बनाउन निर्देशन दिएर मालेसँग एकता हुन लागेको संकेत पनि दिइसक्नु भएको थियो। त्यसपछि, आमा मालेको राजनीतिमा भूमिगत कार्यकर्ता भएर संलग्न रहनुभयो, हामी ठाउँ फेर्दै र आफ्नो परिचय लुकाउँदै पार्टीसँग सम्बद्ध बिभिन्न मानिसहरुको आश्रयमा बस्यौ र पढ्यौं।
२०४६ सालमा बहुदल आएपछि परिस्थिति परिवर्तन भयो। हामी भीमान गयौं, घर बनाएर बस्यौं। प्रशासनले दुख दिने वा पक्राउ गर्ने डरले पहिले हामीसँग बोल्न डराउने मानिसहरु खुलेर बोल्न थाले, त्यसपछि बवाबारे अरु धेरै जानकारी पाउन थालें। तत्कालिन चौथो महाधिवेशन (पछि मसाल, मशाल हुदै बनेको माओवादी) ले उहाँलाई बस्ने सेल्टर र खान उपलव्ध नगराउन आफ्ना कार्यकर्तालाई सर्कुलर गरेको तथा उहाँको गिरफ्तारी र हत्या हुने परिस्थिति बन्नुमा त्यसको भूमिका रहेको पनि थाहा पाएँ। सरकारको कडा वारेण्ट, चौथो महाधिवेशन छाडिसकेको, मालेमा समावेश नभएको अवस्थामा लुक्ने र बस्ने घरको आवश्यक्ता कति थियो र त्यसको अभावमा प्रशासनबाट जोगिन कति कठिन भयो भन्ने जोकोहीले महशुस गर्न सक्छन्।
आज बुवालाई सम्झँदा, त्यो बेलाको अन्धकार युग, सामन्ती थिचोमिचो र एकदलीय पञ्चायति व्यवस्थाविरुद्ध उहाँले बिद्रोह गर्नुभएको निष्कर्षमा पुग्छु। त्यो बेला सबै राजनीतिक दलले बिभिन्न बेलामा गरे जस्तै उहाँले पनि हतियार उठाउनुपर्ने आवश्यकता देख्नुभयो र त्यसैको तयारीमा लाग्नुभयो। तर, ति सबैको अन्तर्य मुलुक र जनताको सम्बृद्धि नै थियो। सम्झना र श्रद्धाञ्जली अमर सहिद बुवालाई।
 
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया