बुधबार, २८ जनवरी २०२६

बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’

News Image
• • •

ओलीको सत्ता उन्मादले निम्तिएको जेनजी आन्दोलन र त्यसमा शहादत प्राप्त ७६ जना किशोरहरूको चिहानमाथि उभिएको आमनिर्वाचन २०८२ को चुरोदिन फागुन २१ गते आइपुग्न अब ३७ दिन मात्र बाँकि छ । निर्वाचनका लागि गरिने सबै ‘कर्मकाण्ड’ लगभग पूरा भएका छन् । निर्वाचन चिन्ह लिएर उम्मेद्वारहरूको बटालियन चुनावी युद्धमा होमिसकेको छ । अब बाँकि भनेको चुनाव प्रचार-प्रसार, मतदान र परिणाम हो । त्यसका लागि बन्दोबस्त मिलाउन राज्य र निर्वाचन आयोग लागेका छन् ।

निर्वाचन प्रयोजनका लागि भएको उम्मेद्वारी चयन र यस क्रममा भएको दल बदललाई हेर्ने हो भने यसपटकको चुनावमा पनि सत्ता र पद नै केन्द्रमा छन् । नयाँ हुन् वा पुराना लगभग सबै दल मूल्य, मान्यता, नीति, सिद्धान्तको लिकबाट पूरै पटरीमा उत्रेका छन् । नातावाद, कृपावाद, गुटबाद अरू मौलाएको छ । बाँकिमा मसल र मनि फेरि पनि उम्मेद्वारको खास योग्यता भएको छ । यसपटक थपिएको उम्मेद्वारको योग्यता सामाजिक सञ्जालमा को कति बलशाली छ र उसले कति भ्रम छरेर लोकरिझ्याइ गर्न सक्छ भन्ने हो । यो अतिरिक्त योग्यताले चुनावलाई अरू थप गिजोलेको छ ।

चुनावको मुखमा सत्ताको चास्नी चाखिसकेका वल्ला घरे नरेहरू पल्ला घरे हुने क्रम यसपटक अरू बढेको छ । खासगरी क्षेत्रीयतावादी दल बीचमा हुने दल अदलाबदल र गठन पुनर्गठनमा बदनाम मधेसले यसपटक सबै पुराना मानक नाघेको छ । त्यति मात्र हैन, यसपटक क्षेत्रीयतावादी मधेसी दलका मसल र मनीमा बदनाम धेरै नरेहरू राष्ट्रिय पार्टीमा सरेर हाताहाती उम्मेद्वारी लिएका छन् । यस मामलामा सबैभन्दा अगाडि ओलीको ओमाले नै रहेको छ ।

हुन त यो चुनावलाई टार्न ओलीले आफ्नो पुरानै बयलगाडा डक्ट्रिन प्रयोग गरेर संसद पुनर्स्थापनाको मुद्दा संवैधानिक बेञ्चसम्मै पुर्याए । यस क्रममा उनले जेनजी आन्दोलनको बेला हल बाँधेर सत्तामा रहेका जोडा देउबाको साथ पनि जुटाए । तर, बीचैमा ओलीसँग नारिएर पश्चगामी हलो जोतिरहेका देउबा कांग्रेस पार्टीबाटै किकआउट भए । ओलीले पनि कानून भन्दा पनि बाहिरी प्रभाव हेरेर निसाफ गर्ने वा ढिला गरेर निसाफ गरिनबाट रोक्ने संवैधानिक अदालतले संसद पुनर्स्थापना गर्ने कुनै सम्भावना देखेनन् ।

यही बीचमा ओलीले महाधिवेशन गरेर थप ओलीकरण गरेर एमालेलाई पुरै ओमाले बनाए । मनी र मसलका मधेसी नरेहरू पनि राम्रैसँग जम्मा गरेर एमाले भित्राए । कांग्रेस पनि विशेष महाधिवेशनको पक्ष र विपक्षमा ध्रुवीकरण हुँदा मानसिक विभाजनको स्थितिमा पुग्यो । प्रचण्ड-माधवले जति नै टालाटुली बटुले पनि त्यो टाल्नलायक भएन । नयाँ भनिएकाहरू पनि एक हुन सकेनन् । अझ रवि-बालेन र घिसिङ त एक भएर पनि छुट्टिए ।

अर्कोतिर, जसरी भए पनि चुनाव गराएर बाहिरिन चाहेको सुशीला सरकारलाई पनि ओलीलाई बिच्काएर चुनाव गराउन नसकिने जस्तो लाग्यो । सिंहदरवार पुगेको सुरूवाती दिनमा ओलीको मुख पनि हेर्न नचाहने अन्तरिम प्रधानमन्त्री कार्की ओलीसँगै तीन घण्टा गफ्फिन तयार भइन् । जेनजी आन्दोलनको जिमेवार ओली भनेर सामाजिक सञ्जालमा लेख्ने गौरी बहादुर कार्कीको आयोग पनि ओलीसामू निहुरमण्टी न भयो । उनको टोली ओली निबास गुण्डु पुगेर ओलीको तयारी अवस्थाको वयान जम्मा गरेर फर्कियो । त्यसपछि ओलीको स्थानहद हट्यो । सुरक्षाकर्मीहरू थपिए ।

यति सबै भएपछि चारमहिना अघि मात्र सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट ज्यान हत्केलामा लिएर भागेका वाचाल ओलीले चुनावी जोखाना हेरे । उनलाई लाग्यो, चुनावी पासा आफ्नै पक्षमा पल्टिन्छ । त्यसपछि लुरूलुरू दमक पुगेर उम्मेद्वारी दर्ता गरे ।

उम्मेद्वारी दर्ताको अघिल्लो दिनसम्म पनि ओलीलाई लागेको थियो कि बालेन दमक पुगेर उनलाई चुनौति दिदैनन् । बाँकिलाई त ह्याकुलाले नै मिच्चिन्छ । तर, बालेनले उनलाई करारी चक्मा दिए । यही बीचमा उनले दमकको नाडी पनि छामे । नाडीको धड्कन खासै उनको पक्षमा धड्किरहेको जस्तो लागेन । उनले केही प्रमुख मिडियाहरूलाई बोलाएर अन्तर्वार्ता दिए । अन्तर्वार्तामा ओली बालेनको उछितो काढ्न के भन्ने भन्दा पनि के नभन्ने स्थितिमा ओर्लिए । डेरा खोजिदिनेदेखि गुइँठा बाल्न आउँनेसम्म भन्न भ्याए । यो भनेको बालेनलाई हेप्ने मात्र कुरा थिएन, सिंगो मधेस र मधेसीलाई लाञ्छित गर्ने ओली-अभिष्ट पनि थियो ।

कुरा यतिमा मात्र सिमीत भएन । उनले काठमाडौं पुग्ने बित्तिकै शान्ति सुरक्षाको प्रसंग उप्काउँदै अझै पनि चुनाव हुनेमा संशय प्रकट गरे । एक विमान यात्रुको रूपमा विमानस्थलमा गरिएको चेकिङ-प्रोटोकललाई असामान्य बनाउने प्रयत्न गरे । ओलीलाई आफू राजा हुँ भन्ने लाग्छ, जो कोही यात्रु पनि गुज्रनुपर्ने प्रोटोकल उनले छुनै हुँदैन भन्ने लाग्छ ।

ओली आफ्नो जीत प्रति ढुक्क छैनन् । त्यसैले आफ्नो व्यक्तिगत चुनावी परिणामको संशयलाई सिंगो आमचुनावकै शान्ति सुरक्षासँग जोड्न चाहिरहेका छन् । चुनाव जित्ने जस्तो हुँदा शान्ति सुरक्षा ठीक हुने र हार्नेजस्तो भयो भने बेठीक हुने ओलीको सुरक्षा दृष्टिकोण हो । त्यसैले उनले भनेकै छन्, चुनाव हुन्छ कि आन्दोलन हुन्छ- अझै भन्न सकिन्न । यसको अर्थ उनले हार्नेजस्तो भयो भने आन्दोलन हुन्छ, जित्नेजस्तो भयो भने मात्र चुनाव हुन्छ भन्ने एक किसिमको धम्की नै हो ।

यतिबेला एमाले पुरै ओली-माले अर्थात् ओमाले भएको छ । सिंगो पार्टीको अस्तित्व र प्रतिष्ठा नै ओलीको लागि दाउमा हालिएको छ । पछिल्लो स्थितिले त एमाले ओलीको लागि जे गर्न पनि तयार देखिन्छ । यो कोणबाट हेर्दा चुनावी परिणाम ओलीको विपक्षमा मात्रै जाने स्थिति बन्यो भने पनि एमाले चुनावबाट बाहिरिएर आन्दोलनमा जान सक्छ । यस क्रममा सिंगो एमालेको चुनाव परिणाम नै पनि उसका लागि गौढ नहोला भन्न सकिन्न । 

जेनजी आन्दोलनका खलनायक ओलीलाई त्यही आन्दोलनका नायक बालेनले उनकै किल्लामा गएर चेकमेट दिएपछि झापा ५ आमनिर्वाचन २०८२ को ‘ग्राउण्ड जिरो’ भएको छ । यस क्षेत्रका ‘छोटेराजा’ ओलीलाई बालेनको दिएको यो राजनीतिक चेकमेट दुबैको राजनीतिक जीवनकै जीवन-मरणको प्रश्न पनि हो । पछिल्लो स्थिति हेर्दा जेनजी आन्दोलनमाथिकै मिनी जनमत संग्रह बन्दै गएको यो चुनावी युद्धको परिणाम यतिबेला चाहिँ अनुमान बाहिर छ ।

झापा ५ को चुनावी डाइनामिक्स

कसैले चाहे पनि नचाहे पनि यसपटकको आमचुनावको ग्राउण्ड जिरो झापा ५ नै हो । अहिले पुराना अझ सिधै भन्दा पश्चगमनको नेतृत्व ओलीले गरिरहेका छन् भने नयाँ अर्थात् अग्रगमनको नेतृत्व बालेनले गरिरहेका छन् । यी दुबैलाई उनीहरूका दलले प्रधानमन्त्रीको उम्मेद्वार नै घोषित गरेका छन् । यस अर्थमा झापा ५ मा अग्रगमन र पश्चगमनबीच एक किसिमको मिनी जनमत संग्रह नै हुन्छ । कसैलाई मन परे पनि नपरे पनि बालेन र ओली चुनावपछिका सम्भावित प्रधानमन्त्री नै हुन् । झापा ५ को निर्वाचन परिणामले एउटाको सम्भावना सिद्याउँछ भने अर्काको ज्यूँदै राख्छ । त्यसैले यो परिणाम व्यक्तिगत रूपमा दुबैको लागि राजनीतिक जीवनकै जीवन-मरणकै प्रश्न हो । फरक के छ भने ओली नै एमाले र एमाले नै ओली भैसकेको पछिल्लो अवस्थामा यो चुनाव एमालेको लागि पार्टीगत रूपमा पनि प्रतिष्ठाकै विषय हो तर रास्वपाका लागि अहिले नै त्यो अवस्था हैन । रास्वपाका ओली भनेका अहिले पनि रवि लामिछाने नै हुन् । अहिलेको अवस्थामा उनी चुनाव जितेर पनि सांसद हुन सक्दैनन् । उनको गर्दनमाथि संगठित अपराध र सम्पति शुद्धिकरणजस्ता फौजदारी मुद्दाको स्याँगी झुण्डिएकै छ ।

चुनाव जितेर पनि सांसद हुन नपाउने रविको रास्वपाले बहुमत नै ल्याए पनि प्रधानमन्त्री हुन पाउँदैनन्, त्यही भएर वालेनलाई भित्राएर रणनीतिक प्रधानमन्त्रीको डमी उम्मेद्वार बनाइएको तथ्य कसैसामु लुकेको छैन । रविलाई लागेको छ, चुनावी परिणाम आउनुअघि नै उनीमाथि लगाइएका संगठित अपराध र सम्पति शुद्धिकरणजस्ता फौजदारी मुद्दाबाट मुक्त भैसक्नेछन् । त्यसका लागि उनले वालेन-सुशीला प्रोक्सिमिटीलाई उपयोग गर्दै मुद्दा फिर्ता लिने निर्णय नै गराए । यही बीचमा त्यसविरूद्ध परेको मुद्दामा अदालतले मुद्दा फिर्ता लिनुपर्ने कारण सोधेकाले यो मुद्दा थप पेचिलो बनेको छ । मुद्दा फिर्ता लिनुपर्ने दशीप्रमाण नै केही नभएकाले यो मुद्दा रविले सोचेजस्तै सजिलै फिर्ता हुने सम्भावना देखिदैन ।

झापा ५ एमालेभन्दा पनि ओलीको गढ नै हो । २०६४-२०७०को ६ वर्षलाई छोडेर २०४८यता ओली यो क्षेत्रको सांसद रहदै आएका छन् । यस बीचमा चारपटक त प्रधानमन्त्री भए भने बाँकि समय पनि गठजोड सरकारमा निर्णायक रहदैआएका छन् । त्यसैले यो क्षेत्रका लागि ओलीले केही न केही त गरेकै छन् । त्यसको प्रभाव मतदातामा नपर्ने कुरै भएन । चुनावमा मनी र मसलको प्रभाव कसरी गर्नुपर्छ, ओलीलाई त्यसमा महारथ नै प्राप्त छ । जनतालाई कसरी भेडा बनाउनुपर्छ?, त्यसका लागि चाहिने साम, दाम, दण्ड, भेद त ओलीका परम्परागत हतियार नै हुन् । अझै पनि नेपाली मतदातामा झुटको खेती राम्रै हुन्छ, त्यसलाई फूलबट्टा गर्न भाषणकला चाहिन्छ । त्यसमा ओली लगभग बेजोडा नै छन् । यो क्षेत्रमा सूर्य चुनाव चिन्ह लोकप्रिय छ । अधिकांश वृद्धभत्ता लिनेहरू यो चुनावप्रति कृतज्ञ छन् । यो चुनाव चिन्हलाई भोट नदिदा पाप लाग्छ भन्नेहरूको संखाय पनि उल्लेख्य छ । तत्कालिन एमाले अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला २०५१ सालमा मासिक एकसयबाट बढेर चारहजार पुगेको वृद्धभत्ता जेष्ठ मतदाताहरूको दैनिक गर्जो टार्ने लाइफलाइन नै भएको छ । 

यी तमाम पक्ष ओलीलाई जिताउनसक्ने बलवान पक्ष हुन् । तर, बिलोममा ओलीलाई हराउनसक्ने आधारहरू पनि प्रशस्तै छन् । पहिलो त ओली आफैं झापा ५ राजा र उनका स्थानीय कार्यकर्ताहरू भाइभारदार भैसके । यस क्रममा उनीहरूले मतदातालाई आफ्नै गोजीका माल सम्झेर अति पनि गर्न थालेका छन् । जनता त्यसबाट मुक्ति खोजिरहेको जस्तो देखिएको छ । दोस्रो आधार, जेनाजी आन्दोलनका बेला ७६ जनाको हत्या ओलीले गरेको र उनकै कारण झापा ५ का जनतामाथि रगतको दाग लागेको उनीहरूलाई लागेको छ । त्यो दाग मेटाउन र पाप पखाल्न पनि ओलीलाई हराउनुपर्ने उनीहरूलाई लागेजस्तो देखिन्छ । ओली पात्र र प्रवृतिका रूपमा नेपालका लागि अभिषाप भैसके । यो खलपात्र र प्रवृतिलाई राष्ट्रिय परिदृश्यबाटै नामेट पार्न आवश्यक हैन, अपरिहार्य भैसकेको छ । त्यसको अभिभारा झापा ५ का जनतालाई महसुस भैसकेको जस्तो छ । यस बीचमा एकीकृत एमाले पनि खण्डिकृत भैसकेको छ । ठूलो चोइटा नपरे पनि नेकपा एस हुँदै नेकपा हुनेहरूको संख्या र पछिल्लो समय पार्टीमा विकसित विद्यादेवी-महाधिवेशन प्रकरणले पनि केही हजार मतदाता यताउता भैसकेका छन् ।

ओली कित्तातिरका यी कारणका अतिरिक्त ओलीइत्तर कित्तामा पनि ओली हराउनसक्ने यथेष्ट आधार छन् । पहिलो त ओलीलाई चुनौति तेर्स्याउन साहस गर्ने बालेन शाह आफैंमा एक आशलाग्दा युवा आइकन हुन् । धेरैले उनैलाई जेनजी आन्दोलनको पर्दा पछाडिका मास्टर माइन्ड मानेका छन् । ओली विरूद्ध उभिने उनको साहसलाई झापा ५ का जनताले सकारात्मक रूपमा लिएका छन् । बालेनको अर्को सकारात्मक पक्ष कम एक्सपोज्ड हुनु पनि हो । यसको अर्थ, उनी अझै पनि उत्सुकता जगाउने क्षमता राख्छन् । चुनावमा जित्नका लागि ‘क्युरियोसिटी’ पनि एक महत्वपूर्ण तत्व मानिन्छ । उनी ‘कुरा हैन, काम गर्ने मान्छे हुन्’ भन्ने भाष्य निर्माण भएको छ । 

दोस्रो, ओलीलाई हराउनसक्ने उम्मेद्वार खोजिरहेका तटस्थ मतदाताका लागि उनी मात्रै सम्भावित उम्मेद्वार हुन् । यो विश्वास बन्दैगएको पृष्ठभूमीमा ओलीको विकल्प खोजिरहेका अन्य पार्टीका सामान्य शुभेच्छुक र मतदाताको रोजाइ पनि बालेन नै हुन्छन् ।

तेस्रो, झापा ५ मा चुनाव चिन्हका रूपमा घण्टीको लोकप्रियताको ग्राफ पनि बढ्दो छ । रास्वपा सभापति रवि यसअघि जति लोकप्रिय नभए पनि बालेनले त्यसको सोधभर्ना गरेका छन् ।

चौथो, यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने मात्र हैन, विकसित देशमा पुग्ने नेपालीको संख्या पनि उल्लेख्य छ । ती सबैले जेनजी आन्दोलनका ७६ जना किशोरको रगतको होली खेल्ने ओली नामको कलङकको टीका आआफ्नो निधारमा लागेको ठानेका छन् । यसपटक त्यो टीका हटाउन पनि उनीहरू आफ्ना अभिभावक र नातेदारको मन र मत बदल्न हरसम्भव प्रयत्न गरिरहेका छन् ।

पाँचौ, झापा ५ का लगभग सबैको हातमा स्मार्ट फोन छ र तीमध्ये अधिकांशमा रवि, बालेन र घण्टीको पक्षमा र ओलीको विपक्षमा मिडिया कन्टेन्ट प्रवाह गरिरहेका छन् । गोयवल्श शैली सही, सयौचोटी उही कन्टेन्ट आइरहदा त्यसको टिकल डाउन प्रभाव पनि मतपत्रमा अनुदित नहोला भन्न सकिन्न ।

बालेनलाई शंकाको सुविधा

ओली र रवि दुबै एउटै सिक्काका दुई पाटा हुन् । यो वा त्यो नामका यी लोकप्रियतावादीहरू नेपालका लागि समस्या हुन्, समाधान हैनन् । आफ्ना लागि जे पनि गर्न तयार यिनीहरू आआफ्नो पार्टीका नेता कम, मठाधीश बढी हुन् । यी दुबैले आआफ्ना पार्टीलाई कब्जा गरेर प्राइभेट लिमिटेड कम्पनी नै बनाएका छन् ।

रास्वपा नै रवि, रवि नै रास्वपा बनाइएको अहिलेको अवस्थामा बालेन रास्वपाका धेरै दिनका पाहुना हैनन्, यो पनि सत्य हो । रविले बालेनलाई पनि छिट्टै आफूजस्तै जडौरी बनाउन प्रयत्न गर्छन् । तर, बालेनको विगत रविको जस्तो विवादास्पद पनि छैन र उनी रविजस्तो अनेक मुद्दाका दागी पनि हैनन् ।

रविको रणनीतिक गोटी हुनबाट जोगिएर उनको चाललाई माथ दिएर दाउमा लागेको आफ्नो राजनीतिलाई जोगाए भने बालेनबाट आशा गर्न सकिने धेरै ठाउँ हुन सक्छ । त्यही आशा र विश्वासकबा साथ एक फरक सम्भावनाका रूपमा झापा ५ का मतदाताले बालेनलाई यसपटक शंकाको सुविधा दिन पनि सक्छन् । तर, शर्त एउटै हुन सक्छ, उनीहरूलाई एक फरक मानकको कामकाजी नेता बालेन चाहिएको हो, ओलीको नयाँ भेरियन्टका रूपमा आइलागेको भाषणबाण रविको डमी हैन ।

                                    (दृष्टि साप्ताहिकको नियमित स्तम्भ 'बिलोम' मा प्रकाशित यो आलेख स्तम्भकारको अनुमति लिएर नयाँ शीर्षकमा प्रकाशित गरिएको छ : सम्पादक)

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!