सानेपा हत्याकाण्ड : एक सातासम्म पनि सुल्झिएन ‘केश’

बिएल संवाददाता

काठमाडाै‌ं

ललितपुरको सानेपामा गत माघ २७ गते पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या र सोही घरमा काम गर्ने विजय चौधरीको आत्महत्याबारे प्रहरीले अनुसन्धान जारी राखेकाे एक हप्ता भइसकेकाे छ।

तर घटनाको घटेकाे एक हप्तासम्म पनि कार्कीको हत्या र चौधरीको आत्महत्याको कारण रहस्मय नै छ। घटनास्थलमा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रगताम्य अवस्था अचेत फेला परेकी थिइन् भने कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँटीमा हरियो नाइलनको डोरी कसिएको अवस्थामा मृत फेला परेका थिए। 

पोस्टमार्टम रिपोर्टमा कार्कीको मृत्युको कारण घाँटी थिचिएका कारण भएको उल्लेख छ। यस्तै चौधरीको मृत्यु पनि झुण्डिएकै कारण भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकोमा पिर्काले हानेर हत्या गरी कामदार चौधरीले आत्महत्या गरेको पोस्टमार्टम रिपोर्ट आउनुअघि नै दाबी गरेको थियो। प्रहरीले घटनास्थलमा प्राप्त सीसीटीभी फुटेजको विश्लेषणको आधारमा यस्तो दावी गरेको थियो।

सिसिटिभी फुटेजमा पनि चौधरीले कार्कीलाई भान्सामा गएर लछारपछार पारी सुरूमा पिर्काले हानेको देखिएको छ। पिर्का फुटेपछि चौधरीले भुइँमा धेरै पटक टाउको ठोक्काएको देखिएको छ। ‘त्यसपछि चौधरीले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ,’ महानगरीय प्रहरी परिसर स्रोतले भन्यो।

कार्कीको हत्यापछि चौधरीले आत्महत्या गरेको स्पष्ट भइसकेपनि घटना हुनुको पछाडिको कारण पहिल्याउने तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत गरिएको छ। मुना र विजयले चलाउने गरेको मोबाइल अहिले फरेन्सिक ल्याबमा परीक्षणको क्रममा पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए। त्यसैबाट हत्याको रहस्य पत्ता लगाउने प्रयास भइरहेको छ।
 
एसएसपी राईले भने, ‘घटनास्थलमा भेटिएका सबै दशी परीक्षणको लागि पठाएका छौं। केही दिनमा रिपोर्ट आउला।’

उनका अनुसार उनीहरुबीच मनमुटाव भएको हुनसक्छ। ७ वर्ष कार्कीको घरमा परिवारको सदस्यजस्तै भएर बसेका विजयले के कारणले आफ्नै मालिक्नीको हत्या गरे त्यसै भन्न नसकिले उनी बताउँछन्।

अर्जुन कार्कीका गाडी चालक नुवाकोटका दीपेन्द्र डंगोल, उनको घरमा काम गर्ने महिला मीना कोइराला र घटना घटेको दिन सोमबार कार्की निवासमा गएका प्लम्बर रमेश कार्कीसँग पनि सोधपुछ भइसकेको एसएसपी राईको भनाइ छ।

चौधरीको शव परिवारले दाङमै लगेर अन्तिम संस्कार गरिसकेको छ भने मुनाको पनि परिवारले अन्तिम दाहसंस्कार गरिसकेको छ।

प्रकाशित मिति: : 2020-02-17 01:49:48

प्रतिकृया दिनुहोस्