अमेरिका सधैँ भारतको ‘वफादार मित्र’: ट्रम्प

बिएल संवाददाता

नयाँदिल्ली

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको प्रशंसा गरेका छन्। यस क्रममा उनले अमेरिका सधैँ भारतको ‘वफादार मित्र’ रहेको बताए। 

सोमबार अहमदाबादस्थित नवनिर्मित क्रिकेट स्टेडियम ‘नमस्ते, अमेरिका भारतलाई माया गर्छ,’मा  ट्रम्पले झण्डै एक लाख सहभागीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेखनीय प्रगति गरेको बताए।

‘म मेरा विशेष साथी मोदीलाई धन्यवाद दिँदै सुरु गर्न चाहन्छु। प्रधानमन्त्री, यही सहरको एक चिया पसलेको छोरो, जसको उल्लेखनीय प्रगति भएको छ। उनी महान व्यक्ति हुन्। हरेक मानिसले उनलाई माया गर्छन्। तर उनी कडा मध्यस्तकर्ता हुन्,’ ट्रम्पले भने।

उक्त कार्यक्रममा ट्रम्पले भारत र भारतीय जनताको खुलेर प्रशंसा गरेका थिए। उनले भने, ‘पछिल्लो सात दशकमा भारतको उचाइ उल्लेखनीय छ। पछिल्लो दुई दशकको गति असाधारण छ। भारतका जनता बाँकी विश्वका लागि प्रेरणा हुन्।’

ट्रम्पले भारतको छिमेकी पाकिस्तानसँगको सम्बन्ध र अतंकवादी गतिविधि रोक्ने सहकार्यको प्रशंसा गरे। ट्रम्पले अघि भनेका छन्, ‘हरेक राष्ट्रसँग सुरक्षा र सीमा नियन्त्रणको हक हुन्छ। अमेरिका र भारतले आतंकवाद रोक्न र त्यसको बिचारविरुद्ध लडिरहेका छन्। यस क्षेत्रमा शान्ति स्थापनाका लागि भारतको नेतृत्वदायी भुमिका छ।’

ट्रम्प दुई दिने भ्रमणका लागि भारत आएका हुन्। सोमबार नै आफ्नी पत्नी मेलानिया, छोरी इभान्का र ज्वाइँसँगै भारतको गुजरात आइपुगेका हुन्। मंगलबार उनी दिल्ली भ्रमण गरी अमेरिका फर्कने छन्।

प्रकाशित मिति: : 2020-02-25 04:48:00

प्रतिकृया दिनुहोस्