युरोपमा कोरोना कहर: शिक्षण संस्थाहरू बन्द, जनजीवन अस्तव्यस्त

अनुराधा पौडेल

पेरिस, फ्रान्स

कोरोना भाइरसको द्रुतगतिमा फैलावटपछि आउने सोमवारदेखि  फ्रान्सका सबै शिक्षण संस्था बन्द गर्ने घोषणा गरिएको छ।

फ्रान्सका राष्ट्रपति एमानुएल माख्रोँले बिहीबार बेलुका देशबासीलाई  सम्वोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

उनको यो घोषणाबाट एक करोड बीस लाख बिद्यार्थी प्रत्यक्ष मारमा परेका छन्।

फ्रान्सले यस्तो घोषणा गर्नुअघि नै नै युरोपका डनेमार्क, इटाली, नर्वे, युक्रेन,चेक रिपब्लिक ग्रीस, पोलेन्ड र आयरल्यान्डमा पनि शिक्षण संस्था बन्द गरिसकिएका छन् ।

यति मात्र होइन,  राष्ट्रपतिले दीर्घरोगीहरु, शारिरीक रुपले हिडडुल गर्न कमजोर मानिसहरु, ७० बर्षभन्दा माथिका बृद्दबृद्धालाई घरमै बस्न पनि अनुरोध गरेका छन्।उनले आवस्यक परे मात्र घरबाहिर निस्कन र सार्वजनिक यातायातका साधन प्रयोग गर्न अनुरोध गर्दै भनेका छन्, कोरोना भाइरसको बिस्तार रोक्ने जिम्मा तपाईं हामी सबैको हो।

काम गर्ने कामदारका हकमा भने कुनै पनि निर्णय गरिएको छैन। राष्ट्रपतिका अनुसार आइतबार फ्रान्समा हुने नगरपालिका चुनाब भने रोकिने छैन।

फ्रान्समा मात्रै होइन, युरोपभरी नै कोरोना भाइरस अत्यन्त द्रुतगतिमा फैलिएको छ। आफ्नो सम्वोधनका क्रममा फ्रान्सेली राष्ट्रपतिले कोरोना भाइरसको बिस्तार रोक्न युरोप एक हुनुपर्ने र युरोपभरी नै एकैखालको रणनीति अपनाइनुपर्ने माग पनि राखेका छन्।

कोरोना भाइरस संक्रमण बढ्दै जाँदा फ्रान्सको आकस्मिक सेवाको भार बढ्दैगएको छ। कोरोनाकै कारण फ्रान्सको इमरजेन्सी सेवा नम्बर १५ मा दैनिक ५० हजारभन्दा बढी कल आउने गरेको छ। यहाँका  अस्पतालमा पनि भार बढ्दै गैरहेको छ।

अहिलेसम्म फ्रान्सका अस्पतालले कोरोना संक्रमितलाई उपचार दिन सक्षम भए पनि यही गतिमा बढ्दै गए अस्पतालले थप सेवा दिन नसक्ने अनुमान गरिएको छ। फ्रान्सको प्रसिद्द टेलिभिजन फ्रान्स एकले दिएको जानकारी अनुसार फ्रान्समा पाँचहजार बेडमा बिशेष खालको गहन उपचार सुबिधा छ भने सात हजार तीन सय ६४ बेडमा गहन उपचार सुबिधा छ।

इटालीमा पनि एकैपटक ह्वारह्रवार्ति इमरजेन्सीमा कोरोना रोगी आउन थालेपछि यस्ता बेड सबै प्याक भएको पनि टेलिभिजन एकले जानकारी दिएको छ ।

कोरोनाले खासगरी हवाई र पर्यटन ब्यवसाय चौपट पारेको छ। यही अबस्थालाई मध्यनजर राख्दै अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा एक महिनाका लागि युरोपका उडान बन्द गरिदिएपछि अमेरिका पुगेका युरोपेली मात्र होइन फ्रान्सेली नागरिक उतै रोकिएका छन् भने युरोप आइपुगेका अमेरिकी पनि युरोपमै रोकिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पको यो निर्णयलाई फ्रान्समा अत्यन्त हतारमा गरिएको विवादास्पद निर्णय भनेर आलोचना गरिएको छ।

भारत र इजरायलले फ्रान्सेलीलाई उनीहरुको देश छिर्न बन्देज लगाएका छन् भने नेपालले पनि घुमाउरो पाराले फ्रान्सेली नागरिकलाई नेपाल छिर्न बन्देज लगाएको छ। यति मात्रै होइन, संसारभरी नै अहिले शेयर मार्केट द्रुत गतिमा खस्कँदो छ। पेरिसको शेयर मार्केट बिहिबार माइनस २० सम्म झर्यो ।

फ्रान्सका घरेलु तथा साना उद्यमीले आफ्ना उद्योग घाटामा जान थालेको भन्दै पैसा तिर्न नसकेकोले काम बाट निकाल्न परेको जानकारी दिइरहेका छन्। बिहिबारसम्म ६० हजार कामदारलाई कामबाट निकालिइ सकिएको छ।

डेनमार्कमा पनि शिक्षण संस्थाहरू बन्द गरिएका छन् भने इटालीले त पुरै नाका बन्द गरिदिएको छ। इटालीको राजधानी रोम शहर अहिले पूरै सुनसान भएको छ । खानेकुरा र औषधी पसलबाहेक सबै पसल बन्द भएको छ। पसलमा किनमेल गर्न जानुपरेमा एकपटकमा एक मानिस मात्र छिर्न पाइने र दुइ मानिसबीच करीव दुई मिटर फरक हुनुपर्ने नियम कडाइका साथ लागू गरिएको छ ।

प्रकाशित मिति: : 2020-03-13 17:13:53

प्रतिकृया दिनुहोस्