‘प्रधानमन्त्री आमचुनावले र पार्टी अध्यक्ष महाधिवेशनले मात्र फेर्नसक्छ’ (विष्णु रिमाल अडियोसहित)

 माधव ढुङ्गेल

काठमाडाैं

काठमाडौं, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष पद महाधिवेशनले र प्रधानमन्त्री पद आगामी चुनावले मात्र फेर्न सक्ने बताएका छन्। 

ओलीसँग रहेका दुई शक्तिशाली पद– अध्यक्ष र प्रधानमन्त्रीमध्ये वरिष्ठ नेता नेपाललाई ‘अध्यक्ष’ पद दिएर हातेमालो गरी अघि बढ्ने विकल्पबारे प्रश्न गर्दा रिमालले बिएल नेपाली सेवासँग यस्तो बताएका हुन्। प्रचण्ड र नेपालसँग शक्ति बाँडफाँट गरी अघि बढ्नेबारे जिज्ञासा राख्दा उनले भने, ‘पावर सियरिङ गरेरै पार्टी एकता गरेको हो। महाधिवेशनको तयारी छ। त्योभन्दा बढी त के हुन्छ र ?’

स्रोतहरूका अनुसार, वरिष्ठ नेता नेपाललाई आगामी महाधिवेशनमा अध्यक्ष ओलीको ‘सक्सेसर’ का रुपमा उम्मेद्वार बनाउने र पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी ‘भद्र सहमति’ गर्न प्रधानमन्त्री ओली तयार छन्। ओली पक्षले यो प्रस्ताव अप्रत्यक्ष रुपमा नेपाल समक्ष पुर्‍याइसकेको छ तर वरिष्ठ नेता नेपालले यो प्रस्तावलाई उत्ति चासो दिएका छैनन्।

नेपाल निकट नेताहरू ओलीले ‘भद्र सहमति’ पालना नगर्ने बरु सहमतिको नाममा ‘थाङ्नामा सुताइदिने’ गरेको आरोप लगाउँछन्। नेपालनिकट एक केन्द्रीय सदस्यले नाम नलेख्न आग्रह गर्दै भने, ‘झलनाथ खनाललाई राष्ट्रपति बनाउने भनेर थाङ्नामा सुताए, वामदेव गौतमलाई अध्यक्ष जितेपछि संसदीय दलको नेता बनाउने वचन पालना गरेनन्। माधव कमरेडले पनि उधारो अध्यक्ष मान्नुहुन्न। अप्ठेरो परेको हो भने प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याउनुपर्छ।’

अध्यक्ष र प्रधानमन्त्री दुबै नदिने अडानमा बस्दा ओलीले दुवै पद चलाउन नसक्ने दाबी गर्दै नेपालनिकट अर्का पूर्व पोलिव्युरो सदस्यले भने, ‘अहिलेका नेकपाका कुनै पनि पद महाधिवेशनबाट निर्वाचित हैनन्। त्यसैले अध्यक्ष ओलीले नै प्रस्ताव गरेर नेपाललाई अध्यक्ष दिन केहीले छेक्दैन।’ प्रधानमन्त्री वा अध्यक्ष एक पद नेपाललाई दिए मात्र सहमति हुनसक्ने ती नेताले बताए। 

नेपालनिकट नेताहरू नाम नलेख्न आग्रह गर्दै आफ्ना कुरा भनिरहँदा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवम् पार्टी स्थायी कमिटी सदस्य विष्णु रिमाल भने महाधिवेशन नभएसम्म अध्यक्ष पद कसैलाई हस्तान्तरण गर्न नमिल्ने बताउँछन्। उनले भने, ‘यदि उहाँहरूले छाड्न चाहेमा बाहेक केपी शर्मा ओली र प्रचण्ड दुवैको अध्यक्ष पद फेरिने महाधिवेशनमा मात्र हो, छाड्न चाहे त जुनसुकै बेला छाडेर जान सक्नुहुनेभो।’

प्रमुख  राजनीतिक सल्लाहकार रिमालले भने, ‘औपचारिक ढंगले कसैलाई हस्तान्तरण गर्न उहाँहरूको अध्यक्ष पद महाधिवेशन नभएसम्म चल्दैन। दुबै जना आ–आफ्नो ठाउँबाट अध्यक्ष भएर आउनुभएको हो। दुवै जना आ–आफ्नो पार्टीको ‘कम्पिटेन्ट अथोरिटी’ (महाधिवेशन) बाट अध्यक्ष भएर आएको व्यक्तिले जिम्मा लिएर पार्टी एकीकरण गरेका कारणले अर्को महाधिवेशन नभएसम्म वा एकीकरण गर्ने योजनाअनुसारको अन्तर्गत बनेको अन्यथा निर्णय नभएसम्म अध्यक्ष भन्ने पद दायाँबायाँ हुने कुरै भएन।’

रिमालले प्रधानमन्त्री ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने भन्नेमा दुवै अध्यक्ष सहमत रहेको बताउँदै उनले प्रधानमन्त्री फेर्न अर्को चुनावसम्म कुर्न आग्रह गरे। ‘प्रधानमन्त्रीको सन्दर्भमा अर्को आम निर्वाचन नभएसम्म अहिलेकै प्रधानमन्त्री कायम रहने भन्ने त दुई जना अध्यक्षले बाहिर नै भनिसक्नुभएको छ– केपी ओलीले पनि, प्रचण्डले पनि। त्यसैले दुवै पद दुइटा टुंगोमा मात्र टुंगिने भए त। एउटा चुनावमा टुंगिने भए। त्यसमा विग्रह वा अन्यथा भयो भने त कुरै अर्को भयो।’

नेकपाभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एकगठ भएपछि उनलाई सरकार र पार्टी सञ्चालनमा अप्ठेरो पर्न थालेको छ। 

विशेषगरी प्रधानमन्त्री ओलीको इच्छाविपरीत उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने भनी पार्टी सचिवालयले निर्णय गरेपछि प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन्। प्रधानमन्त्री ओलीसँग प्रचण्डभन्दा वरिष्ठ नेता नेपाल अलि सघन छलफलमा छन्। प्रचण्डसँगको तुलनामा ओली–माधवबीचको सम्बन्ध पनि केही सुमधुर छ।

महाधिवेशनअघि नै अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद वरिष्ठ नेता नेपाललाई दिन नसक्नेमा ओली पक्ष प्रष्ट छ बरु कसैले पार्टी वा सरकार भत्काउने काम नै किन नगरोस्। ओली त्यो परिस्थितिको सामना गर्नसमेत तयार रहेको उनीनिकट नेताहरू बताउँछन्। ‘एउटा चुनावमा टुंगिने भए। त्यसमा विग्रह वा अन्यथा भयो भने त कुरै अर्को भयो। भुइँचालो आयो भने भनेजस्तो कुरा भयो। होइन भने खास ठाउँमा गएपछि मात्र दुइटा पद फेरिने भए’, सल्लाहकार रिमालले प्रष्ट पारे। 

एमसीसीलाई चालु अधिवेशनमै संसद्मा लैजानबाट रोकेर बाधा हाल्न प्रयास भएको बारे उनले भने, ‘एमसीसी त ठूलो कुरा भएन। त्यसबाट घाटा एउटा व्यक्तिलाई हुने होइन। मुलुकलाई हुने हो। त्यसमा साथीहरू को–को खुल्छन्, खुलेर आउन् न त ? बेला भएपछि एक ठाउँमा पुग्ला भन्ने लाग्छ त्यो त।’

आगामी महाधिवेशनबाट चुनिने भावी नेतृत्वबारे  पार्टीभित्र बहसको आवश्यकता पर्ने बताउँदै रिमालले भने, ‘मेरो आँखामा भन्ने हो भने सचिवालायका नौ जनाको बीचमा घुम्ने हो– सुरुमा माथिल्लो तहको नेता। एक नम्बर केपी शर्मा ओली नौ नम्बर विष्णु पौडेल हो।’ 
नेकपा इतिहासमै सबैभन्दा बलियो रहेको भए पनि यो नै अन्तिम उच्चतम बिन्दु नभएको बताउँदै नेता रिमालले भने, ‘नेकपा यो तहमा आएको त पहिलोचोटी हो। योभन्दा माथि नजाने गरी ओरालो लाग्ने त होइन होला ? योभन्दा माथि लैजान त टीमले नै छलफल गर्नुपर्ने होला नि ! छलफल गरेर अगाडि जाने होला। क–कसले के के पद लिने, कसरी जाने ?’

हिजो एमालेमा ७० वर्षको उमेर हदको नियम बताएको स्मरण गर्दै नेता रिमालले भने, ‘नेकपा बनाएपछि यो नियम हटाइदियौँ। एमालेमा दुई टर्मको व्यवस्था गरेका थियौँ। त्यसमा हामीले केही पनि भनेका छैनौँ। महाधिवेशनमा यो विषयमा छलफल हुन्छ कि हुँदैन, थाहा छैन। पूर्व एमालेमा हुँदा हामी भोटिङको कुरामा जान्थ्यौँ। बहुमत अल्पमत हुन्थ्यो। लोकतान्त्रिक विधि भन्थ्यौँ। अहिले हामीले पार्टी एकीकरण गर्दा महाधिवेशन पनि सहमतिमा टुंग्याउने निर्णय गरेका छौँ। यी सबै विषयलाई ख्याल गरेर अगाडि जान्छ।’ 

प्रकाशित मिति: : 2020-03-19 03:55:07

प्रतिकृया दिनुहोस्