कोरोना भाइरसबाट बच्न शेयर बजार बन्द गर्न धितोपत्र बोर्ड तयार

विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाली शेयरको कारोबार पनि स्थगित हुने भएको छ। शेयरको नियामक निकाय नेपाल धितोपत्र बोर्ड शेयर कारोबार केही समयका लागि बन्द गर्न तयार भएको छ। 

लगानीकर्ताका पाँच वटै संगठन, ब्रोकर एसोसिएसन तथा नेपाल स्टक एक्सचेञ्जका प्रतिनिधिबीच भएको बिहीबारको छलफलपछि बोर्ड बजार केही अवधिका लागि स्थगित गर्न सहमत भएको हो। 

यसबारे अर्थ मन्त्रालयको सहमति लिएर यसबारेमा आधिकारिक निर्णय गरिनेछ। सम्भवतः आइतबारबाट बजार बन्दको निर्णय हुन सक्नेछ।

उता,शेयर ब्रोकर कार्यालयमा रहने शेयर कारोबार सम्बन्धी डिस–प्ले बिहीबारबाटै बन्द गरिएको छ। पाँच जनाभन्दा बढीलाई ब्रोकर कार्यालयमा एकसाथमा प्रवेश नदिने, मास्क लगाएर मात्र जानुपर्ने लगायतका व्यवस्था पनि गरिने भएको छ। 

बोर्ड आफैंले अधिकतम पाँच दिनका लागि बजार बन्द गर्न सक्छ। त्यसभन्दा बढी अवधि स्थगित गर्न अर्थ मन्त्रालयको सहमति लिनुपर्ने हुन्छ।

लगानीकर्ताहरुले कम्तिमा पनि चैत महिनाभर बन्द गर्नुपर्ने माग गरेपछि बोर्डले अर्थ मन्त्रालयको सहमति लिन लागेको हो। धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले कारोबार बन्द गर्न सक्नेछ। 

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले लगानीकर्ताको माग बमोजिम शेयर कारोबार केही समयका लागि बन्द गर्न बोर्ड सहमत भएको नेपाली पैसालाई जानकारी गराए। यस निर्णयबाट शेयर बजारलाई थप पेनिक हुनबाट जोगाउन राहत मिल्ने अपेक्षा गरिएको छ।
 

प्रकाशित मिति: : 2020-03-20 05:15:46

प्रतिकृया दिनुहोस्