महामारी कोरोना भाइरसले सिर्जना गर्ने विश्व स्वास्थ्य मोर्चा

विश्वभर फैलिएको कोरोना भाइरस महामारीको प्रकोपले स्वास्थ्यको मोर्चामा मात्रै होइन अन्तर्राष्ट्रिय कूटनीतिक मोर्चामा पनि निकै कडा चूनौति प्रस्तुत गरेको छ।

यो चूनौति विश्व समुदायका हितमा एउटा महत्वपूर्ण अवसर पनि हुन सक्ने देखिँदैछ। विश्व अब नाफाको लागि भूमण्डलीकरणबाट मानवीय स्वास्थ्य कूटनीति तर्फ बढ्न सक्ने सम्भावना पनि बनेको छ। हुन पनि कुनै महामारीको प्रकोप एउटा देशबाट विश्वभरी फैलिन सक्छ भने यसबाट के शिक्षा मिल्छ र अवश्य मिल्नुपर्छ कि कुनै एउटा देशमा यस्तो महामारी फैलिन्छ भने त्यसका विरुद्ध पूरै बिश्व मिलेर लाग्नु र  सामना गर्न अग्रसर हुनुपर्छ।

अनि यस्तो महामारीको सामना क्षेत्रीय, महादेशीय तथा विश्वस्तरीय हुन सक्छ र हुनुपर्छ। अहिले त्यसका केही प्रारम्भिक लक्षण र संकेतहरु पनि देखिएका छन्।

त्यसमध्येको एउटा हो महामारी विरूद्ध सार्कस्तरीय भिडियो कन्फरेन्सद्वारा तय गरिएको साझा रणनीति निर्माण गर्ने पहल। त्यसरी नै सार्क देशले इरानलाई पनि यो प्रकोपको सामना गर्न यथासम्भव सहयोग पुर्‍याउने आश्वासन र प्रतिबद्धता। चीनले पनि यस्तै ‘स्वास्थ्य कूटनीति’ को आरम्भ गरिसकेको छ। चीनमा अपेक्षाकृत छिटो कोरोना भाइरसमाथि निकै हदसम्म नियन्त्रण पाइसकेपछि चीन अहिले यो महामारीसँग जुधिरहेका अन्य देशको सहयोगमा लागेको छ र आवश्यक उपकरण तथा चिकित्साकर्मी पनि सहयोगस्वरुप पठाउन थालेको छ।

यतिबेला इटाली, स्पेनलगायत यूरोपका अनेक देशहरु यो महामारीबाट अपूर्वरूपमा आक्रान्त छन् र महामारीको सामना गरिरहेका छन्। उनीहरू वास्तवमा  चीनको अनुभव र सहायता हासिल गर्न चाहन्छन् । हुन पनि चीनले शुरुमा भएका यो फैलदो महामारीको सामना गर्नमा भएका कतिपय कमी कमजोरीमाथि काबु पाएर जसरी कोरोना भाइरस बिरुद्ध जुध्ने काम गर्नमा उल्लेखनीय सफलता पायो र पाइरहेको छ त्यसबाट अरु यो समस्या झेलिरहेका देशहरु पनि लाभान्बित हुन चाहन्छन् नै।

अनि चीनका नेतृत्व खाशगरी राष्ट्रपति शी जिनपिङ आफूले अघि सारेको बेल्ट एण्ड रोड जस्तो महत्वकांक्षी परियोजना अनुरुपकै एउटा स्वास्थ्य सहयोग सञ्जाल परियोजना चलाउने प्रस्ताव पनि राखिसकेका छन्।

एशिया र यूरोपका साथै पूरै विश्वलाई यस्तो स्वास्थ्य प्रणालीसँग जोडेर भविष्यमा कोरोना भाइरस जस्ता भयावह महामारीको सामना गर्न सहज हुनसक्ने कुरा निश्चत प्रायः छ। कोरोना भाइरसले यो पृथ्वी ग्रहमा रहने सम्पूर्ण मानव समुदायलाई कडा चेतावनी पनि दिइरहेको छ। 

यथार्थतः आफ्नै जीवनदायिनी प्रकृतिसँग दिनरात खेलबाड गरिरेहको मानब समुदायका बिरुद्ध प्रकृतिले त बदला लिदै आइरहेकै छ र लिन्छ नै। यो कुरा मार्क्सका अन्यन्य मित्र तथा सहकर्मी फेडरिख एंगेल्सले उतिबेलै भनेकै थिए कि प्रकृतिमाथि बिजयको नाममा प्रकृतिका अधिशासित नियमहरुको उल्लंघन गरेर यसमाथि जथाभावी खेलबाड गरियो भने रोगब्याधी, बाढी पहिरो जस्ता अनेक अपूर्ब समस्याहरु उत्पन्न हुन्छन् र मानब समुदायलाई नोक्सानी पुर्‍याउँदछन् ।

 यसका अतिरिक्त प्रकृतिका जीव जन्तुहरुले पनि मानिससँग बदला लिन लागेको प्रतीत हुन्छ। अमेरिका, चीन र यूरोपेली देशहरुलाई मांसहारी मानिन्छ। किनभने तीन देशका अधिकांश  मानिसहरु मांसहारी छन्।  चीनमा त मानिसहरु सर्प र चमेरो समेत मासुकोरुपमा खान्छन्।

अहिले कोरोना भाइरस महामारी फैलिएको चीनको हूबे प्रान्तको वूहान त चमेरोको सूपको लागि  निकै नै प्रसिद्ध र लोकप्रिय मानिदै आएको छ।

भनिन्छ कि बिश्वका अधिकांश प्रायः शाकहारी देशहरुमा यो कोरोना भाइरसको प्रकोप कम मात्रै फैलिएको छ। यद्यपि यसबारे अझै खोज अध्ययन र अनुसन्धान गरेर मात्र यथार्थको नजिक पुग्न सकिन्छ र पुग्नुपर्छ। तर, पनि कमजोर आर्थिक स्थिति भएका बिश्वका बिभिन्न देशहरु र  ती देशहरुमा नाजुक स्थितिमा चर्मराइरहेको स्वास्थ्य समस्या वास्तवमा आजको ठूलो समस्या हो।

विपन्न देशहरुको कमजोर सार्वजनिक स्वास्थ्य सेवाले कोरोना बिस्फोटकोरुप लियो भने त्यसलाई धान्न र थेग्न अत्यन्तै कठिन हुने कुरा निश्चित छ। त्यतिबेला यसले ल्याउने बर्बादीबाट पार पाउन एउटा अत्यन्तै दुष्कर कार्यनै हुने जानेछ। अतः यस्ता देशहरुमा यसबाट बच्ने एउटा कारगार उपाय भनेको सोशियल डिस्टेन्सिङ अर्थात सामाजिक दूरी कायम राख्ने कुरा कोरोना बिरुद्ध लड्ने मएउटा महवपूर्ण र प्रभावकारी हतियार मानिदैछ। यसका लागि कतै कफर्यू, कतै बन्द र लकडाउन  जस्ता प्रयोग पनि अहिले  भइरहेका छन्।

अनि अर्कोतिर अब बिश्व स्तरमै यो महामारीसँग जुध्न र यसले पुर्‍याएको आर्थिक समाजिक नोक्सानीलाई पूरा गर्न तथा पुनर्निर्माण गर्न पनि बिश्वका देशहरु साझा मोर्चा बनाएर अग्रसर हुनुपर्ने टढ्कारो आबश्यकता बन्न गएको छ। कतिपय हिसावले यो दोस्रो युद्व पछिको बर्बादीको शिकार भएका देशहरुको पुनर्निर्माण जत्तिकै ब्यापक र बिराट हुने देखिन्छ। यस स्थितिमा के अपेक्षा गरिन्छ भने बिश्वका मानब समुदायप्रति संबेदनशील र जिम्मेवार नेताहरुले राष्ट्रिय स्वार्थको संकीर्णताबाट माथि उठेर बिश्व मानबाताको सामुहिक हितमा यस्तो अभियान चलाउने छन् र नयाँ विश्व निर्माण गर्नेछन्।

यसरी विश्वस्तरमा नयाँ इतिहासको रचनाको ढोका खोलिने छ। वास्तवमा यो कोराना महामारीले आत्मकेन्द्रित र नाफामुखी विकासबाट जनमुखी विकासको बाटोमा विश्वलाई मोड्न मद्दत गर्‍यो भन्ने त्यो एउटा दूरगामी महत्वको ऐतिहासिक मोड हुन जानेछ।

प्रकाशित मिति: : 2020-03-26 23:25:35

प्रतिकृया दिनुहोस्