धनगढीमा कोरोना संक्रमित भेटिएका युवकको पहिचान खुल्यो 

धनगढीमा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टी भएका युवक अमृत शाही भएको जानकारी बिएल नेपाली सेवालाई प्राप्त भएको छ। उनी डोटीस्थित साहिलका स्थानीयवासी हुन् भने गत साता मात्र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट नेपाल फर्किएका थिए। 

शाहीमा कोरोना भाइरस पुष्टी भएपछि यति बेला धनगढी बढी सर्तक देखिएको छ। उनी हाल सेती प्रादेशिक अस्पतालको ‘आइसोलेसन’ मा स्वास्थ्य उपचार गराइरहेका छन्। उनी फ्लाइट इमिरेट्सको इके–०१५० बाट चैत ६ मा भारतको नयाँ दिल्ली हुँदै नेपाल फर्किएका थिए। चैत ७ मा नेपाल अवतरण गरेका उनी धनगढीको टिकट नपाएपछि सोही दिन दिउँसो १२ बजे बुद्ध एयरको नियमित उडानबाट नेपालगञ्ज झरेका थिए। नेपालगञ्जबाट बस चढेर उनी धनगढी लागेका थिए।  

दुबईबाट उनीसँगै एउटै बिमानमा झापाका एक युवक पनि आएका थिए। कोरोनाको आशंका लागेपछि उनी काठमाडौंबाट घर फर्किएको तीन दिनपछि चैत ११ मा सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका हुन्। 

अस्पतालले उनलाई ‘आइसोलेसन’ मा राखेर घाँटीको स्वाब नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएपछि यसको पुष्टी भएको हो। 

शाही राजधानी काठमाडौंबाहिर कोरोना पुष्टी भएका पहिलो बिरामी हुन्। नेपालमा हालसम्म कोरोनाको ४ वटा बिरामी देखिएका छन्। 
 

प्रकाशित मिति: : 2020-03-28 22:19:17

प्रतिकृया दिनुहोस्