ट्रम्पका '७ ब्लन्डर' जसले बनाए कोरोना संक्रमणमा 'अमेरिका फस्ट'

कोरोनाले अहिले एक किसिमको विश्वयुद्धकै आकार लिएको छ। संसारभर फैलिएर हरेक दिन सयोैंको ज्यान लिइरहेको छ। फैलावट र ज्यान लिने दुबै अर्थमा यसलाई विश्वयुद्ध भन्दा अन्यथा मान्नु पर्दैन। निहत्था मानिसको ज्यान लिइरहेकाेले यो एक किसिमको आतंककारी पनि हो।

यो युद्धमा सारा विश्व एकातिर छ भने कोरोना भाइरस अर्कोतिर। तर पनि नांगो आखाले देख्न नसकिने यो सानो भाइरसले संसारलाई तिरिखिरि खेलाइरहेको छ। तेस्रो विश्वको त के कुरा भयो र पहिलो विश्वकै युरोपका विकसित मुलुकको केही सिप लागेको छैन। कोरोनासामु निरीह भएर हरेक दिन सयौै नागरिकको ज्यान बुझाउन बाध्य छन्।

संसारको एक मात्र महाशक्ति राष्ट्र भनिएको अमेरिका पनि कोरोनासामु निरीह छ।अमेरिका फस्ट भनेर नथाक्ने यसका राष्ट्रपति ट्रम्प हरेक दिन प्रेस भेटघाट गरेर अमेरिकी नागरिकको मृत्युको खबर बाँडिरहेका छन्। प्रेस व्रिफिङका नाममा हरेक दिन अन्टसन्ट बोलिरहेका छन्। यही कोरोनाले अर्को कार्यकालको सपना चकनाचुर पार्ने हो कि भन्ने भय उनको लोली र बोली दुबैमा देखिन्छ।  

कोरोना भाइरसको इपिसेन्टर चीनबाट युरोप हुँदै अमेरिका सरेको छ। विश्वको एक मात्र महाशक्ति राष्ट्र भनेर धक्कु लगाउने अमेरिका कोरोनाको इपिसेन्टर भएको छ र हेरक दिन दुईसयभन्दा बढी मानिसको जीवन बुझाइरहेको छ। यी पंक्ति लेखिरहेको दिन मार्च २६ मा अमेरिका कोरोना संक्रमितको शीर्ष वरियतामा उक्लेको छ। सन्तोषको कुरा भन्नुपर्ला, मृतकहरुको संख्या बढिरहे पनि अहिलेसम्म यो रोल नम्बर ६ सम्म पुगेको छ। तर, यही क्रम बढ्दै जाने हो भने त्यसमा पनि अमेरिका रोल नम्बर १ हुन धेरै टाढा छैन। त्यस्तो नहोस्, यो पंक्तिकार कामना गर्दछ। तर, सबै प्रिय कामना कहाँ पूरा भएका छन् र ?

अमेरिकामा किन बनिरहेको छ कोरोना भाइरसको इपिसेन्टर ? यस प्रश्नका अनेक पुच्छ्रे-उत्तर होलान् तर मूल उत्तर भने अमेरिकी राष्ट्रपति ट्रम्पको गलत सोच र कोण नै हो। उनले एकपछि अर्को गरेर श्रृंखलावद्ध गल्ती गरेका छन्। 

गल्ती नम्बर १
पहिलो त चीनले डिसेम्बरको तेस्रो सातामै कोरोना भाइरसको जानकारी दियो ट्रम्पले त्यसलाई चिनिया रोग भनेर कानमा बताससम्म लगाएनन्।तर, अहिले उनी ह्वाइट हाउसमा हरेक दिन चीनविरूद्ध एकतर्फि आरोप लगाइरहेका छन्- चीनले समयमै जानकारी दिएन। त्यसैले कोरोनासँग लड्न छ हप्ता ढिलो भयो। 

उनको यो आरोपमा कुनै दम छैन, आफूैले कानमा बतास नलगाएर ढिलो भएका हुन्। अझै पनि उनी यसलाई  कोरोना भाइरस हैन, चिनिया भाइरस नै भनेर आफ्नो भडाँस पोखिरहेकै छन्। 

गल्ती नम्बर २
विश्व स्वास्थय संगठनले जनवरीमै कोरोना भाइरसलाई विश्व महामारी घोषणा गर्यो। तर, यसलाई पनि राष्ट्रपति ट्रम्पले कुनै महत्व दिएनन्, न त्यसका लागि आवश्यक तयारी नै गरे। उल्टै यसलाई होक्स (हावादारी कुरा) भन्दै  सनसनी फैलाएको भनेर विश्व स्वास्थय संगठन नेतृत्वको भत्सर्ना गरे। अहिले पनि उनी विश्व स्वास्थ्य संगठनको वर्तमान नेतृत्वलाई चीनपरस्त आरोप लगाउँदै धारेहात लगाउन छोडेका छैनन्।

अहिले अमेरिकामा अमेरिकी जनता मरे पनि मरून् तर अर्थतन्त्र चाँहि बचाउनु पर्छ भने रोबोट राष्ट्रपति छन्। यस्ता राष्ट्रपतिको के काम अमेरिकालाई ? ढिलो-चाँडो अमेरिकी जनताले यो सत्यलाई बुझ्ने छन्, जति सक्दो चाँडो बुझ्न सकियो, त्यसैमा अमेरिकालाई फाइदा छ।

गल्ती नम्बर ३ 
अमेरिकामा सुरूमा यो वासिङ्टन, क्यालिफोर्निया र न्युयोर्क राज्यमा देखियो । आज पनि यी तीन राज्य नै सबैभन्दा बढी प्रताडित छन्।यी तिनै राज्य डार्क ब्लु अर्थात् डेमोक्रेटिक राज्य हुन्। ट्रम्पले यो समस्यालाई ती राज्यको नेतृत्व अझ खासगरी डेमोक्रेटको मात्र समस्याका रूपमा बुझे। अझ अगाडि गएर उनले, यो  समस्या ती राज्यमा बल्झे त्यसलाई राष्ट्रिय मुद्दा बनाएर चुनाव जित्ने सपना देखे। अहिलेसम्म पनि उनी यो समस्या ती राज्यकै समस्या भनिरहेका छन्; डेमोक्रेट गभर्नरले सही किसिमले सम्बोधन गर्न नसकेको भनेर दोषारोपण गरिरहेका छन्।

गल्ती नम्बर ४
ट्रम्पले यो मुद्दालाई सुरूदेखि नै चुनावी कार्डका रूपमा बुझे। उनले यही मुद्दालाई अर्थतन्त्रसँग जोडेर आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको पासा आफ्नो पक्षमा पल्टाउने सपना देखे । वास्तवमा यो समस्यालाई महामारीका रूपमा उनले बुझ्न नै चाहेनन्। अहिले पनि उनको त्यो बुझाइमा खासै फरक आएको छैन। 

गल्ती नम्बर ५
राष्ट्रपति ट्रम्प अहिले पनि अमेरिकी जनताको ज्यान हैन, अर्थतन्त्रलाई प्राथमिकता दिइरहेका छन्। मानिस मरेकोमा चिन्ता व्यक्त गर्ने भन्दा पनि सेयर सूचांक उकालो चढेकोेमा खुशी व्यक्त गरिरहेका छन्। पहिला त उनी राष्ट्रिय संकट नै लागु गर्न चाहिरहेका थिएनन्। बाध्य भएर त्यो त लगाए तर उनलाई राज्य र सहरले लकडाउन गरेकै मन परेको छैन। अहिले पनि उनी राष्ट्रिय संकट हटाएर इस्टरदेखि अमेरिका पुरै खुल्ला गर्ने पक्षमा छन्। उनले मुखै खोेलेर भने, 'राष्ट्रिय संकटकाल लम्बिनु भनेको उनको हार हुनु हो र उनी कुनै हालतमा पनि त्यसो हुन दिने छैनन्।' 

गल्ती नम्बर ६
राष्ट्रपति ट्रम्प अझै यो समस्यालाई विश्वको साझा समस्या हो र सबै मिलेर यसमाथि विजय प्राप्त गर्नुपर्छ भन्ने सोचाइ नै राख्दैनन्। उनी अहिले पनि अमेरिका फस्ट र अमेरिका एक्लैले जे पनि गर्न सक्छ भनेर फुईँ दिइरहेका छन्। उनी चीनलगायत युरोपेली मुलुकले हासिल गरेका अनुभव र उपलव्धीलाई नजरअन्दाज गरिरहेका छन्। उनी स्वास्थ्य विज्ञान र विशेषज्ञका पनि कुरा सुन्दैनन्। 

गल्ती नम्बर ७
राष्ट्रपति ट्रम्पको दिमाखमा अझै पनि यो रोग गरीव र आप्रवासीको रोग हो भन्ने गहिरो छाप छ। यो रोगले उनले मन नपराएका तिनै मानिसमाथि आक्रमण गर्छ तर उनले मन पराएका धनी र स्वस्थ मानिसलाई छुँदैन भन्ने भ्रम अझै पनि उनमा छ। यही भ्रमका कारण पनि उनले यो समस्यालाई गम्भीर रूपमा नलिएका हुन्। 

राष्ट्रपति ट्रम्पका यिनै श्रृंखलावद्ध गल्तीका कारण अन्तत: अमेरिका कोरोना भाइरसको इपिसेन्टर बन्न पुगेको हो । तर, अहिलेसम्म पनि उनले यसको गम्भिरता बुझ्न सकेका छैनन् या बुझ्नै चाहेका छैनन्। यसको असरका बारेमा अहिले नै अनुमान गर्न सकिदैन तर यति चाँहि भन्न सकिन्छ कि अमेरिकाले यसको चर्को मूल्य चुकाउनुपर्ने हुन्छ। राष्ट्रपति ट्रम्प स्वयंका लागि पनि कोरोना शुभ छैन। ज्यानका हिसाबले त यसले केही नगर्ला तर उनको अर्को कार्यकालको सपना यही कोरोना संक्रमणले चकनाचुर पारिदिने सम्भावना बढ्दो छ।

अहिले अमेरिकामा अमेरिकी जनता मरे पनि मरून् तर अर्थतन्त्र चाँहि बचाउनु पर्छ भने रोबोट राष्ट्रपति छन्। यस्ता राष्ट्रपतिको के काम अमेरिकालाई ? ढिलो-चाँडो अमेरिकी जनताले यो सत्यलाई बुझ्ने छन्, जति सक्दो चाँडो बुझ्न सकियो, त्यसैमा अमेरिकालाई फाइदा छ।

प्रकाशित मिति: : 2020-03-29 17:55:29

प्रतिकृया दिनुहोस्