कोभिड–१९ को विरुद्ध सामूहिक प्रयासको खाँचो  : मुख्यमन्त्री पौडेल

रासस

हेटौडा

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस  (कोभिड – १९) को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याएका छन्।

उनले भने, 'प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ। यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाको थप साथ र सहयोग आवश्यक छ।'

आज मुख्यमन्त्री निवासमा प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्राप्त सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले आर्थिक सहयोग गर्ने  सबै सङ्घसंस्थाहरुलाई धन्यवाद दिए। 
 
यसैबीच उपचार कोषमा सोमबार र आज गरी रु २० लाख रकम सङ्कलन भएको छ। कोषमा हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको गोर्खा लाहरी प्रालिले रु १० लाख र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रु सात लाख रकम सहयोग गरेको जनाइएको छ। 

सो कोषमा हेटौँडा खानेपानी बोर्डले रु तीन लाख सहयोग गरेको छ। बोर्डका अध्यक्ष प्रताप विष्ट र कार्यालय प्रमुख सुदर्शन ढकालले मुख्यमन्त्री  पौडेललाई रु तीन लाख १९ हजारको चेक आज हस्तान्तरण गरेका हुन्। गोर्खा लाहरी प्रालिले जिल्ला समन्वय समितिको कोषलाई समेत रु एक लाख हस्तान्तरण गरेको छ। 

वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लकडाउनका समयमा प्रदेशमा अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी व्यवस्था गरेको जनाएको छ।

 प्रदेशमा चामल ११ हजार दुई सय ९०, दाल दुई हजार ६ सय, चिनी तीन हजार नौ सय २३ र नून ३२ हजार मेटिक टन मौज्दात रहेको तथा खाना पकाउने एलपी ग्यास ८४ हजार सिलिण्डर मौज्दात रहेको तथा बिक्री वितरण र आपूर्ति सहज रहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले जानकारी दिए। 

 आपूर्ति व्यवस्थापनका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा सहायता कक्ष ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याई सेवा प्रवाह गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-03-31 17:46:02

प्रतिकृया दिनुहोस्