म काेराेनालाई जितेर देखाउने छु– काेराेना स‌ंक्रमित अमृत शाही

श्याम भट्ट

कञ्चनपुर

अमृत शाही सुदूरपश्चिमका पहिला कोरोना बिरामी हुन्। उनी आफै काेराेना संक्रमणकाे चेकजाँच गर्न अस्पताल पुगेका थिए। एक सन्तानका बुवा अमृत काेराेना जस्ताे महामारीविरुद्ध एक्लै लडिरहेका छन् तर केही नेपाली मिडियामा आफ्नाे बारेमा आइरहेकाे भ्रमपूर्ण समाचारलाई लिएर उनी दु:खी पनि छन्। ‘मलाई आफू अनुरुप प्रयोग गरे। सरी म तपाईलाई आफ्नो रेकर्ड दिन सक्दिन्,’ बिएल नेपाली सेवाले उनलाई कुराकानीकाे अडियाे रेकर्ड गर्न गरेकाे आग्रहमा उनले भने। बिएल नेपाली सेवाले उनलाई सोधेको थियो, ‘के हामी तपाईको कुरा रेकर्ड गर्न सक्छौं?’

सरकारले नखोजीकन आफैं धनगढीको सेती प्रादेशीक अस्पताल पुगेका अमृत अहिले ठिक छन्। यहाँका प्रमुख डाक्टर शेरबहादुर कमरलगायत तीन जनाले नियमित उनकाे निगरानी गरिरहेका छन्। 

‘म खुसी छु,’ अमृतले भने, ‘आएको दिन अलि तनाव थियो। शायद स्वास्थ्यकर्मीलाई पनि भयो होला। साधनहरू थिएनन्। अब त सबै पुगिसके हरेक दिन म आफूलाई स्वास्थ्य महसुस गर्दैछु।’

उनले केही दिनमै आफूले कोरोनालाई जितेर देखाउने बताए। ‘मलाई केही भएको छैन। म कोरोनालाई जितेर देखाउँछु,’ आत्मविश्वासी अमृतले भने। 

नेपालमा जतिपनि कोरोना संक्रमित छन्, उनीहरूले आफ्नो मनोवल उच्च राख्नुपर्ने उनको सुझाव छ। नेपालीको इम्युनिटी (रोगसँग लड्ने क्षमता) बढी हुन्छ। त्यसैले आफूलाई अनुशाषनमा राखे मात्र कोरोनामाथि विजय पाउन सकिन्छ। 

‘म दुबईबाट आउदा सँगैको सिटमा विराटनगरका विकाश आचार्य पनि थिए, क्वारेन्टाइनमा बसेका उनी ‘नेगेटिभ’ निस्किएपछि म पोजेटिभ हुँला भन्ने मलाई लागेको थिएन,’ उनले भने, ‘अहिले मसँग समाज भाग्न खोज्छ, जो पनि टाढा हुन खोज्छन्। मलाई दुःख याे कुरामा लागेकाे छ। अरु सबै ठिक छ।’

अस्पतालको आइसोलेसनमा बसेका उनी कहिले काही आफू एक्लो भएको महसुस गर्छन। तर, डाक्टरहरूको मायाले उनलाई हौसला प्रदान गर्ने गरेको छ। ‘सोसल मिडियामा म एक्टिभ छु। अमेरिका, युरोप र छिमेकी भारत जस्ता देशको त हावा निस्किएको बेला नेपालमा त्यो पनि सुदूरपश्चिममा मैले पहिलो दिन बाहेक कुनै अफ्ठेरो महसुस गरेको छैन,’ उनले भने। 

उनी कोरोनालाई महामारीको रूपमा परिभाषित गर्छन र ‘सेल्फ क्वारेन्टाइन’ लाई यसको अचुक उपचार मान्छन्। ‘म सबैलाई आग्रह गर्छु। घरमा बस्नुहोस्। नडराउनुहोस्। हावा समाचारबाट बच्नुहोस्,’ उनले अपील गरे। अहिले अस्पतालमा बस्दा उनी छोरी अवन्तिकालाई धेरै ‘मिस’ गरिरहेका छन्। वास्तवमा अमृत सुदूरमा कोरोाविरूद्धका सिपाही हुन्। 
 

प्रकाशित मिति: : 2020-04-02 15:16:16

प्रतिकृया दिनुहोस्