भक्तपुरका मेयर प्रजापतीको अपील– ‘बिस्केट जात्राकाे पूजा मात्र हुन्छ, जात्रा र भोजभतेर अर्को वर्ष गरौँला’ (भिडियाे)

भक्तपुर नगरपपालिकाले नोबेल कोरोना भाइरस संक्रमणको महामारीका कारण भक्तपुरको विस्केटजात्रा स्थगित गर्ने निर्णय गरेको छ । करिब चार सय वर्षको इतिहास भएको यो जात्रा व्याधिका कारण रोकिएको पहिलोपल्ट हो ।

भक्तपुरका मेयर सुनील प्रजापतीले बिएल नेपाली सेवा सँग कुरा गर्दै भने, ‘व्याधिकै कारण जात्रा स्थगित भएको त इतिहासमै पहिलोपटक हो । मल्ल कालमा एक चोटी आजभन्दा ३५६ वर्षअगाडि काठमाडौं र ललितपुरका राजाहरूले सल्लाह गरेर भक्तपुरको जात्रालाई बन्द नै गर्नुपर्छ भन्ने दबाब दिएर बन्द गराएको इतिहासमा पाउँछौँ ।’  
यसअघि रोग–व्याधि आएर बिस्केट जात्रा कहिल्यै स्थगित भएको भन्ने नसुनेको मेयर प्रजापतीले बताए । 

नयाँ वर्षमा मनाइने बिस्केटजात्रा भक्तपुरको निकै महत्वपूर्ण जात्रा हो । ‘यसपालि चाहिँ परम्परालाई नरोक्ने तर जनता बाहिर ननिस्कने गरी मनाउने निर्णय गरिएको छ’, उनले भने, ‘प्रमुख जिल्ला अधिकारी, गुठी संस्थानका प्रमुख, टोल–टोलका जो–जो जात्रा गर्नेहरूका नाइकेहरुलाई बोलाएर छलफल गरी पूजा मात्र गर्ने, जात्रा चाहिँ नगर्ने निष्कर्षमा पुग्यौँ ।’

मेयर प्रजापतिले निर्णयमा पुग्नुअघिको गृहकार्य सुनाए, ‘भोज खाने, मोजमस्ती र रमाइलो अर्को साल गर्न सक्छौँ । कोरोनालाई जितिसकेपछि अर्को समयमा हामीले क्षमापूजा भनेर गरौँ वा अरु केही गरौँ भनेर आग्रह गर्‍यौँ ।’

‘उहाँहरूलाई हामीले भन्यौँ– यस्तो आज सारा विश्व नै कोरोनाको विरुद्ध लडिरहेको छ । एकातिर कोरोना भाइरस, अर्कोतिर सारा विश्वका मानव जाति छन्’, उनले परिस्थितिको गम्भीरता सुनाए, ‘त्यसकारण हामी कोही पनि निस्कन नहुने बेला तपाईंहरूले मात्रै दुई–तीन जना गएर पूजा मात्र गरिदिनुस् । उहाँहरू पनि खुशी हुनुभो ।’

‘यो वर्ष देवतालाई ‘देग छेँ’ (देवता राख्ने घर)बाट देवता निकाल्दैनौँ, हामी दुई–तीन जना बसेर पूजाआजा सम्पन्न गर्छौं’, टोलका नाइकेसहित भएको निर्णयबारे मेयर प्रजापतीले भने, ‘मात्र पूजा चाहिँ गर्छौं, त्यो धेरै ठूलो पनि गर्दैनौँ, बाहिरका मान्छेलाई पनि आउन दिने छैनौँ । एक दमै सामान्य रुपमा गर्छौँ।’ 

बिस्केट जात्राको लिंगो उभ्याउने दिन, ढाल्ने दिन, भैरव रथ तान्ने दिन, हजारौँ हजार मान्छेको जमघट हुन्थ्यो, त्यो हुने छैन । मेयर प्रजापतीले अपील गरे, बिस्केट जात्राको समयमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीले बिगतका वर्षमा जस्तै यो वर्ष पनि आज लिङ्गो उभ्याउने हो, आज भैरवको रथ तान्ने हो, आज ब्रम्हायणी देवीको जात्रा हो, माइश्वरी, इन्द्रायणी, महारयी, महाकालीको जात्रा हो भनेर कृपया घर बाहिर ननिस्किदिनुस्।’

प्रकाशित मिति: : 2020-04-09 18:39:00

प्रतिकृया दिनुहोस्