छिपहरमाई गाउँपालिका सिल, तीन भारतीय कोरोना संक्रमितसँगै नमाज पढेका ५ जना क्वारेन्टाइनमा

पर्साको छिपहरमाई गाउँपालिका पूर्ण रुपमा सिल गरिएको छ। 

वीरगञ्जमा रहेका तीन भारतीय कोरोना संक्रमितसँगै मस्जिदमा नमाज पढेकाहरु ५ जना गाउँपालिकामा भेटिएपछि बुधबार सो क्षेत्र पूर्ण रुपमा सिल गरिएको हो।

छपकैयाको श्रीराम हल नजिक डेरामा बस्दै आएका उनीहरु लकडाउन भएपछि गाउँ फर्किएका थिए। उनीहरुलाई नियन्त्रमा लिएर क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘गाउँपालिका ५ भिस्वाका सहबजान मियाँ र उनका छोरा जाकिर हुसैन सहित परिवारका ५ जना सदस्यहरुलाई कोरोनाको संक्रमण फैलन नदिन क्वारेन्टाइनमा राखिएको छ।,‘ गुप्ताले भने। 

उनले संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरु जानकारी पाए तुरुन्त स्थानिय प्रशासन अथवा हेल्पलाईन नम्बर ९८०९२७८०२७ मा जानकारी गराउन अनुरोध गरे।

त्यस्तै, सोही गाउँपालिका ५ भिस्वामा रहेको एउटा मस्जिदमा फेला परेका २ जना भारतीय नागरिकलाई समेत क्वारेन्टाइनमा राखिएको छ। 

भारतको बिहारका २ जना उक्त मस्जिदमा बसेको जानकारी आएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष गुप्ताले बताए। 

‘शुरुमा सोधपुछ गर्दा घर नारायणघाट बताएका उनीहरुसँग नेपाली नागरिकको कुनै प्रमाण नभेटिएपछि उहाँहरुलाई क्वारेन्टाइनमा राखेका हौं,’ उनले भने,

अध्यक्ष गुप्ताका अनुसार गाउँपालिकाको क्वारेन्टाइनमा अहिले भारत तथा विदेशबाट आएका नेपालीसहित भारतीय नागरिक गरि २९ जनालाई राखिएको छ।
 

प्रकाशित मिति: : 2020-04-16 13:32:38

प्रतिकृया दिनुहोस्