आज अमेरिकन आइडलको उत्कृष्ट ७ घोषणा : पुग्लान् त दिवेश पोखरेल ?

बिएल संवाददाता

कान्सास सिटी-अमेरिका

आज आइतबार, ईश्वी सम्वत् २०२० मे महिनाको ११ तारिख। पात्रोमा कुनै पनि दिन एक युगमा एकपटक मात्र आउँछ। स्वभावत: आजको दिन पनि एकपटक नै आउँने हो। यसरी कहिलै नआउने दिनमा कुनै दिन विशेष काम भयो भने त्यो दिन ऐतिहासिक हुन्छ। 

आजको दिन पनि नेपालका लागि एक ऐतिहासिक दिन हुन सक्छ। त्यो दिन अमेरिकी सांगीतिक रियालिटी शो अमेरिकन आइडलबाट आउन सक्छ र त्यो दिन ल्याउने  आर्थर गन अर्थात् दिवेश पोखरेल हुन सक्छन्। 

अबको केही घण्टापछि अमेरिकन आइडलको उत्कृष्ट ७ को नतिजा सार्वजनिक हुदैछ। र, ती सात नाममा आर्थर गनको नाम होला कि नहोला ?, घरदेश नेपालदेखि परदेशमा विश्वभर छरिएर रहेका नेपालीमाझ यो एक चासो र उत्सुकताको प्रश्न बनेको छ। त्यसमा पनि अमेरिकामा रहेको नपाली डायस्पोरामा त यसको बढी नै प्रतीक्षा छ।  

गत आइतबार साँंझ  उनले कान्सासको वाचितास्थित घरबाट उत्कृष्ट ७ का लागि सांगीतिक कोसेली प्रस्तुत गरेका थिए। पृष्ठभूमिमा हिमाल राखेर गितार बजाउँदै उनले जोन डेन्भरको सदाबहार गीत 'टेक मी होम कन्ट्री रोड' गाएका थिए। गीतको मर्मलाई इज्जत गर्दै आफ्नै पनमा ढाँचेर उनले गाएको गीतले निर्णायकहरूको मात्र हैन, दर्शक/स्रोताको पनि मन जितेको थियो। 

उनले दिएको प्रस्तुति, निर्णायकहरूको प्रतिक्रिया, यसअघि पाएको मत संख्या र भोटिङ प्याट्रन हेर्दा उनी उत्कृष्ट ७ मा पुग्ने बलियो सम्भावना देखिएको छ। यदि उनले त्यो सफलता हात लगाए भने उनको लागि त यो ठूलो उपलव्धी हुने छ नै, नेपाल र नेपालीका लागि पनि यो एक कीर्तिमानी उपलब्धी हुने छ।

दिवेश अमेरिकी आइडलको यो सिजनमा विभिन्न चरणमा उत्कृष्टता प्रस्तुत गर्दै उत्कृष्ट २० मा पुगेका थिए। अनलाइन भोटिङको यो पहिलो चरणमा तीन करोड ६० लाख मत पाउँदै उनी उत्कृष्ट १० मा पुगेका थिए।

सांगीतिक नाम आर्थर गन राखेका दिवेश पोखरेल अमेरिकाको कान्सास राज्यको विचितामा बस्छन्। विचिता अमेरिकाको मध्यपश्चिमी राज्य कान्सासको एक सानो सहर हो। सन् २०१४ मा आएका दिवेशले छोटो समयमै लामो सांगीतिक फड्को मारिसकेका छन्। 

प्रकाशित मिति: : 2020-05-11 02:56:08

प्रतिकृया दिनुहोस्