श्रम सहकार्यमार्फत् किसानलाई खाद्यान्न

राजु लामिछाने

रुकुम पश्चिम

रुकुमको एक स्थानीय तहले श्रम सहकार्यमार्फत् खाद्यान्न उपलब्ध गराउने नयाँ कार्यको सुरुवात गरेको छ। कोरोना भाइरस संक्रमणको कारण लम्बिदै गएको लकडाउनले निम्त्याउदै गएको खाद्यान्न अभावको अवस्थालाई मध्यनजर गर्दै उक्त कार्यको थालनी गरिएको हो। 

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले खाद्य श्रम सहकार्यमार्फत एकैपटक १० हजार धरधुरीलाई काममा लगाएर खाद्यान्न उपलब्ध गराउने नीति अनुरुप काम सुरु गरेको छ। 

नगरप्रमुख गोरखबहादुर केसीले खाद्य समस्या परेको ठाउँमा काम दिएर सो वापत खाद्यान्न दिने नीति लिएको बताए। उक्त नीतिको कार्यान्वयन सुरु गरिएको बताउदै केसीले नगरभित्रका सबै घरधुरीलाई काममा लगाएर हरेक घरमा ५० केजी चामल उपलब्ध गराउने जनकारी दिए।

निश्चित दूरी कायम हुने गरी हरेक टोलमा १० घरधुरीको एउटा श्रम सहकार्य समूह बनाइएको छ,’उनले भने,‘उहाँहरुले सडक, सिचाई, तटबन्द जस्ता काममा श्रम गर्ने ब्यवस्था मिलाइएको छ।’

नगरपालिकाभित्र १० हजार घरधुरी रहेकामा त्यसबाट १०/१० घरको प्रतिनिधित्व गर्ने एक हजार श्रम सहकार्य समूह बनाएको उनले बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम, नगरका कार्यन्वयन गर्न बाँकी कार्यक्रमबाट उक्त काम गरिने जनाइएको छ। हरेक घरले पाँचदेखि सात दिन काम गरेर ५० केजी चालम पाउने छन्।  

‘कोही घरमा काम गर्न नसक्ने मान्छे नभए समूहकै निर्णय अनुसार छिमेकीले काम गरिदिनुपर्ने छ,’ नगरप्रमुख केसी भने,‘चामल पाउनबाट कोही घर पनि वञ्चित नहुने निति नगरपालिकाले लिएको छ।’ यो अभियान अन्तर्गत करिव रु ३ करोडको काम हुने अपेक्षा पालिकाले गरेको छ।

वडा नं. १० बाट कामको सुरुवात

नगरपालिकाले पालिकाको वडा नं. १० का श्रम सहकार्य समुहहरुबाट कामको थालनि गरेको जनाएको छ। वडाअध्य्क्ष गंगाराम चनाराले टोलका बढिमा १० जनाको समूहलेसँगै काम गर्ने र एउटा समूह अर्को समूहको सम्पर्कमा नजाने व्यवस्था  मिलाइएको छ। नगरमा एक हजार समूह बनाई दश हजार किसान परिवारलाई यसकार्यमा सहभागी गराइने नगरपालिकाले जनाएको छ। 

प्रकाशित मिति: : 2020-05-14 22:00:47

प्रतिकृया दिनुहोस्