दलितको हत्या कहिलेसम्म?

 कहरमा अन्तरजातीय विवाह –२ 

सच्चा मानवको अनुसार मानिसका दुई जात हुन्छन्। महिला र पुरूष। सभ्यतामा हुर्केका मानिसको अनुसार मानिसको धर्म मानवता हुन्छ भने संस्कार सिकेका मानिसको रङ्ग वर्ण केही हुँदैन, सिवाय मानवता र प्रेम।

दानवताको रजगजमा हुर्केका अमानवको वर्ण हुन्छ, जात हुन्छ, धर्म हुन्छ र रङ्ग हुन्छ। अमानवको छुट्टै चित्र हुन्छ। छुट्टै संसार हुन्छ। मेरो हुन्छ। तेरो हुन्छ। छुन मिल्ने हुन्छ। छुन नमिल्ने हुन्छ। पाइला पाइलामा दायरा कोरिएको हुन्छ। जातीयताको नाममा, धर्मको नाममा। नेपाली समाज अमानवीय दानवीय प्रवृत्तिबाट दलित समुदाय आजित छ। वर्ण व्यवस्थाको दानवीय रङ्गलाई निरन्तरता दिने काम भने जातीय प्रथाले गरेको छ।

जातको आधारमा दलित समुदाययले सदियौंदेखि सहदै आएको दमन, पीडा र हत्या कहिलेसम्म? सरकारको ट्रार्गेट कतिसम्म हो? सरकारले प्रष्ट रुपमा भन्दिनु पर्‍यो ताकि नेपाली उच्च जातीय समाजलाई दलितको हत्या गर्ने सरल हुन्थ्यो। उच्च जातीय अहंकारवादी मनुवादी बाहुनवादी संस्कारमा हुर्केको कथित उपल्लो जातलाई सहज हुन्थ्यो। प्रेमको मूल्य मृत्यु हो? समानताको रूप हत्या हो? सरकार जवाफ दे! अन्तरजातीय प्रेमको सवालमा, विवाहको रुपमा नेपाली समाज किन क्रुर, किन असहिष्णु? उत्तर उच्च जातीय अहंकार, जातीय  कुमानसिकता र बाहुनवाद नै प्रमुख कारकतत्व हो।

नेपाली समाजको सबैभन्दा कुरूप चित्र भनेको वर्ण व्यवस्थामा आधारित जातीय कुप्रथा हो। यस कुप्रथाले लाखौंलाख दलितको समाजिक स्वतन्त्रता हनन् गरेको छ। हजारौं दलितको हत्या भएको छ। दिनहुँ हजारौं दलित महिला बालबालिका बलात्कृत हुनुपरेको छ। दलित हत्याको पछिल्लो अमानवीय घटना पश्चिमी रूकुममा घटेको छ। पुनः एकपटक नेपाली समाजको जात व्यवस्थाले सृजना गरेको डरलाग्दो, घिनलाग्दो दृश्य पश्चिम रूकुममा देखिएको छ। जातकै कारणले नवराज विक र उनका साथीको निर्मम तरिकाले सामुहिक हत्या भएको छ।

कथित उच्च जातीय अहंकार, मनुवादी बाहुनवादी कुमानसिकता कुसंस्कार संक्रिण सोचले, एक प्रेमीको हत्या भएको छ। जातको नाममा तीन कलिला युवाहरुले ज्यान गुमाएका छन्। चारको अवस्था भने अज्ञात छ। जातीय अहमताको निम्ति मानिस कतिसम्म निज हुनसक्छ भन्ने उदाहरण हो, रूकुम हत्याकाण्ड। मानिसले जातीयताको लागि के मात्र गर्नसक्छ भन्ने उदाहरण हो रुकुम हत्याकाण्ड। शुष्मा मल्ल र नवराज विकबीचको एक वर्षीय प्रेमको अन्त्य सामुहिक हत्यामा परिणत भयो। सारा गाउँ मिलेर तल्लो जातको नवराज विकले उपल्लो जात भएकी शुष्मा मल्ल भगाउन लाग्यो भनेर हत्या गरियो। हत्याको एकमात्र कारण नवराज विकले कथित उच्च जातकी महिलासँग गाँसेको  प्रेम थियो। घरजम बसाउने सपना थियो, जसको मुल्य मृत्यु भयो ।

मानिस किन कथित उपल्लो जातको कारणले अहंकारी हुन्छ? जातको नाममा किन अपराधी हुन तत्लिन हुन्छ? कसरी मानवता बिर्सन्छ? नवराज विकको हत्या जातीय विभेदको पराकाष्ठा हो। नेपाली समाजको तितो यथार्थ हो। दलितले गैरदलितलाई प्रेम गर्नुको परिणाम हो। के दलितले गैर दलितलाई प्रेम गर्नु अपराध हो? हो भने सरकार तुरून्त कानुन पारित गर। ताकि दलितको हत्या रोकियोस्। बुढा आमा बाले आफ्नो सन्तान गुमाउन नपरोस्। युवा छोराको लास अगाडि बसेर रून नपरोस्। हजारौं प्रेमीको हत्या रोकियोस्।

कुम हत्याकाण्ड विशुद्ध दलितमाथि उच्च जातीय अहंकारमा हुर्केका, अपराधीक मानसिकता भएका बाहुनवादी सोच भएका विखण्डनकारी जातीय संस्कारको निरन्तरता हो। नत्र किन मारिन्थे नवराज विक? नवराज विकको ठाउँमा नवराज शाही भएको भए जन्ती जान्थ्यो होला। मल्ल परिवारले स्वागत सत्कार गर्थ्यो होला। गाउँले ज्वाइँ भनेर सम्मान गर्थे होला। तर विडम्बना शाहीको ठाउँमा विक भयो। नवराजको जात मिलेन, भात चलेन र साथ चलेन। फलस्वरूप नवराज विक मारिए तल्लो जातको नाममा। उनका साथी मारिए मित्रताको नाउँमा।

जातीय विभेदका कारणले गैरदलित समुदायबाट दलितको हत्या भएको रुकुम हत्याकाण्ड पहिलो घटना होइन। दैलेखका सेतु दमाई, काभ्रेका अजित मिजार र गत शनिबार नवराज विकको हत्याको मुख्य कारण भनेको कथित उपल्लो जातका युवतीसँग गरिएको प्रेमको प्रतिफल थियो। उनीहरूका लागि गैरदलितसँग प्रेम गर्नु अपराध सावित भयो।  भनिन्छ, ‘प्रेमको जात हुँदैन, धर्म हुँदैन, सिमा हुँदैन र रङ हुँदैन।’ तर नेपाली समाजमा प्रेमको जात हुन्छ, धर्म हुन्छ र जातीय सिमा हुन्छ। यदि कसैले विद्रोह गर्ने कोसिस गरे मृत्यु वहन गर्नुपर्छ। उसले सहर्ष मृत्यु स्विकार्नु पर्छ। यहाँ मान्छेको जात हेरिन्छ। धर्म हेरिन्छ र सम्बन्ध गाँसिन्छ। त्यसको विरोध गरे नवराज विक बन्नुपर्छ। निर्मम हत्या स्वीकार्नुपर्छ।

नवराज विक एक प्रतिनिधि पात्र हुन्। हजारौं नवराजहरु अन्तरजातीय विवाहको  कारणले घरवार त्यागेर भारत, कालापहाड पलायन भएका छन्। उतै घरपरिवार, आफन्त त्यागेर जीवन बिताइरहेका छन्। कारण मृत्यु छल्नु हो, बाँच्नु पनि हो। नत्र ती तमाम कालापहाड गएकाको पनि निर्मम हत्या हुन्थ्यो। तीनका लास नदि किनारमा भेटिने थिए। बीच जङ्गलका खाडलमा पुरिएका हुने थिए। नेपाली समाजको परिपाटी त्यस्तै छ। अन्तरजातीय प्रेम गरेकै कारण हत्या भएका थुप्रै दलित छन्। पानी छोएको निहुँमा कुटपिटबाट मृत्यु भएका धेरै दलित छन्। जातको आधारमा मारिएका दलितका कयौं  समाचार लेखिए। मृत्यु दर्ता कोरिए, पोष्टमार्टम गरियो तर हत्या रोकिएको छैन।

अजित मिजार (काभ्रे), मनवीरे सुनार (कालिकोट), सेते दमाई (दैलेख), मना सार्की (कालिकोट), शिवशंकर दास (सप्तरी), लक्ष्मी परियार (काभ्रे), राजेश नेपाली (पर्वत), श्रेया सुनार (कास्की), रूपमतीकुमारी दास (मोरङ), दितिया रेश्मा रसाइली (धनुषा), माया विक (कैलाली), अस्मिता तोलामी सार्की (झापा), संगीता परियार (तनहुँ), झुमा विक (ताप्लेजुङ) र नवराज विक (रुकुम)  आदि अन्तरजातीय विवाह गरेको, पानी, चुलो छोएको तथा बोक्सी भएको आरोपमा मारिएका दलित हुन्।

समाजशास्त्रीय कोणबाट हेर्दा नेपाली समाज जातको आधारमा खण्ड खण्डमा विभाजित छ। जातीयताका आधारमा रोटी र बेटिको साइनो गाँस्ने  हिन्दु सामन्तवादी उच्च जातीय अहंकारमा हुर्केको पहाडी खस आर्यको मानसिकता डरलाग्दो छ। त्यस्तै मधेसी तागाधारी जमातको मानसिकता झनै भयानक छ। पहाडी र मधेसी तागाधारी समुदायको चेपुवामा तराई पहाड र हिमालका दलित समुदाय वर्षैदेखि दमन, शोषण, अत्याचार, दुराचार र निषेधको राजनीति सहन बाध्य छन्।

जातीयताको आधारामा दलितमाथि दमन शोषण, हत्या, बलात्कार, अत्याचारका घटना अनगिन्ती छन्। अझैसम्म कयौं यस्ता गाउँ छन् जहाँ जातको आधारमा सिमाना तोकिएको हुन्छ। छुन मिल्ने वस्तु र बस्न मिल्ने ठाउँ गैरदलितद्वारा दलितका लागि निर्धारण गरिएको हुन्छ। भलै नेपाल सरकारले जातीय छुवाछूतको अन्त्यको लागि  विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेको छ। तर तितो यथार्थ भने बेग्लै छ।

राज्यको कानुनभन्दा गैरदलितले दलितमाथि स्थापित गरेको मुल्य मान्यता कडा र अमानवीय छ। दलितले गैरदलितको भाँडाकुँडा छुँदा, घर आँगनमा टेक्दा, अन्तर जातीय विवाह गरेमा के कस्तो सजाय दिनेबारे गैरदलितको आफ्नै नियम कानुन छ। नेपालको कानुन अनुसार जातीय छुवाछूतका घटनाका पिडक सजायको भागिदार हुन्छन्। भलै दलित हकअधिकारको निम्ति ऐन छन्, तिनका धारा छन्, दफा, उपदफा छन्। विडम्बना ती कागजमा सिमित देखिएका छन्। नेपालको संविधानमा पनि जात, लिङ्ग, वर्णको आधारमा हुने विभेदयुक्त जुनसुकै कार्य अभ्यास गरे दण्डित हुने कानुन छ। तर विडम्वना अहिलेसम्म राज्यको नियम कानुनले पिडक र पीडितलाई त्यति छोएको देखिँदैन।

कसैले नेपालको कानुन बमोजिम हुने सजाय छ भन्दा, यस्तो पनि छ भन्ने जनसंख्या धेरै छ। महिनैपिच्छे मिडिया प्रसारण र प्रकाशन हुने समाचारले यसको पुष्टि गर्छ। जातीय छुवाछूतका घटनामा ज्यान गुमाएका दलित धेरै छन्। कयौंले घरबार त्यागेका छन्। कयौंको सजाय स्वरुप सम्पत्ति जफत गरिएको छ। दलित समुदायले कतिन्जेल आफ्नो आत्मसम्मान र समाजिक स्वतन्त्रताको हनन् सहने? कति दलित बुबा आमाले आफ्नम छोराछोरीको लास हेर्ने ? अझ कतिसम्म साठी लाख दलितले विभेदको विष पिउनपर्ने ?

वर्तमान नेपालीको समाजको रवैया र चरित्रले यसको कुनै अन्त्य हुने छाँटकाँट देखिँदैन। गैरदलित समुदायको जातीय घमण्डले, विखण्डनकारी संस्कृति र परम्परागत कुरीतिबाट कति दलितको को ज्यान लिने हो? कति नवराज विकहरूले जातको आधारमा सामुहिक हत्याको सिकार हुनुपर्ने हो? नवराज विकहरुका आमाको आँसु कसले पुछिदिने? यी तमाम प्रश्नको जबाफ कसले दिने। निश्चितरूपमा जातपातमा लिप्त समाजले दिन सक्दैन। विभेदकारी समाजको नजरमा  दलितको लागि  हत्या, अराजकता, यातना र  बर्बरता हो ।  समानता, धार्मिक समाजिक स्वतन्त्रता र आत्मसम्मान दलित समुदायको निम्ति एकादेशको कथा जस्तै भएको छ।

अन्ततः जातीयताको नाममा नवराज विकको निर्मम हत्या, नवराजसँग रुकुम गएका टिकाराम विक र गणेश बुडामगरको हत्या, चार जना युवाको अज्ञात अवस्थाले नेपाली समाजको चरित्र कस्तो छ भन्ने कुरा सारा विश्वलाई पुनः एकपटक देखाइदिएको छ। हामी कस्तो समाजमा छौं ? हाम्रा पुस्ता कस्तो संस्कारमा हुर्केका ? हामी के सिक्दै छौ ? हाम्रो  दिमागमा के छ ? त्यो पनि छर्लङ्ग देखिएको छ। हाम्रो धार्मिक सांस्कृतिक भित्रको कलंक यी घटनामार्फत छताछुल्ल भएको छ। आज विश्व समुदाय कोरोना भाइस विरुद्धको लडाइँमा छ तर हाम्रो समाज भने जातीयताको लडाइँमा व्यस्त छ। आफ्नो दाजुभाइको हत्याकाण्डमा मस्त छ, त्यो पनि जातको नाउँमा। सोच्दा मानसपटलमा विभिन्न तरङ्ग उत्पन्न हुन्छन्। आँसु थामिदैनन्, मुटु भत्तभति पोल्छ। म कस्तो समाजमा जन्मे हुर्के भनेर। सरकार यसको जवाफ दे मलाई। साठी लाख दलित समुदायको समाजिक, राजनीति हत्या कहिलेसम्म?

  कहरमा अन्तरजातीय विवाह   
१. जातीय विभेदः कानुन र सामाजिक चेत- सचिन तिमल्सेना
२. अन्तरजातीय प्रेमले दिएको पीडा र छोडेको सन्देश - भोला आचार्य
प्रकाशित मिति: : 2020-05-27 12:35:00

प्रतिकृया दिनुहोस्