अमेरिकामा हिंसात्मक प्रदर्शन जारी, एक प्रहरी र एक प्रदर्शनकारीको मृत्यु

बिएल संवाददाता

वासिङ्टन डीसी- अमेरिका

अमेरिकामा भड्केको पछिल्लो हिंसामा एकजना सर्वसाधारण प्रदर्शनकारी र एकजना प्रहरी अधिकृतको मृत्यु भएको छ। मृत्यु हुनेमा मिचिगन राज्यको डेट्रोयटका एक सर्वसाधारण र फ्लोरिडा राज्यको अकल्याण्डमा एक प्रहरी अधिकृत रहेका छन्। 

मिनेसोट्टा राज्यको मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी जर्ज फोयडको मृत्युपछि भड्केको हिंसा कम्तिमा पनि अमेरिकाका ३० सहरमा फैलिसकेको छ। प्रदर्शन हिंसात्मक हुँदै गएका छन् भने आगजनी, तोडफोड र लुटपाटका घटना पनि बढेका छन्। 

राज्य,स्थानीय सरकार र समुदायका अगुवाहरू हिंसालाई मत्थर पार्न लागिपरेका छन् । कतिपय ठाउँमा कर्फ्यु लगाइएको छ भने कतिपय ठाउँमा सैनिक तैनाथ गरिएको छ। 

जर्ज फोयडको गृहनगर मिनियापोलिसको अवस्था गम्भीर छ। खासगरी अश्वेत बहुल सहरमा हिंसा भडि्एको छ। पछिल्लोसमय लस एञ्जलस, डेट्रोयट, एटलान्टा, फोनिक्स, पोर्टल्याण्ड, डालास, न्युयोर्क, लसभेगासलगायतका सहरमा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरू जर्ज फोयडमाथि न्याय हुनुपर्ने र आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रत्याभूतिको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्। कतिपय ठाउँमा ठूलो संख्यामा प्रदर्शनकारी पक्राउ पनि परेका छन्। 

यो घटनालाई साम्य पार्न जर्ज फोइड मारिएको घटनामा संलग्न रहेको आरोपमा चार प्रहरी अधिकृत निस्कासित गरिएका छन्। र, भिडियाोमा फोइडको घाँटी थिचिरहेको अवस्थामा देखिएका गोरा जातिका प्रहरी अधिकृत डेरेक चौविनमाथि मुद्दा चलाइएको छ। अहिले उनी प्रहरी हिरासतमा छन्। घटनाको जाँचपड्ताल र अनुसन्धान जारी राखिएको बताइएको छ। 

यो घटनालाई आफ्नो पक्षमा पारेर आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावमा अश्वेत भोट बैंक बटुल्ने सत्ताको दाउपेच पनि सुरू भएको छ। रिपब्लिकन र डेमोक्रेटिक दुबै पार्टी यो घटनाका लागि एकले अर्कालाई दोष दिइरहेका छन्। 

प्रकाशित मिति: : 2020-05-30 23:45:26

प्रतिकृया दिनुहोस्