लकडाउन कडाइ गर्न उपत्यकाका तीनै प्रजिअको निर्देशन

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले लकडाउनलाई कडाइका साथ पालना गर्नुको विकल्प नरहेको निष्कर्ष निकालेका छन्।

पछिल्लो समय उपत्यकामा लकडाउन उलङ्घन गर्ने क्रम बढेपछि काठमाडौं, भक्तपुर, ललितपुरका प्रजिअहरूको बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार सरकारले जेठ ३२ गतेसम्म कायम गरेको लकडाउनलाई कडाइका साथ पालना गर्ने निर्णय भएको हो।

सरकारले ३२ गतेसम्म लकडाउनको घोषणा गरेको स्मरण गर्दै बैठकमा सरकारको निर्देशनको अवज्ञा गर्ने जो कोहीलाई छुट नभएको भन्दै लकडाउन खुकुलो बनाउने अधिकार आफूहरूलाई मान्य नहुने बताए।

सरकारको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने भन्दै उनले सरकारले तोकेको अवधिसम्म लकडाउनको पालना सबैले गर्नुपर्ने बताए।

उपत्यकामा सङ्क्रमणको जोखिम बढेकाले लकडाउन उलङ्घनमा कडाइलाई कायमै राखिने बताए।

यस्तै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि सरकारको निर्देशनअनुसारै लकडाउनलाई थप कडाई गर्ने बताइन् ।

उपत्यकाका प्रजिअहरूले लकडाउनलाई अहिलेकै अवस्थामा पालना गराउने निष्कर्ष निकाले पनि आजै अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै छ। आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीमा केही हेरफेर गर्ने सम्भावना रहेको छ।

यता लामो समयको लकडाउनले आक्रान्त बनेका व्यापारी–व्यवसायीहरूले स्वतस्फूर्त अवज्ञा गर्न थालेका छन्। उपत्यकाका धेरै स्थानमा पसलहरू खुलेका छन् । सवारी र मानिसहरूको आवागमनमा पनि वृद्धि भएको छ।

यसैबीच सार्वजनिक यातायात, हवाई सेवा, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउन काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन तयार भएका हुन् ।

उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ ।

चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योग/कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योग/कलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन् । प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।

प्रकाशित मिति: : 2020-06-04 14:18:11

प्रतिकृया दिनुहोस्