सेती अञ्चल अस्पतालले कोरोनाबाट पूर्ण सञ्चो नभएका ६ जनालाई डिस्चार्ज गरेपछि धनगढीमा अलपत्र

सेती प्रादेशिक अस्पतालले कोरोनाबाट पूर्ण रूपमा निको नभए पनि बाबुछोरीसहित ६ जना डिस्चार्ज गरेको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरूलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।

संक्रमित भए पनि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ बर्षीय बालिका (बाबुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० बर्षीय र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो।

उनीहरूलाई अस्पतालले बिदा दिएसँगै धनगढीमा अलपत्र अवस्थामा परेका छन्। उनीहरू अहिले हिँडेरै गन्तब्यतिर लागेका छन्।

उनले चिकित्सकको आवश्यक निर्देशनसहित उनीहरूलाई डिस्चार्ज गरिएको बताउँदै सेती प्रादेशिक अस्पतालमा अब २० जना संक्रमितको उपचार भईरहेको बताए।

प्रकाशित मिति: : 2020-06-05 17:40:57

प्रतिकृया दिनुहोस्