घर पुर्‍याइदिने सवारी नपाएपछि सेती अस्पतालबाट डिस्चार्ज भएका ६ जनालाई पुनः आइसोलेसनमा राखियाे

धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट शुक्रबार बाबुछोरीसहित ६ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएकालाई पुनः आइसोलेसनमा राखिएको छ। 

डिस्चार्ज भएपनि सम्बन्धित जिल्लामा पुर्‍याउने सवारी नपाइएपछि उनीहरुलाई फेरि आइसोलेसनमै राखिएको फिजिसियन डा निराजनदत्त शर्मा पौडेलले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘लकडाउन भएका कारण अस्पतालले बिदा दिएसँगै  बैतडी र अछामसम्म पुर्‍याउने सवारी नपाइएपछि धनगढीमा अलपत्र अवस्थामा पर्नु भएको थियो। फेरि उहाँहरुलाई आइसोलेसनमै राखिएको छ,’ डा पौडेलले भने।

अस्पतालले कोरोनाबाट पूर्ण रूपमा निको नभए पनि शुक्रबार बाबुछोरीसहित ६ जना डिस्चार्ज गरेको थियो। डिस्चार्ज हुनेमा अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ बर्षीय बालिका (बाबुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० बर्षीय र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्वर २ का २० र २२ बर्षीय पुरुष रहेका छन्।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरूलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनका अनुसार संक्रमित भए पनि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएसँगै डिस्चार्ज गरिएको हाे।

‘६ जनामध्ये केहीको रिपोर्ट नेगेटिभ देखाएको छ। संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था छ। यता स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकामा पनि डिस्चार्ज गर्ने पाइने भन्ने छ,’उनले भने। 

अब सेती प्रादेशिक अस्पतालमा अब २० जना संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-06-06 10:01:25

प्रतिकृया दिनुहोस्