‘मैले मिस गरेको यो सालको भूमे पर्व’

 लकडाउनमा भूमे पर्व 

पहिलो चोटि २०६८ सालमा रूकुम टेक्दा काँक्री गाउँमा भूमे नाँच देखेको थिएँ। स्थानीय दमाह, झ्याली, सहनाई, टेम्कुला बाजाको तालमा कलात्मक नाच झलझली याद आइरहेको छ।

त्यसपछि रोल्पा-रूकुमको भूगोल टेक्ने बित्तिकै भुमे नाचको याद आउँछ। २०७० सालमा मित्र अमृत भादगाउले र प्रदीप पोख्रेलसँग जेलबाङ र थबाङ गएको बेला भुमे पर्वमै सहभागि भएर प्रत्यक्ष हेर्ने मौका मिल्यो।

अहो! क्या रमाइलो। झम झम पानी परेको वास्ता नगरि युवा युवती, महिला पुरूष र केटाकेटीहरू दुई पंक्तिमा गोलाकार भएर बाजाको तालमा ताल मिलाई नाँचेको दृश्यले मन छोयो। त्यो भूमेको रौनकमा बजेको बाजाको ताल सुन्ने बित्तिकै नाँचौंनाचौं लाग्छ।

भूमे गाउँपालिकाले आयोजना गरेको सांस्कृतिक प्रतियोगितामा पछिल्ला २ वर्ष लगातर रूकुम (पूर्व) को महतगाँउ र खाबाङ बगरमा सहभागि भए। सोही क्रममा नजिकका गाउँहरू थवाङ, धर्मशाला, काँक्री, लुकुममासमेत भूमे नाच अवलोकन गर्ने मौका मिल्यो।

 थबाङमा २०७६ को भूमे पर्व (भिडियोमा) 

इतिहासमै पहिलो पटक भूमे नाच स्थगित  

देशमा शान्ति प्रकृया हुँदै स्थानीय तहसम्म आइपुग्दा यो पर्व झन हर्सोल्लासका साथ धुमधामले मनाउने चलन छ। यतिबेला रूकुम (पूर्व), रोल्पा, पश्चिम बाग्लुङका केही भाग लगायत देसै भरि छरिएका मगर खाम भाषीले विभिन्न गाँउ बस्ती र शहर बजारमा यतिबेला भूमे पर्वको रौनकमा झुमिरहेका हुन्थे।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण इतिहासमै पहिलो पटक यो वर्ष भूमे पर्व स्थगित भयो।

अहिले विश्वका शक्तिशाली मुलुकसहित नेपाल पनि कोरोना भाइरस महामारीको संत्रासमा छ। महामारी रोकथाम र फैलन नदिन भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको छ।

यसबाट देशभरका यातायात, कलकारखाना, स्कुल, कलेज, व्यवसाय, पर्यटनलगायत अत्यावश्यकबाहेक सम्पूर्ण आर्थिक गितिविधि ठप्प छ। यद्यपी सरकारले आज असार १ गतेदेखि आंशिक रूपमा लकडाउन खुलुको पारेको छ। यद्यपी मेला उत्सव र रंग रमाइलो गर्न पूर्णत प्रतिवन्ध लगाएको छ।

कोरोना महामारीका कारण देश लकडाउनमा रहेको स्मरण गराउँदै भूमे गाँउपालिकाका अध्यक्ष रामसुर बूढा मगरले महामारी रोकथामको लागि संघीय सरकारको आदेश स्थानीय सरकारले कडाईका साथ पालना गरेको भन्दै पहिलो पटक भूमे पर्व स्थगीत गरेको जानकारी दिए।

रूकुम (पूर्व) का युवा सुनिल रोका मगर, चन्द्र विसी, जेल्बाङका पृथ्वी वुढा, प्रकाश रोकाजस्ता युवाहरू पर्व पहिलो पटक स्थगित भएकोमा दुखित भएका छन्।

प्रत्येक वर्ष जेठ लागेसँगै हरेक साँझ स्थानिय भेला भएर भूमेको पूर्वाभ्यास गर्ने परम्परा यसपटक पूर्ण रूपमा बन्देज गरिएको छ।

यतिबेला रूकुम (पूर्व) र उत्तर पूर्वी रोल्पाका मगर बाहुल्य वस्ती भूमेको झुम्ने मौसम हो। तर यो साल यी सारा गाउँ सुनसान छन्, यसअघि रमाएका गाउँ-बस्ती स्तब्ध छन्।

यद्दपि ४-५ जनाको समूहले प्राकृतिक पूजा गरेर परम्परा कायम गरेका छन्। ‘ठूलो भेला र भीडभाड नगरी सामाजिक दूरी कायम गर्दै गाउँपालिकाले प्रत्येक वडा अध्यक्षमार्फत पूजा मात्र गर्न सूचना प्रवाह गरेको अध्यक्ष राम सुर वुढामगरले जानकारी दिए।

१० वर्ष लामो सशस्त्र द्वन्द्वको उद्गमथलो रोल्पा-रूकुममा त्यो बेला पनि नरोकिएको भूमे पहिलोपटक रोकिएको हो। ‘सबैको मौलिक, सांस्कृतिक र परापूर्वकालदेखि मनाउँदै आएको मेला पर्व मनाउन पार्टीबाट कहिल्यै पनि रोकावट नभएको तत्कालीन माओवादी कमान्डर तथा पूर्व मन्त्री गणेशमान पुनले बताए।

यसपल्ट जेलबाङमा पनि भूमे नाच रोकिएको छ। ‘पूजारीसहित सिमित स्थानीय भेला भएर नजिकको थानमा भूमे पूजा गर्ने। तर भिडभाड गरि सामाजिक दूरी राखेर नाचगान नगर्ने सल्लाह भएको छ,’ जेलबाङ माझिबाङका अगुवा समाजसेवी चन्द्रबहादुर रोका मगरले बताए। महामारीकै कारण जलजलामा हुने यो वर्षको वैशाख पूर्णीमा र जेठ पूर्णिमामा लाग्ने मेला पनि स्थगित भएको उनले जानकारी दिए।

यस्तै काठमाडौंको टुँडिखेलमा प्रत्येक वर्ष नेपाल मगर संघ केन्द्रीय समिति र भूमे पर्व प्रतिष्ठानले गर्दै आएको भूमे नाच यसपटक रोकिएको छ।

यसपल्ट महामारीको कारण टुँडिखेलमा भूमे पूजा मात्रै गरिएको र नाचगानलगायतका सबै सास्कृतिक कार्यक्रम स्थगित भएको प्रतिष्ठानका सदस्य तथा मगर सांस्कृतिक अभियान्ता मदन रोका मगरले जानकारी दिए।

१८ मगरात क्षेत्रका सबैभन्दा ठूलो भूमे पर्व

परापूर्व कालदेखि १८ मगरात क्षेत्रका रूकुम (पूर्व), उत्तर पूर्वि रोल्पासहित पश्चिम बाग्लुङका केही भेकका मगर बाहुल्य गाउँ वस्ती हर्षोल्लासको साथ ५ दिनसम्म भूमे पर्व धुमधामले मनाउने चलन छ। 

विभिन्न गाउँ ठाउँ अनुसार यो पर्वलाई बलपूजा, बल्क, नाम्के, झ्यामकुरी र नोगोवाङ्गे भन्ने गरिन्छ।

प्रत्येक साल असार १ गते सुरू भएर हप्ता दिनसम्म मनाइने भूमे यो क्षेत्रको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो। पर्व सुरू हुनु भन्दा करीब महिना दिन अघिदेखि जेठ महिनाभरि आ-आफ्ना गाउँ ठाउँमा भेला भएर साँझ पूर्वाभ्याससमेत गरिन्छ।

पर्व सुरू हुन अगाडि थबाङ्गी युवा/युवतिहरू करिब ४ घन्टाको पैदल दुरी पार गरेर जलजला लेकमा बुकी टिप्न जाने परम्परा छ।

करिब ३६०० मिटर उचाइमा रहेको जलजला क्षेत्रलाई सरकारले भ्रमण वर्ष २०२० का लागि उत्कृष्ट १०० गन्तब्य सूचीमा समेत राखेको छ।

पहिलो दिन जलजला गएर बास बसेका उनीहरू भोलिपल्ट डोकाभरी फूल टिपेर फर्किँदा बिच बाटोमा बास बस्छन्। तेस्रो दिन नाच्दै गाउदै गाउँ फर्किन्छन्।

बुकी ल्याए पछि भूमिको पूजा गर्छन्। बल पूजाका रूपमा भेडाको बलि दिन्छन्।

त्यसपछि सुमधुर स्थानीय परम्परागत बाजाको तालमा ताल मिलाउँदै २२ चाला नाच्दै हप्ता दिनसम्म निरन्तर नाच गानमा रमाउँछन्।

पर्व भरि युवायुवति, महिला/पुरूष गोलाकार भई दुई पङ्तिमा स्थानीय बाजाको धुनमा लयबद्द रुपमा धुमधामले नाच्छन्। परिवारजन, साथीभाइ भेटघाट र मिठो मसिनो खानपिन गर्ने र पाहुनालाई आदर सत्कार गर्दै हर्षोल्लासका साथ मनाउने यो पर्व हेर्दै रहरलाग्दो र जो कोहीलाई नाचौंनाचौं लाग्छ।

विशेषगरी मगर समुदायमा प्रचलित यो पर्वमा स्थानीय महिला, पुरूष तथा बालबालिका आ-आफ्ना मौलिक परम्परागत भेषभूषामा सजिएर नाच्ने गर्छन्।

महिलाहरू  गुन्यू चोली, धरो, पछ्यौरी, गाडो, गरगहनामा सजिएका हुन्छन् भने पुरूषहरु चोली, छड्के, पटुका, टोपी, आदि पहिरन लगाउँछन्।

मगरहरु प्रकृतिक पूजक भएकोले भूमिलाई पूजा गर्ने चलन छ। भेडा, कुखुरा र सुँगुरको बलि चढाएर बल पूजा मनाईन्छ।

अन्न बाली सप्रियोस, प्राकृतिक विपत्तिबाट जोगिन सकौं, घर परिवारमा निरोगिता छावस, गाउँ समाज र आफन्तमाँझ सामाजिक सद्‌भाव कायम राख्न यो पर्व विशेष रूपले मनाउँदै आएको छ।  

यो पर्व विशेषत मगर बाहुल्य रूकुम (पूर्व) का महत, सिमा, धर्मशाला, काँक्री, लुकुम,  क्याङसि काँडा, चुनबाङ, तकसेरा, कोल, नाखा, राङसी, जाङ आदिमा मनाईन्छ। त्यस्तै रोल्पाको थवाङ, जेलबाङ, गाम, उवा, मिरूल, धाङसी, सेरम तथा पश्चिम बाग्लुङको निशी, भलकोट, बोवाङमा मनाउने गरिन्छ।

तर यसपटक कोरोना महामारीका कारण सबै स्थानमा सामान्य पूजाबाहेक अरू सकै कार्यक्रम रोकिएको छ।

‘यो वर्ष कोरोना महामारीको कारण भूमे पर्व रोकियो, सबै जना मिलेर कोरोना महामारी फैलन नदिन र लकडाउन पालना गरौं, ’ अध्यक्ष बुढामगरले आग्रह गर्दै भने ,‘महामारीको अन्त्य छिट्टै हुने आशा राख्दै आउने साल धुमधामले मनाउँला।’

मानवजातिले इतिहासमा ठूला ठूला महामारी खेपेको छन्। सबैलाई जितेका पनि छन्। यो महामारी पनि धेरै समयसम्म नरहने अड्कलवाजी हुन थालेको छ।

यो वर्षको भूमे पर्व स्थगित हुँदा यी भुगोलका बासिन्दा खिन्न छन् ।

मौलिक कला, संस्कृति, जीवनशैली, प्राकृतिक सौन्दर्य र इतिहास बोकेको रोल्पा-रुकुमका गाँउ बस्तीहरुमा फेरि भूमे पर्व र नाचगान आउने साल घन्किने छ।
महामारीका बिच आएको भूमे पर्वका बेला सबैले घरमै रहेर एक आपसमा सुख, दुःख, मिठो मसिनो भोजन गरेर मनाउनु होला । फेरि आउने साल भूमे पर्व धुमधामले मनाउला है!

भूमे पर्व २०७७ को शुभकामना!

हेर्नुहोस् २०७६ मा भूमे र थवाङमा मनाएका भूमे पर्वका झलकहरू

प्रकाशित मिति: : 2020-06-15 16:36:00

प्रतिक्रिया दिनुहोस