ट्याक्सी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम रोके

ट्याक्सी व्यवसायीहरुले आन्दोलनका सबै कार्यक्रम स्थगन गरेका छन्। अखिल नेपाल यातायात मजदुर संघले एक विज्ञप्ती जारी गर्दै केही समयभित्रै ट्याक्सी संचालन कार्यविधी बनाएर संचालन गर्न दिने सम्बन्धित निकायबाट प्रतिबद्धता समेत आएकोले आन्दोलनका कार्यक्रम फिर्ता लिएको उल्लेख  गरेको छ।

'हाम्रो रचनात्मक, सांकेतिक र ऐतिहासिक आन्दोलन र मजदुर एकतालाई थप सशक्त बनाउँदै हाम्रो एकता जीवन्त राख्दै कोभिड १९ को संक्रमण र उच्च जोखिमलाई पनि मध्यनजर गर्दै तत्कालको लागि यातायात विभागमा गरिरहेको धर्ना स्थगन गरेका छौ।' विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तीमा उल्लेख गरिए अनुसार व्यवसायी तथा मजदुरको आन्दोलनले राज्यका विभिन्न निकायहरुमा गम्भीर ध्यानाकर्षण संवाद छलफल र बहसको वातावरण बनेको छ।

ट्याक्सी व्यवसायी तथा मजदुरहरुको तत्कालीन तथा दीर्घकालीन मागहरु सम्वोधन गर्नका लागि प्रकृया अघि बढेको छ जसमा नेपाल सरकार संघीय संसद विकास तथा प्रविधि समितिले नेपाल सरकारलाई मजदुर तथा व्यवसायीहरुको माग सम्वोधन गर्न निर्देशन दिएको छ। बागमती प्रदेशका सरोकारवाला प्रादेशिक मन्त्रालयहरुसंगसमेत छलफल भइ माग सम्वोधन गर्न प्रतिबद्धता आएको छ।

'अखिल नेपाल यातायात मजदुर संघ,नेपाल यातायात मजदुरसंघ, साथै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को समेत समर्थनमा  सुरु गरिएको ऐतिहासिक आन्दोलन समग्र यातयात मजदुर स्वरोजगारर व्यवसायीहरुको तत्कालीन समस्यालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा उजागर गर्न सफल भएका छौ।' विज्ञप्तिमा भनिएको छ।

व्यवसायीहरुले निजी सवारीसाधन चलेको तर एम्बुलेन्सजसरी नै शहरमा सेवा दिइरहेको ट्याक्सी चलाउन पाउनुपर्ने माग राखेका थिए। रोग, भोक, शोक, ऋणको कारण मानसिक रुपमा समेत विक्षिप्त हुनुपरेको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका थिन्।

अखिल नेपाल यातायात मजदुर संघका एक पदाधिकारीले भने शान्तिपुर्ण रुपमा गरिएको धर्नामा घुसपैठ भएका कारण रोक्नुपरेको बताए। उनका अनुसार धर्नामा आउने खाना खुवाउने, पैसा बाँड्ने,मजदुरको भावनासंग खेलेर राजनीति गर्ने काम सुरु भएको थियो।  मजदुरहरुको शान्ति पुर्ण कार्यक्रम घुसपेठ र राजनीति गरेर हिसात्मक हुन लागेपछि रोकिएको हो।

जोर विजोर प्रणालीका आधारमा ट्याक्सी संचालन गर्न पाउने माग राख्दै उनीहरुले बुधबारदेखि आन्दोलन कार्यक्रम सुरु गरेका थिए। साढे चार सयभन्दा बढी ट्याक्सी यातायात व्यवस्था विभाग अघि राखेर विरोध जनाएका थिए। अखिल नेपाल यातायात मजदुर संघ,उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सयुक्त रुपमा सुरु गरेको संघर्षका कार्यक्रम सुरु गरेका थिए।

देशभर करिव २० हजार ट्याक्सी चालक रहेको छन्। उनीहरुमा आश्रित परिवार समेत अप्ठ्यारोमा परेका बताएका थिए। ४ जनाका दरले करिव ८० हजारले खान नपाउने अवस्था आएको उनीहरुको भनाइ छ। उपत्यका ११ हजार ट्याक्सी चालक रहेका छन्।

प्रकाशित मिति: : 2020-07-02 16:50:56

प्रतिकृया दिनुहोस्