बिहिबार, २१ अगस्ट २०२५

बाँझो जमिन प्रयोगका लागि भूमि बैंक स्थापना

News Image
• • •

कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ। 

गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो।

गाउँपालिकाका अध्यक्ष युवराज कुँवरका अनुसार जग्गाको भौतिक पूर्वाधार, ग्रामीण सडक, सिँचाइ, विद्युत्, खानेपानी, शीत भण्डार आदि प्राविधिक सहायताका साथै मल, बीउ, बिजन र बजार प्रवद्र्धनमा गाउँपालिकाले पहल गर्नेछ।  

बाँझो जमीन निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट वञ्चित गरिने उनले बताए। गाउँपालिकाले कम्तीमा पाँच  रोपनी वा सोभन्दा बढी जग्गामा मौसमअनुसार एकै प्रकारको खेती गर्ने कृषकलाई व्यावसायिक कृषकका रूपमा पहिचान गर्ने उनको भनाइ छ। 

'गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाइने र यसको प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेन्टमा कोदाको परिकार मेनुमा राख्न अनिवार्य गरिने छ' उनले भने। कोदो खेतीको प्रवद्र्धनका लागि गाउँपालिकाले विगत वर्षदेखि कोदो महोत्सव गर्दै आएको उनले बताए। 

गाउँपालिकाको कृषि स्रोतमा आधारित रैथाने बाली, जडीबुटी र फलफूल लगायतका कृषि उपजको उद्योग स्थापना गर्न निजी क्षेत्रलाइ आकर्षण गर्ने नीति लिएको छ। गाउँपालिका भित्रका कृषि समूह, विभिन्न मोडलका कृषि फर्मका कार्यक्रमलाई सम्बन्धित सरोकारवालासँग समन्वय गरी व्यावसायिक कृषिका रूपमा  विकास गरिने योजना छ।

गाउँपालिका भित्रका निश्चित स्थानमा आलु उत्पादन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले भने, 'कौसी खेती, करेसाबारी, घरबगैँचामा तथा पोषणयुक्त बाली लगाउन प्रोत्साहन गरिनेछ।' 

आइतबार, असार २८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)