कमरेड वामदेव गौतमको प्रस्तावलाई टेकेर अगाडि बढ्दा समाधान निस्कन्छ  : सुवासचन्द्र नेम्वाङ (अन्तर्वार्ता, भिडियो)

सुवासचन्द्र नेम्वाङ, ६८, नेकपा संसदीय दलका उपनेता हुन् । नेपालको संविधान निर्माण गर्दा दुवै संविधानसभाको अध्यक्ष उनै थिए । आठ वर्ष सभामुखको पनि भूमिका निभाइसकेका उनी अहिलेको नेकपा विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भनेर चिनिन्छन् । सधैँ सबै विषयमा सकारात्मक कोणबाट मात्र कुरा गर्न खोज्नु र कसैलाई पनि सार्वजनिक रूपमा टिप्पणी नगर्नु उनको विशेषता हो ।

नेकपा स्थायी कमिटी बैठक ६ सातादेखि जारी छ तर कुनै निर्णय गर्न सकेको छैन । नेम्वाङ पनि त्यही स्थायी कमिटी सदस्य हुन् । कमिटी अनिर्णयको बन्दी बनिरहेका छ तर पार्टी अध्यक्ष नै गुटको बैठक गर्दैछन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक स्थगित गरे तर अर्का अध्यक्ष प्रचण्डले त्यहीँ प्रधानमन्त्री पक्षइतरको बैठक राखेका छन् ।

नेकपा विवादले जटिल मोड लिइरहेको बेला उपाध्यक्ष वामदेव गौतमले समाधानको छ बुँदे सूत्र अघि सारेका छन् । कानूनविद् समेत रहेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग नेकपाको विवाद र समाधानका उपायमा केन्द्रित रहेर  माधव ढुङ्गेलले गरेको संवाद :

नेकपा गम्भीर संकटमा फसेको छ । यो झन्–झन् अप्ठेरोतिर जाँदैछ । यो कत्तिको जटिल समस्या हो ?

 

नेकपाको अगाडि गम्भीर चुनौती र अप्ठेरो छ । बैठक सुरु हुँदा नै अध्यक्षद्वयले बोल्नुभएको थियो। मलाई राम्रो सम्झना छ, यसपटक निकै अप्ठेरो अवस्थामा छौँ भन्नुभएको थियो– अध्यक्ष प्रचण्डले । त्यसपछि त दिनदिनै देखा परिरहेको छ ।

हामी देखिरहेका छौँ– लामो समयदेखि स्थायी कमिटी बैठक चलिरहेको छ । बैठक बस्न आँट्दा कोरोना महामारीबीचमा, हाम्रो महत्वपूर्ण छिमेकीसँग तिक्तता भइरहँदा, अनि बीचको अवधि पुग्दा बाढी पहिरोको असर परिरहँदा ‘यो बैठक किन बसिरहेका छ ?’ भनेर प्रश्नहरु पनि उठे । यी सबैका बाबजुद हामी अगाडि बढ्यौँ ।

लामो समय भएको छ तर स्थायी कमिटी बैठकले सुरुको एउटा एजेण्डासमेत पनि टुंगो लगाउन सकेको छैन । यसबाट हामी कति अप्ठेरोमा छौँ भन्ने देखाउँछ ।

पार्टीका बैठक समस्या समाधानका लागि डाकिनुपर्ने हो तर नेकपा बैठक त समस्या र विवाद चर्काउनमा केन्द्रित देखिन्छ, हैन ?

कुराहरु बाहिर आइसकेका छन् । यसमा थप नगरौँ भन्ने मेरो टिप्पणी मात्र हो । वास्तवमा देश त कोरोनाको बारेमा नेकपाले के गर्छ ? के भन्छ ? भनेर शायद पर्खिरहेका थिए । हाम्रो छिमेकी भारतसँग त्यो उत्कर्षको तिक्तता उत्पन्न हुने अवस्था आयो । त्यसबारे यिनीहरु के भन्छन् ? बैठकै बस्ने भएपछि त त्यही कुरा सुन्न पर्खिएका थिए होलान् । यस्तो बीचमा हामीले के गर्नुपर्ने थियो, त्यो आफ्नो ठाउँमा छ ।

म धेरै त्यता जान चाहन्न तर दुःखपूर्वक भन्नुपर्छ– हामीले त्यो तहको जिम्मेवारी पूरा गरेनौँ भनेर टिप्पणीहरु आइरहेका छन् ।

स्थायी कमिटी बैठक नै बेग्लाबेग्लै बस्ने परिस्थिति कसरी सिर्जना भयो ? यसका लागि कसलाई जिम्मेवार ठान्नुहुन्छ ?

अब किन त्यो स्थिति उत्पन्न भयो ? त्यसतर्फ साह्रै धेरै छलफल गरेर साध्य छैन ।

हिजो (साउन १३ गते) मात्रको कुरा गर्ने हो भने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बिहान ९ बजे अर्का अध्यक्ष प्रचण्ड आउनुहुन्छ भनेर पर्खिरहनुभएको थियो । यसबारे अघिल्लो दिन नै खबर थियो ।

मलाई पनि त्यही जानकारी थियो तर के भएर हो, उहाँ आउनु भएन । म पुग्दा प्रधानमन्त्री केपी ओलीले महासचिव विष्णु पौडेललाई बैठक स्थगन गर्न निर्देशन दिएर पर्खिरहनुभएको थियो । उहाँले म अध्यक्ष प्रचण्डलाई पर्खिरहेको भन्दै हुनुहुन्थ्यो ।

कहिलेकाहीँ पार्टी जीवनमा यस्तो हुनसक्छ । हुन्छ पनि । मैले त सामान्य रुपमा नै लिएँ । ठीक छ, अर्को पटक सामान्य रुपमा नै बैठक बस्छ भन्ने ठानेको थिएँ तर भरे केही साथीहरु छुट्टै भेला बस्नुभो ।

उहाँहरु (प्रचण्ड र झलनाथ खनाल) केपी कमरेडसँग भेट्न पनि आउनुभो । केपी कमरेडले उहाँहरुसँग भेटघाट गरेर भन्नुभो, ‘अब तपाईंहरु छुट्टै भेला त गरिराख्नुभएको छ, म के भनूँ ? तर बैठक चाहिँ नगर्नुस् है ! बैठक गर्न चाहिँ मिल्दैन ।’ अध्यक्ष ओलीले यसो भन्नुभो भनेर हामीले थाहा पायौँ ।

भेलाको निष्कर्षबारे चाहिँ तपाईंको प्रतिक्रिया के छ ?

सुनेअनुसार त्यो भेलाले भनेछ– अध्यक्ष केपी ओलीसँग छलफल गरेर स्थायी कमिटीको बैठकलाई निरन्तरता दिने बारेमा छलफल गर्नका लागि अध्यक्ष प्रचण्डलाई जिम्मा दिने भनेर ।

मलाई लाग्यो– कतिपय कुराहरु बेठीक हुँदाहुँदै पनि दुई अध्यक्षले छलफल गरेर नै यो पार्टीको समस्या हल हुन्छ है भनेर हामी सबैले सधैँ भनिरहन्थ्यौँ । त्यो टुंगोमा भेला पनि पुगेछ । त्यस अर्थमा खुशी लाग्यो ।

त्यत्ति भन्नका लागि पनि त्यो भेला किन गर्नुपरेछ ?

थाहा भएन । त्यो भेला चाहिँ किन गर्नु भएको थियो ।

प्रधानमन्त्रीले त सार्वजनिक रुपमा नै भनिसक्नु भयो– नयाँ नक्सा जारी गरेपछि भारत र नेकपाकै केही नेताहरु आफूलाई हटाउन लागिपरेका छने भनेर । भारतीय सञ्चारमाध्यमले भनेजस्तै नयाँ नक्सा जारी गरेकै कारण केपी ओलीलाई नेकपा अध्यक्षबाट हटाउन खोजिएको हो त, तपाईंलाई के लाग्छ ?  

म कसैमाथि पनि आरोप लगाउन चाहन्न तर तपाईंले अहिले जति पनि प्रश्नहरु उठाइराख्नुभएको छ, हामीले पनि सुनेका छौँ, पढेका छौँ । देखेका छौँ । सबै साथीहरुले देख्नुभएको छ । म सधैँजसो नै छिमेकी भारतको सञ्चारमाध्यम हेर्ने गर्छु । सुन्ने गर्छु । त्यहाँ भएका टिका–टिप्पणीहरु वास्तवमा दुःख लाग्दो छ । त्यसतर्फ हामी सबैको ध्यान गएको हुनुपर्छ ।

त्यो नक्सा पारित गर्ने कुरा कति ऐतिहासिक काम भयो ? त्यसलाई समेट्ने गरी संविधान संशोधन कति महत्वपूर्ण र ऐतिहासिक काम भयो ? तर यसबीचमा पनि छलफल त भयो  तर कुनै पनि एजेण्डा अहिलेसम्म टुंगो लागेको छैन । छलफल भएन भनौँ, छलफल गरेको गर्‍यै छ । बैठक बसेको बस्यै अहिलेसम्म आइपुगेका छौँ ।

त्यो संविधान संशोधन, नक्सा पारितको पराकम्प हेर्नुस् त, साहै्र सकारात्मक भो । सिंगो देश एकढिक्का भयो । त्यसको परकम्प अहिलेसम्म देखा परिरहेको छ ।

पहिले साविक माओवादीमा जे देखिएको थियो, अहिले एमालेमा मिसिएपछि त्यही रोगले नेकपा ग्रस्त भएको टिप्पणी पनि पार्टीभित्र सुनिँदैछ। त्यस्तै हो ?

अहिले भर्खर एक जना माननीयको रिक्त पदमा अर्कोलाई सपथग्रहण गराएर तपाईंसँग कुरा गर्न उपस्थित छु । यति गम्भीर घटनाक्रमहरु भएका छन् । संसार कोरोनाले आक्रान्त भएको छ । कोरोनाले आक्रान्त भएको बेलामा ती देशका सबै राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी सबै एक ढिक्का भएर लड्न लागिरहेको छ । हामी चाहिँ थाहा छैन, यसको के तर्क हुन्छ ? यो बीचमा पनि हामी यो ढंगको बैठक निरन्तर बसिरहेका छौँ तर एउटा पनि एजेण्डा टुंगिएनको भने छैन ।

सपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री कमरेड बाबुराम भट्टराईजीसँग भेट भएको थियो । उहाँले ठट्टा गर्दै भन्नुभो– उहिले हामी तीन महिना बैठक बसेका थियौँ भनेर । माओवादी केन्द्रको बैठकको कुरा गर्दै हुनुहुन्थ्यो । माधवकुमार नेपालको सरकार भएको बेलामा त्यो सरकारविरुद्ध आन्दोलन गर्नका लागि भनेर उहाँहरुको बैठक झण्डै तीन महिना बसेको थियो । मैले पनि उहाँसँग ठट्टा गरेँ– हामीले त त्यसलाई उछिन्ला–उछिन्ला जस्तो पो भो !

नेकपाको सचिवालय र स्थायी कमिटीका नेताहरु नै असान्दर्भिक भइसके । यो त पदलोलुप जमात बनिसकेछ, यसबाट समाधान निस्कदैन जस्तो लाग्दैन ?

मैले अघि पनि भनेँ– जुनसुकै बैठकको पनि कारण र औचित्य स्थापित गर्न सक्नुपर्छ । म साह्रै जोगिएर तपाईंसँग कुरा गर्दैछु ।

मेरो एउटा मान्यता छ– म पार्टी र नेताहरुका बारेमा सार्वजनिक रुपमा टिप्पणी र आलोचना गर्न चाहन्न । मलाई लागेको कुरा दुईटा अध्यक्षलाई भन्छु । सबै कुरा भन्छु । उहाँहरुसँगका असहमति र पार्टीले गरेका कुरामा असहमत भएका पनि कुरा गर्छु । आफ्ना ती कुराहरु म संगठित पार्टीको स्थायी कमिटीमा भन्छु । त्यसैले म एकदम जोगिएर त्यो मान्यता यताउति होला कि भनेर म बोल्न खोजिरहेको छु ।

यत्रो  विश्व नै चकित पर्ने गरी हामीले झण्डै दुईतिहाई बहुमत ल्यायौँ । चुनावबाट बहुमत ल्याएको कम्युनिष्ट पार्टी हो । कसैले विश्वास नगरेको एकता प्रदर्शन गरेर सरकारमा जनताको आशीर्वाद प्राप्त गरेको पार्टी भयो ।

यत्रो समय भो । बैठक बसेको बस्यै छ । छलफल गरेको गर्‍यै छ । संसार परिवर्तन गर्ने दाबी, जिम्मेवारी र प्रतिबद्धता बोकेर आएका हामी ।

मैले पहिले नै माफी माग्दै यत्ति चाहिँ भन्नुपर्छ– न कार्यकर्ता खुशी देखिन्छन्, न शुभचिन्तक खुशी देखिन्छन् । प्रतिपक्षसमेत भेट भयो कि सधैँ शुभकामना दिन्छन्– यो समस्या समाधान गर्न सक है भनेर !

म छक्कै पर्दैछु– तपाईंले सोधेजस्तै हामी के गरिरहेका छौँ ? के सन्देश प्रशारित गरिरहेका छौँ ? हामी त आन्दोलनको निर्णयक शक्ति हो । संविधान निर्माणको नेतृत्व गरेको निर्णायक शक्ति हौँ । हामीले यसबाट के सन्देश प्रशारित गरिरहेका छौँ ?

मलाई विश्वास छ– म कार्यकर्ता, जनता, शुभचिन्तकबाट सबैबाट जे सुनिरहेको छु ।  मेरा दुई अध्यक्षलगायत मेरा पार्टीका आदरणीय प्रिय कमरेडहरुले पनि यो सुनिराख्नुभएको छ भन्ने मेरो विश्वास छ । त्यही विश्वासको कारण अन्ततः हामी उपयुक्त टुंगोमा पुर्‍याउन सक्छौँ भन्नेमा अझै पनि मलाई विश्वास छ ।

अहिलेको नेतृत्वले विवाद समाधान गरेर एकीकृत पार्टीलाई अघि बढाउन सक्ला ?

एउटा कुरोमा विवाद छैन । त्यो के हो त भन्दा– एकीकृत नेकपामा निरंकुशताविरुद्धको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउँदै नेकपा एमालेको महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओली हुनुहुन्छ । त्यस्तै, माओवादी केन्द्रको हकमा परिवर्तनका लागि जनयुद्ध नै आवश्यक छ भनेर त्यो प्रक्रियामा गएका माओवादीहरुको महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रचण्ड हुनुहुन्छ ।

उहाँहरु दुई जनाको बीचमा कुराकानी भएर दुई जनाको बीचमा सहमति भएर पार्टी एकीकरणको घोषणा भयो । कसैले नपत्याएको कुरा भयो । हामीले त्यसलाई पछ्यायौँ । बोक्यौँ । उहाँहरुकै सहमतिबाट सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी आदि बनायौँ ।

केसम्म भने पार्टीको यो सम्पूर्ण कुराहरु अहिले संक्रमणको चरणमा छ । त्यो संक्रमण महाधिवेशनबाट टुंगो लाग्छ ।

गएको केन्द्रीय कमिटीको बैठकले आउने चैत महिनामा महाधिवेशन सम्पन्न गर्ने भनेर सर्वसम्मतिले पास पनि गर्‍यो । त्यसले भन्यो– त्यो महाधिवेशन एकताको महाधिवेशन हुन्छ, सहमतिको महाधिवेशन हुन्छ । एकता र सहमतिको महाधिवेशनबाट हामी सबै कुरा टुंगोमा पुर्‍याउँछौँ भनेर भनिएको छ ।

त्यसको अर्थ त सोझै हो नि– एकताको र सहमतिको महाधिवेशन नहुँदासम्म अहिले जति पनि कुराहरु छन्, दुई जना अध्यक्षहरु निर्वाचित भएर आउनुभएको हो । उहाँहरुले यो सबै कुरा सहमतिबाट गर्नुभएको हो । एकता नै निकै ढिला भइसकेको छ । त्यो सहमति हुन ढिलाइ भएकाले ढिला भएको हो । यो यथार्थ हो ।

एक प्रकारले भन्दा त यो महाधिवेशनले के गर्छ भनेर कुरेर बसेको अवस्था हो । यो कुरामा विवाद रहेन । त्यसैले यो विवादको बेला होइन । एकता र सहमतिको प्रक्रियालाई जतिसक्दो चाँडो हतार लागेको छ भने हतारका साथ यसलाई टुंगोमा पुर्‍याऊँ । त्यो त हाम्रै हातमा छ नि त !

तर, झगडा र विवाद गरेर आफैँले स्थापित गरेको प्रक्रियालाई भत्काउँदा हतार गरेको हुन्छ कि ढिलाइ गरेको हुन्छ ? कसैप्रति लक्ष्यित होइन, म समेतप्रति लक्ष्यित यो मेरो टिप्पणी हो ।

स्थायी कमिटीको साउन ३ गतेको बैठकले मंसिरमै महाधिवेशन गर्ने, केपी ओलीले अध्यक्ष पद त्यहीँबाट छाड्ने तर सरकारको नेतृत्व चाहिँ पाँच वर्षसम्म गर्ने गरी निर्णय गरेर अघि बढ्ने सर्वसम्मत निर्णय भएको थियो भनिन्छ ? यो कसरी बिथोलियो ? कमिटीले गरेको निर्णय गुटले उल्टाइदिएको हो ?

वास्तवमा पछिल्लो सचिवालयको बैठक सम्पन्न भयो । त्यसले सर्वसम्मतिले पार्टीलाई एक बनाएर अघि बढ्ने निर्णय गर्‍यो । त्यसले ‘अर्ली महाधिवेशन’को पनि निष्कर्ष निकाल्यो ।

यो कुरा सबैलाई जानकारी दिऊँ न त भन्दै  हाम्रा नेताजीहरु राष्ट्रपति निवास पनि पुग्नुभो । राष्ट्रपतिलाई सुनाउनुभो । राष्ट्रपतिजीले यो तपाईंको पार्टीभित्रको कुरा हो तर तपाईंहरुलाई शुभकामना भन्नुभो । उहाँले राम्रै कुरा गर्नु भयो । त्यहाँसम्म सचिवालय बैठकका कुराहरु, त्यसका निष्कर्षका कुराहरु सबै राम्रै कुरा आएका थिए ।

त्यसपछि के भो, थाहा छैन । त्यसमा परिवर्तन हुँदै गयो । भोलिपल्ट बिहान हुँदा त फेरि कुरा जहाँको त्यहीँ छ भन्ने खालका कुराहरु आए । सिंगो देशका कमरेडहरुसँगै आम जनतासँग खुशी प्रकट गरिरहेको म पनि भोलिपल्ट छक्कै परेँ ।

सचिवालयले त्यो निर्णय गरेको हो कि होइन ? त्यसबारे स्थायी कमिटीमा जानकारी गराउनुपर्छ कि पर्दैन ? त्योअनुसार स्थायी कमिटी बैठकमा एकीकृत प्रस्ताव आउनुपर्छ । त्यो प्रस्ताव के–कति तयार भयो ? पछिल्लोपटक बैठक स्थगन गर्दा त्यस्तो प्रस्ताव तयार भएको छैन भन्ने पनि उल्लेख छ । अब म त्यसमा धेरै जान चाहन्न ।

संक्षेपमा यसरी तयार भइसकेको समझदारी फेरि भत्कन पुग्यो भन्ने मलाई जानकारी छ । त्यो बेठीक भो ।

जहाँसम्म तपाईंले गुटका बैठकका कुराहरु सोध्नुभएको छ, त्यसबारेमा मेरो त प्रष्ट दृष्टिकोण छ । पार्टीमा गुट, उपगुटहरु हुने गर्छन् । त्यो नहुनु राम्रो हो । उपगुटहरुको बैठक नहुनु राम्रो हो । मलाई त त्यसमाथि विश्वास छैन ।

कम्तिमा पार्टी अध्यक्ष पार्टीका सबैको अध्यक्ष हुन सक्नुपर्ने हो तर नेकपाका त अध्यक्षहरुले नै आ–आफ्ना गुटका बैठक आयोजना गरिरहनुभएको छ । यो अति नै भएन ?

त्यसबारेमा म कसैप्रति लक्षियत टिप्पणी गर्न चाहन्न । मेरो सिद्धान्त र प्रष्ट दृष्टिकोण हो– मलाई गुट–उपगुटमा विश्वास छैन । म त्यसलाई स्वीकार गर्दिनँ । त्यो नहुनु राम्रो हो । यो पार्टीको स्वास्थ्यका लागि हानीकारक छ ।

मैले यसो भन्न हिच्किचाउनुपर्दैन किनभने मेरा अध्यक्ष कमरेडहरुले त्यो कुरा पटक–पटक हामीलाई भन्नुभएको छ– गुटबन्दी गर्न हुँदैन । बैठकहरुले गुटबन्दीको आलोचना गरेको छ । त्यस कारण त यो कुरामा विवादै छैन । बेठीक भएको हो । बेठीक भइरहेको छ ।

अब भन्नुस् न, त्यही दिन स्थायी कमिटी बैठक स्थगित भयो, स्थायी कमिटीको भेला त्यहीँ गरे । अब तपाईंहरु (पत्रकार) ले कता–कता ‘त्यो पनि बैठक रे नि !’ भनेर मलाई सोधेको पनि पाउँछु । त्यसमा मेरो प्रष्ट छ– त्यो बैठक होइन, केही साथीहरुको छुट्टै भेला हो ।

स्थायी कमिटीको बैठक हुँदा त मलाई पनि खबर हुन्छ नि त– बैठकमा आउनुस् भनेर । छुट्ट्याउने काम त हुँदैन नि ! तर, मलाई कुनै खबरै छैन ।

मैले थाहा पाएअनुसार, कतिपय साथीहरुलाई खबर नै छैन । यस्ता खालका छुट्टै भेलाहरु ठीक होइन भन्ने मलाई लाग्छ ।

तपाईं स्वयम् अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीजीको गुटमा हुनुहुन्छ । उहाँले अहिले पार्टी अध्यक्ष र प्रधानमन्त्री छाड्न हुँदैन भनिरहनुभएका छ । यसका पछाडि तपाईंको तर्क चाहिँ के ?

व्यक्तिगत निकटताको कुरा गर्नुहुन्छ भने म पार्टीका सबै नेताहरुसँग निकट छु । राजनीतिक सानिध्यताको कुरा गर्नुहुन्छ भने म नेकपाकै निकट हो ।

एउटा कुरा प्रष्ट गर्छु– महाधिवेशनबाट चुनिएर आएको अध्यक्षले एकता प्रक्रिया बाँकी नै हुँदा एकताको घोषणा गर्ने केपी ओली पार्टी अध्यक्षबाट बीचैमा हट्दा त्यसले पार्टीको एकता प्रक्रियालाई के गर्छ भनेर प्रश्न उठाउने मान्छे हुँ म ।

अस्थिरताको विरुद्ध लड्दा–लड्दा हामी अस्थिरता समाप्त गर्छौ भनेर जनतालाई आश्वस्त तुल्याएर जनताको भोट बटुलेर आएका हौँ । पाँच वर्ष नपुगी फेरि हामीले जनताको आशीर्वाद प्राप्त प्रधानमन्त्रीलाई बीचैमा हटाउन खोज्दा त्यसले अस्थिरता पैदा हुन्छ । हाम्रो प्रतिबद्धता यताउता हुन्छ भन्ने ठान्ने मान्छे हुँ म । त्यही नाताले मैले अध्यक्षको रुपमा र प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई स्वीकार गरेको हुँ ।

उपाध्यक्ष वामदेव गौतमले साउन १३ को बालुवाटारमा प्रधानमन्त्री ओली पक्षधर अनुपस्थित भएको ‘स्थायी कमिटी बैठक’मा छ बुँदे प्रस्ताव राख्नुभएको छ । मंसिरमा महाधिवेशन गर्ने, ओलीले त्यसबाट अध्यक्ष छाड्ने, पाँच वर्ष प्रधानमन्त्री चाहिँ ओली नै रहिरहने प्रस्ताव गर्नुभएको छ । के त्यो सहमतिका लागि मध्यविन्दु हुनसक्छ ? निकास निकाल्ने अरु केही उपाय पनि छन् ?

मलाई त खुशी लागेको छ– त्यो भेलामा वामदेव कमरेड आउनुभएछ । उहाँले अब छुट्टै बैठक हुन सक्दैन । यो भेलामा म आफ्नो प्रस्ताव राख्छु– जसले पार्टीलाई एक बनाउँछ, यसमा लागौँ भनेर आह्वान गर्नु भएछ । आफ्नो छ बुँदे प्रस्ताव राख्नुभएछ ।

मलाई उहाँको प्रस्ताव अत्यन्त राम्रो लाग्यो । उहाँको प्रस्तावलाई टेकेर अगाडि बढ्दा हुन्छ । म त तपाईंकै यो कार्यक्रममार्फत् कमरेड वामदेव गौतमलाई बधाई र शुभकामना दिन चाहन्छु । यसलाई टेकेर हाम्रा दुई अध्यक्ष निष्कर्षमा पुग्नुहोस् । उहाँहरुको वार्ता र सहमतिबाहेक अर्को विकल्प छैन ।

दुई अध्यक्ष बीचको निरन्तर छलफलबाट संवाद र सहमतिमार्फत् एउटा निष्कर्षमा पुग्ने प्रष्ट छ । त्यसका लागि दुई जना अध्यक्षबीच निरन्तर छलफल हुनुपर्‍यो, कुराकानी हुनुपर्‍यो । सबैले आ–आफ्नो ठाउँबाट त्यो भूमिका निर्वाह गर्नुपर्‍यो ।

त्यसको लागि गएको सचिवालय बैठकले एउटा निष्कर्ष निकालेको छ । त्यसलाई लिएर केही विवादहरु उठ्न गएका छन् ।

त्यो सचिवालयले गरेको निर्णयलाई स्थायी कमिटी बैठकमा पुर्‍याउनलाई सचिवालयको तर्फबाट प्रस्तावको आवश्यकता छ । प्रस्तावबेगर फेरि स्थायी कमिटी कुनै टुंगोमा पुग्दैन । त्यसैले सचिवालय बैठक राखेर हाम्रा अध्यक्ष कमरेडहरुले एउटा निष्कर्ष निकाल्नुपर्‍यो । एउटा प्रस्ताव बनाउनुपर्‍यो । अनि त्यो प्रस्ताव बोकेर स्थायी कमिटी बैठक फेरि राखेर अगाडि बढ्नुपर्‍यो ।

भनेपछि अब यो विवाद महाधिवेशनले मात्र हल गर्न सक्छ भन्ने तपाईंको भनाइ हो ?

केही महिनाअघि सम्पन्न भएको केन्द्रीय कमिटी बैठकको निर्णय पल्टाएर हेरौँ । हामी सबैले निर्णय गरिसकेका छौँ– आगामी चैत्र महिनामा महाधिवेशन गर्ने । अब अहिले आफैँ आफूले गरेको त्यो निर्णयबाट पछाडि हट्न मिल्छ र ? त्यसैले त्यसलाई आधार बनाऊँ ।

प्रधानमन्त्री केपी ओलीले एउटै कक्षा देहोर्‍यार नपढ्ने घोषणा यसअघि नै गरिसक्नु भएको छ । त्यहीँबाट हाम्रो यो समस्या समाधान गरौँ । कम्युनिष्टहरुको समस्या समाधान गर्ने यो त सधैँ अपनाइआएको आधार हो । त्यसतर्फ अगाडि बढौँ । 

याे पनि पढ्नुहोस्

भारतको कतै लडाइँ पर्‍यो भने गोर्खा सैनिक भाइ–छोराको चिन्ताले हामी सुत्न सक्दैनौँ, यो सम्बन्ध सम्झेर भारतले नेपालसँग व्यवहार गर्नुपर्छ: सुवास नेम्वाङ (अन्तर्वार्ता, भिडियाेसहित)

 

 

प्रकाशित मिति: Aug 02, 2020 14:21:34

प्रतिक्रिया दिनुहोस

सबै