निगालोले धानेको जीवन –५ : उमेर भैसक्यो असी

मुगु डायरी –१७

सिमलको रुखमुनी जहाँ एक जना बुढो मान्छे दुःख बिसाउँछन्। उनको दुःख कति छ! भनी साध्य छैन। सायद, दुःख मापन गर्ने मेसिन यो संसारमा बनेको छैन। पसिनाको नदी समुद्रमा मिसियो भने बुझे हुन्छ, दुःखको कुनै सिमाना छैन। जसरी आकासको छैन। 

दुःखको दर्शक बनेका जन गायक जीवन शर्मा गीत लेख्छन्,‘सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको। उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको’। उनी गीतमा दुःख मात्र कहाँ देखाउछन् बरु दुःखसँगै भरिया बुढालाई क्रान्तिकारी बनाउँछन्। गीतको पात्रले निष्कर्ष निकाल्छ, सामन्ती व्यवस्था रहुन्जेल सुख पाइदैन भनेर । 

‘यो व्यवस्था रहुन्जेल, पाइन सास फेर्न
मै बुढो नी जान्छु अब, सामन्तलाई खेद्न।
सिमली छाँयामा बसी......।’


शर्माले बुढो मान्छे देख्दा, उनलाई पात्र बनाएर गाउँदा देशमा सामन्ती सत्ता थियो। त्यसैले पनि उनको निष्कर्ष हुनुपर्छ, सामन्ती राज्य सत्ता रहुन्जेलसम्म यी दुःख रहिरहने छन्।

तर देशमा गणतन्त्र आएको दशक बढी हुँदा पनि मुगुको पीना स्थित साहनीबाडाका हंशवीर कुलालको मुहारमा हाँसो थिएन। समग्र मुगालीको औसत आयुलाई हिसाब गर्ने हो भने उनले डबल आयु बिताइसकेका छन्। अर्थात माथि उल्लेखित गीतमा भने जस्तो उमेरले असि काटि सकेका छन्। राजनैतिक व्यवस्था पञ्चायत देखि गणतन्त्रसम्म देखे। घरमा पञ्च देखि  काँग्रेस, कम्युनिष्ट सबै पसे।  

यसमा उनको निष्कर्ष छ, ‘जति जोगी आए पनि कानै चिरेका।’ यत्ति हो जोगीहरु नयाँ हुँदा बढी खरानी घस्थे। ‘नौली गाइका नौ पुला घाँस’ गरिए जस्तै। 

साहनी बाडामा ढोको, स्याँकु, थुन बुन्ने को को छन् भनि सोधिएका प्रश्नको उत्तरमा हलानो, फलानो भन्दै फरक फरक नाम वाचन हुन्छन्। ती मध्ये डोको सबैको साझा हो। तर यी सबैमा हंशवीर कुलालको परिचय फरक छ। उनी सबै बनाउँछन्। यी सबैका अतिरिक्त छाब्री, भाड, सुपो पनि बनाउँछन्। अर्थात ‘हंशवीर कुलाल इज अल इन वान’।

जसरी उनी सीपमा ‘अल इन वान’ छन्, त्यसरी नै उनको डबल आयुवाला जिन्दगीमा दुःख पनि ‘अल इज वान’ नै छन्। अर्थात उनले सबै प्रकारका दुःख भागेका छन्।

‘सबै त बुन्छु। डोका पुनि बुन्छु, थुन पुनि बुन्छु, गेडा डाइन्या (सुकाउने बिस्कुन) भाड पुनि बुन्छु। छाब्री, सुपा त भैगया। बुनाउनलाई क्या बुनाउँनैनौं,’ उनी आफ्नो सीपबारे बोले, ‘दे सबै बुनाइकन क्या गरु फाइदा साइदा केही नाई।’

निगालोको सबै सामग्री बनाउने उनी अरुले जस्तै निगालो ल्याउन जंगल जाने देखि निुकन्जका आर्मीको अश्लिल गाली खानेमा पर्छन्। कहिले गाली नखान चोरीमारा जाने र आँखा छल्ने देखि सबै गर्छन्। जिन्दगीको राजमार्गमा भोग्न बाँकी केही नरहेका उनलाई आर्मीका फोहोर बोली पनि दुधभात जस्तै लाग्छन्। 

‘हजुर भन्ने बोली र पाकेको भातले केही बिगाड्डैन’ भन्ने उखान भए पनि उनीहरुले हजुर भन्ने बोली कहिले सुन्न पाएनन्। गोर्खाली देखि ‘तिम्रै लागि हामी लडेको’ भन्ने, काँग्रेस कम्युनिष्ट सबैबाट हजार थप्पड खाइसकेका उनीहरुलाई आर्मीले बोल्ने मा... लगायतका शब्द पनि स्वभाविक लाग्छ।

गाली खाएर निगालो ल्याउन गएका दिन हिसाब नगरेर हाल उनले बनाइरहेको छाब्री बनाउन उती समय लाग्दैन। लगातार मन लगाएर बनायो भने एक दिनमा तीन देखि चारवटा सम्म छाब्री बनाउन सकिन्छ। छाब्री रोटी राख्न प्रयोग हुन्छ। रोटी छाब्री बाहेक अरु भाँडोमा राख्यो भने पसिनाले भिजेर गिलो बनाइ स्वाद बिग्रादिन्छ। त्यसैले रोटी राख्न छाब्री सबैभन्दा बढी उपयोगी हुन्छ। 

यसको मूल्य दुइ देखि ती सय सम्म पर्छ। दिन भरिमा बनाउन सकिने परिमाण र मूल्य हे¥यो भने अत्यधिक मात्रामा नाफा हुनुपर्ने हो। तर यसको खपत एकदम कम हुन्छ। एक परिवारको लागि एउटा भए पुग्यो। त्यसमाथि हरेक वर्ष नयाँ छाब्री खपत हुन्न। 

एउटा छाब्री १०–१२ वर्ष सजिलै टिक्छ। एक जनाले हरेक वर्ष लत्ता कपडा, जुत्ता फेरेजस्तो छाब्री फेरिदैन। एक पटकको ग्राहक मुस्किलले अर्को पटक दोहोरिने सम्भावना हुन्छ। त्यसैले छाब्रीको बिक्री परिमाण एकदम कम छ। परिणाम नाफा पनि एकदम कम हुन्छ।   

लाग्छ साहनी बाडाका हंशवीरहरु बाबुबाजेले एक पेसा रोजेर धान्दिएको समाजलाई निरन्तरता दिन मात्र लागेका छन्। त्यसैले पनि निगालोले धान्ने जोवनमा नाफा खोजिएको छैन। ‘भियालले भियाल्या काम गर्छुन्। लरले(लोहार) ल¥या काम गर्छुन्,’ उनले भने, ‘हाम्मा बोब बाजेले यै काम रोज्याछुन्। यै नगरी भएन।’

०००
छाब्री बाहेक उनले बनाइरहेको निगालोको अर्को सामग्री हो, सुपो। जो हर केही अन्न केलाउन प्रयोगमा आउँछ। केलाउनेलाई स्थानीय भाषामा निफन्ने भनिन्छ। धान, मकै, कोदो चिनो फाफर सिमी केलाउने देखि बनाउने सबै काममा सुपो प्रगोग हुन्छ।

यसका अलवा सुपो अन्न मापन गर्ने साधन पनि हो। जस्तो आठ सुपा बराबर अन्न भयो भने त्यसलाई एक बोरा मानिन्छ। त्यस्तै कुनै खेतबाट एक सुुपो बराबर धान भयो भने एक सुपैत्या खेत भनिन्छ भने सुपाको पछाडितिरको उठेको भाग बराबरको हिउँ आयो भने त्यसलाई पनि एक सुपैत्या हिउँ भनि नाप्ने गरिन्छ। (एक सुपैत्या उचाइ भनेको लागभग छ इन्च जति)

सुपो बनाउन अलि बढी समय लाग्छ। सिकारुलाई एक सुपो बनाउन तीन दिनसम्म लाग्छ भने सिपालुले साडे दुई दिन बराबरको श्रम लगाउनु पर्छ। तर छाब्रीको जति मोला सुपोले पाउँदैन। त्यसैले यसबाट गुजारा पनि मुस्किल छ।   

‘मोल क्या पाउना हौं? जति मिहिनत लाइकन बुनाउँदा छौं त्यति मोल पाउँदैनौ। भुनाइत ज्यादा गद्दाछियौं तर दिदैनुन्। त्यही पाँन सयसम्म दिदाछुन्,’ उनले भने, ‘क्या चल्लो हो गुजारा? चल्लो त कँ छ र बा। तर गुजारा बाटो पुनि हैन। चल्या त कामै हैन।’

हंशवीरले हामीसँगको संवादमा गरेको साह्रै घत लाग्दो कुरा थियो, ‘चलाउनलाई बाध्यताले भया पुनि यी काम गद्दाछौं।’ उनले चलाउन भनेर इंगित गरेको समाज हो। हालसम्म सहानी बाडाको अघिल्लो पुस्ताले समाज चलाउन योगदान गरेको भएपनि अब साहनी बाडो समाज चलाउनु आफू मात्रै दलिइरहनुको तुक नरहेको निष्कर्षमा पुगेको छ। 

यसको पहिलो कारण बाहिरिया बजारले स्थानीय उत्पादनलाई विस्थापन गर्नु हो भने दोस्रो पछिल्लो पुस्तामा कला र सीपको हस्तानतरण हुन नसक्नु हो। जसको परिणाम कति संस्कार र संस्कृति हराइसकेका छन्। अस्तित्वमा रहेकालाई अगाडि बढाउन कोही तयार छैन। जिजुबाजे देखि अपमान खेपेको थाहा पाउनेहरु अब पनि अपमान सहेर बस्न तयार छैनन्। यस्तो बेला सोच्नुपर्ने सरकारको मगजमा काने गुजी भरिएपछि साहनीबाडाको पहिचान हराउने नै भयो। 

यदि सत्तामा बस्नेहरुले आङ्खनो दिमागमा भोटे ताल्चा नलाउँदा हुन त साहनीको सीपलाई अन्तराष्ट्रिय बजारसम्म पुगाउन सकिदो हो। निगालोको सम्भावनाबारे अमेरिकन मानवशास्त्री डा. मेरी डेशनको दृष्टिकोण यस्तो छ, ‘नेपालको मध्य पहाडमा वेद बाँस पाइन्छ। डिजाइन राम्ररी तयार पारेर बाँसका उच्चस्तरीय साइकल बनाउने हो भने ती खास बजारहरुमा पाँच हजार अमेरीकी डलरका दरले बिक्री हुन सक्छन्।’ (हेर्नुस्, बाबुरामलाई चिठी, विकास वा विनास, डा. मेरी डेशन, अनुवाद खगेन्द्र संग्रोला, पृष्ठ ४८)

मेरी डेशनले भनेजस्तै निगालोबाट बन्न सक्ने थुपै डिजाइनका सरसामान बनाएर खास–खास बजारमा निर्यात गर्न सक्ने संयन्त्रको विकास गर्न सकिन्छ। तर सरकारलाई यस्ता कुरामा ध्यान दिने फुर्सद छैन।  

आत्मनिर्भताको हावा फुकेर बेलुन उडाउने र मादल बजाउनेहरुले सोच्न सकेको छैनन्। परम्परागत सीपमै रहेर आधुनिकिकरणमा जान सके मात्र हामी समृद्ध बन्न सक्छौं भनेर। जुन हाम्रो पहिचानसँगै ब्राण्ड बन्नेछ। स्थानीय स्रोत, साधन, श्रम र सीपको उचित उपयोग हुनेछ। यसका लागि अध्ययन, अनुसन्धान गर्ने जिम्मा कसको? साहनी बाडाको अघिल्लो पुस्ताले मौन रुपमा गरिहेको प्रश्न यहि हो। 

साहनी बाडो तीनै तहका सरकारको जवाफ कुरिरहेको छ र उसको भनाइ छ ‘मेरो आविस्कारले तिम्रो समाजको यतिसम्म सेवा ग¥यो। हालसम्म सीप जोगाएको छु। यो भन्दा बढी तिमी तीन तहका सरकारहरुले गर।

०००

तथ्यांकले भन्छ देशको कुल जनसंख्याको १८.१ प्रतिशत गरिबीको रेखामुनि रहेका जनताको कमाई दैनिक १.९ डलर (करिब दुई सय रुपियाँ) अर्थात महिनामा ६ हजार पनि हुँदैन। हिसाब गर्दा यो संख्या झण्डै ५६ लाख हुन आउँछ। साहनी बाडाका सबै ५६ लाखको घानका घुन पुल्ता हुन्। जसमा हंशवीर, पञ्चराम, रत्नसिंह, गोरचन्द्रका अनुहार दोहोरिरहेका छन्।

ती अनुहार रस निचोरिएको कागती जस्तै छन्। सेति फूली पहेँली फुल्न लागेका कपाल। जसलाई ढाक्न गुनाको कपालझै देखिएको छ, फेटा। चम्किन नसकेको छालावाल हंशवीर बोलिरहेछन्, ‘मोइले बुनाएका सुपौंदो दुनियालो चामल निफन्या र उज्याला बनाए। त्यै चामल निफन्ने सुपा हजार पल्ट बनाउँदा पुनि जीवन उज्यालो बनाउन सक्यानौं।’  

  यो पनि हेर्नुहोस्  

प्रकाशित मिति: Jul 31, 2020 12:02:44

प्रतिक्रिया दिनुहोस