नेपाल बैंकको घरकर्जामा अग्रिम भुक्तानी शुल्क नलाग्ने

नेपाल बैंकले घरकर्जा सिफ्ट गर्ने वा स्वाप गर्ने ग्राहकबाट कुनै पनि अग्रिम शुल्क नलिने भएको छ । बैंकबाट कर्जा लिएका ऋणीले कर्जा सारेर अन्य संस्थामा लगानी गर्न खोजेको खण्डमा कर्जाको अग्रिम भुक्तानी नलिने भएको हो ।

पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बैंकहरुले ग्राहकवाट लिने सेवा शुल्कमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कडाइ  गरेको भए पनि बैंकहरुले नयाँ व्यवस्थाअनुसार शुल्क नघटाएको गुनासो आइरहेको समयमा नेपाल बैंकले अग्रिम भुक्तानी शुल्कसमेत नलिने जनाएको हो ।

नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ७.९९ प्रतिशत ब्याजदरमा ५ वर्षे अवधिको घरकर्जा प्रदान गर्न लागेको बैंकले घरकर्जाको अग्रिम भुक्तानीमा कुनै शुल्क नलिने घोषणा गरेको हो । बैंकहरुले ब्याजदर घटाउने प्रतिस्पर्धा सुरु गरेपछि सस्तो ब्याजदर भएको संस्थामा कर्जा सिफ्ट गराउन ऋणीहरु सक्रिय भएका छन् । कर्जा शिफ्ट गराउने ऋणीबाट बैंकहरुले अग्रिम भुक्तानी गर्दा ३ प्रतिशतसम्मको शुल्क लिएको गुनासो समेत सर्वसाधारणको छ ।

राष्ट्र बैंकका अनुसार “क”, “ख” र “ग”, वर्गका बैंक तथा वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्क वापत क्रमशः अधिकतम ०.७५ प्रतिशत, १.०० प्रतिशत, १.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउँछन् । तर, नवीकरण हुने प्रकृतिका चालु पूँजी कर्जामा नवीकरण शुल्क र प्रतिवद्धता शुल्क, अग्रिम भुक्तानी शुल्क तथा कर्जा स्वाप हुँदा लिने स्वाप शुल्कको हकमा माथि उल्लेखित सेवा शुल्कको अधिकतम २० प्रतिशतसम्म शुल्क लिन सक्छन् ।

नेपाल बैंकले घर निर्माण, घर खरिद तथा तला थप गर्नका प्रदान गरेको कर्जा ऋणीले समय अवधि अघि नै चुक्ता गर्न चाहेको खण्डमा अग्रिम शुल्क नलिने जनाएको छ । बैंकले आधारदरमा एक प्रतिशत थप गरेर ७.९९ प्रतिशतमा सुलभ आवास कर्जा योजना ल्याएको छ । बैकले सञ्चालन गरेको योजनाअन्तर्गत घरकर्जा लिएका ग्राहकहरुले अग्रिम भुक्तानी गर्न चाहेको खण्डमा शुल्क नलिने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए ।

“बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुने गरी घरकर्जा प्रदान गर्न लागेका हौ,”अधिकारीले भने,“पछिल्लो समयमा बैंक वित्तीय संस्थामा तरलता बढेको हुनाले बैंकहरुले त्यसलाई परिचालन गर्न तथा नयाँ उद्यमलाई प्रवद्र्धन गर्न सस्तो दरमा कर्जा योनजाहरु बजारमा आएको देखिन्छ ।”

प्रकाशित मिति: : 2020-08-04 23:48:54

प्रतिकृया दिनुहोस्